अपडेट

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो, न्यूयोर्कमा मात्रै ३५ सयको मृत्यु



Download our app to get more features

पछिल्लो समय कोरोना भाइरसको केन्द्र बनेको संयुक्त राज्य अमेरिकामा भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । सबैभन्दा बढी प्रभावित बनेको न्यूयोर्क राज्यमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३५ सय ६५ पुगेको छ भने अमेरिकामा मृत्यु हुनेको संख्या ८ हजार १ सय पुगेको छ । सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको इटलीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार भन्दा बढी पुगेको छ भने स्पेनमा झन्डै १२ हजारको मृत्यु भएको छ । 

यसैबीच स्पेनमा २५ अप्रिलसम्मका लागि लकडाउनको अवधि थपिएको छ । स्पेनमा इटलीको भन्दा बढी संक्रमित हुन थालेपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले २५ अप्रिलसम्मका लागि लकडाउनको अवधि थप गरेका हुन् । 

कतारमा २ सय ५० जना थप कोरोना संक्रमित भेटिएका छन् । कतार सरकारले दिएको जानकारी अनुसार हालसम्म १२ सय १३ जनामा कोरोना संक्रमित भेटिएको र एक सय ९ जना स्वस्थ भएका छन् ।

यसैबीच युरोपियन युनियन (इयू) ले ३ वटा मुलुकका लागि राहत प्याकेज घोषणा गरेको छ । इयूले पोल्याण्ड, पोर्चुगल र ग्रिसका लागि १३ अर्ब बराबरको राहत प्याकेज घोषणा गरेको हो । 

दुबई सरकारले कोरोना भाइरसका कारण कफर््यूको समयावधि थप गरेको छ । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी दुबईमा २६ मार्चसम्मका लागि कफर््यू जारी राख्ने र ५ अप्रिलसम्म लकडाउन कायम राख्ने निर्णय गरेको छ ।

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४३ सय १३ पुगेको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा हालसम्म एक ८३ हजार जनामा कोरोना परीक्षण गरिएकोमा ४१ हजारमा कोरोना पुष्टि भएको छ । 

यस्तै साउदी अरबको जेदाह शहरमापनि लकडाउनको घोषणा गरिएको छ भने जेदाहसँग जोडिएका थप ७ शहरको सीमा बन्द गरिएको छ ।

जर्मनीमा एकै दिन ६ हजार ८२ जना नयाँ संक्रमित फेला परेका छन् । जर्मनीमा हालसम्म कोरोनाका कारण ८५ हजार ७ सय ७८ जना संक्रमित भएका छन् भने ११ सय ५८ जनाको मृत्यु भएको छ ।

स्विटजरल्याण्डमा कोरोनाका कारण ५० जनाको मृत्यु भएको छ भने २० हजार संक्रमित भएका छन् ।

यस्तै फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७५ सय ७४ जनाको मृत्यु भएको छ भने ९० हजार ८ सयभन्दा बढी संक्रमित भएका छन् ।

इरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ सय ५२ पुगेको छ भने संक्रमित हुनेको संख्या ५५ हजार ७ सयभन्दा बढी पुगेको छ । बेल्जियममा १८ हजार ३ सयभन्दा बढी संक्रमित भएकोमा १२ सय ८३ जनाको मृत्यु भएको छ ।

यसैबीच विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का जोखिम बढ्दै गएको भन्दै आज भारतमा ९ मिनेट दिप प्रज्वलन गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनअघि देशवासीका नाममा सम्बोधन गर्दै ५ अप्रिलका दिन घरको बिजुली बत्ति बन्द गरेर दिप प्रज्वलन गर्नका लागि आग्रह गर्नुभएको थियो । सोही आग्रह अनुसार आज राति ९ बजे भारतमा दिप प्रज्वलन गरिने भएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण ३ हजारभन्दा बढी संक्रमित भएका छन् भने ७७ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना भाइरसको प्रकोपको बेला विश्वभर मास्कको अभाव हुँदा चीनले भने अन्डरवेयरबाट बनेको मास्क पाकिस्तानलाई निर्यात गरेको छ । एन ९५ मास्कको माग गरेको पाकिस्तानलाई चीनले अन्डरवेयरले बनेको मास्क निर्यात गरेपछि पाकिस्तानमा त्यसको विरोध भएको छ । 

अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयका अनुसार भाइरसका कारण विश्वभर ६४ हजार ३ सयको मृत्यु भएको छ भने ११ लाख ९२ हजार संक्रमित भएको छ । भाइरसका कारण संक्रमित भएकामध्ये झन्डै साढे २ लाख नागरिक स्वस्थ भएर घर फर्किएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts