अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार पुग्यो
एजेन्सी, १८ चैत । विश्वव्यापी महामारी बनेको कोरोना (कोभिड–१९) बाट अमेरिकामा मृत्यु हुनेको संख्या तीन हजार पुगेको छ । ३१ डिसेम्बर २०१९ मा चीनको वुहानमा पहिलो पटक देखिएको नोवेल कोरोना भाइरसका कारण मंगलबारसम्ममा अमेरिकामा तीन हजार जनाले ज्यान गुमाएका हुन् ।
अमेरिकी स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकाका एक लाख ६३ हजार पाँच सय भन्दा बढी नागरिक संक्रमित भएका छन् । कोभिड–१९ का कारण संसारभर सात लाख ८४ हजार मानिस संक्रमित भएका छन् । भाइरसका कारण मृत्यु हुनेमा अमेरिका चौथों स्थानमा पुगेको छ ।
भाइरसका कारण सबैभन्दा बढी इटलीमा ११ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ भने स्पेनमा आठ हजारभन्दा बढी, चीनमा तीन हजार तीन सय नौ जनाको मृत्यु भइसकेको छ ।
यस्तै स्पेनमा कोरोना भाइरसका कारण १२ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । स्पेन सरकारले मंगलवार दिएको जानकारी अनुसार स्पेनका १२ हजार दुई सय ९८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित बनेका छन् ।