कोभिड–१९ : यस्तो छ ३ अप्रिलसम्मको विश्वका केही गतिविधि
काठमाडौं, २२ चैत । विश्वभर फैलिएको र महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित बनेको संयुक्त राज्य अमेरिकाले क्यानेडालाई मास्क निर्यात नगर्ने भएको छ । भाइरसका कारण आफ्नै देशमा मास्क अभाव हुन थालेपछि अमेरिकाले क्यानेडालाई मास्क निर्यातमा रोक लगाएको हो ।
पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दु बनेको अमेरिकामा २४ घन्टामा १२ सय जनाको मृत्यु भएको छ । भाइरसका कारण सबैभन्दा बढी अमेरिकाको न्यूयोर्क राज्य प्रभावित बनेको छ । न्यूयोर्कमा मात्रै हालसम्म ३ हजारको मृत्यु भइसकेको छ ।
समग्र अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ५७ हजारभन्दा बढी पुगेको छ भने झन्डै ७ हजारको मृत्यु भएको छ ।
टर्की
टर्कीमा ३१ वटा शहरको सीमा नाका बन्द गरिएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि टर्की सरकारले मुलुकका ३१ शहरको सीमा बन्द गरेको छ । साथै २० वर्ष उमेर समुहका युवाहरुलाई घरबाहिर ननिस्कन भन्दै कफर््यू पनि जारी गरेको छ । टर्कीमा हालसम्म ३ सय ५६ जनाको मृत्यु कोरोनाको कारण भइसकेको छ भने १८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
स्पेन
स्पेनमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ९ सय ४३ जनाको मृत्यु भएको छ । युरोपीय मुलुक स्पेनमा दिनप्रतिदिन संक्रमित हुनेको दर बढ्दै गएको छ । यता सबैभन्दा बढी मानवीय क्षति भएको इटलीमा पछिल्लो समय मृत्यु हुनेको दर कम हुँदै गएपनि त्यहाँ हालसम्म १३ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।
स्पेनमा संक्रमित हुनेको दर भने इटलीभन्दा बढी भएको छ । इटलीमा एक लाख १५ हजार भन्दा बढी संक्रमित भएका छन् भने स्पेनमा संक्रमित हुनेको संख्या एक लाख १८ हजार पुगेको छ । सबैभन्दा बढी संक्रमित हुनेमा अमेरिका रहेको छ ।
विश्व स्वास्थ्य संगठनले मास्क स्वास्थ्यकर्मीको प्रयोगको लागि मात्रै भएपनि त्यसको दुरुपयोग हुन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । संगठनले हिजो आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा मेडिकल मास्क बिना स्वास्थ्यकर्मीलाई काम गर्नुपर्ने बाध्यता भएकाले मुख छोप्न घरमै बनाइएको मास्क भएपनि प्रयोग गर्न भनेको छ ।
भारत
भारतमा कोरोना भाइरसको रोकथाम नियन्त्रणलाई ध्यान दिँदै ३० अप्रिलसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गरिएको छ । यसैबीच दिल्लीस्थित अमेरिकी दूतावासका एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७१ पुगेको छ भने ३ हजार संक्रमित भएका छन् ।
जर्मनीमा हालसम्म संक्रमित हुनेको संख्या ८५ हजार पुगेको छ भने एक हजारभन्दा बढीको मृत्यु भएको छ ।
भाइरसको सुरुवात भएको चीनमा हालसम्म ३ हजार ३ सय २६ जनाको मृत्यु भएको छ भने ८२ हजार संक्रमित भएका छन् ।
फ्रान्समा कोरोनाका कारण ५ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ भने ६० हजार संक्रमित भएका छन् ।
इरानमा भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार २ सय पुगेको छ भने ५३ हजारभन्दा बढी संक्रमित भएका छन् ।
बेलायतमा कोरोनाका कारण हालसम्म ३६ सय भन्दा बढीको मृत्यु भएको छ भने ३४ हजार संक्रमित भएका छन् ।
भाइरसबाट संक्रमित भएकामध्ये विश्वभर २ लाख २८ हजारभन्दा बढी स्वस्थ भएर घर फर्किएका छन् भने झन्डै ११ लाख संक्रमित भएका छन् । भाइरसबाट हालसम्म ५९ हजारको मृत्यु भइसकेको छ ।