कोभिड–१९ का कारण अमेरिकामा २ लाख मानिसले ज्यान गुमाउन सक्ने चेतावनी
भाइरसका कारण एकैदिन ७ सय ७६ जनाको मृत्यु
अमेरिका, १७ चैत । विश्वव्यापी महामारी बनेको कोभिड–१९ अर्थात् नोवेल कोरोना भाइरसका कारण अमेरिकामा एक दिनमा ७ सय ७६ जनाको मृत्यु भएको छ ।
चीन र युरोपपछि केन्द्रबिन्दु बनेको अमेरिकामा दिन प्रतिदिन भाइरसका कारण संक्रमित हुनेको संख्या बढ्दै गएको छ । अमेरिकामा आइतवारसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ सय पुगेको छ भने संक्रमित हुनेको संख्या एक लाख ६६ हजारभन्दा बढी छ ।
अमेरिकी सरकारले भाइरसले संक्रमित बनाउने क्रमलाई तीव्रता दिएपनि हालसम्म लकडाउन गर्ने कुनै निर्णय गरेको छैन । सबैभन्दा बढी प्रभावित बनेको न्यूयोर्कमा मात्रै ७ सय ७६ जनाको मृत्यु भएको अमेकिरी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच अमेरिकाका उच्च तहका वैज्ञानिकहरुले अमेरिकामा भाइरसका कारण झन्डै २ लाख मानिसहरुको मृत्यु हुने चेतावनी दिएका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड–१९ कार्यदलका एकजना मुख्य सरुवारोगविज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा अहिले विश्वमै सबैभन्दा धेरै सङ्ख्यामा १ लाख ६० हजारभन्दा बढी कोरोना पोजेटिभ भएको र त्यसले मृत्यु दर बढाउने बताए ।
अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले दिएको जानकारी अनुसार डा. फाउचीले अहिलेको अवस्थामा मृत्यु हुनेको सङ्ख्या एकदेखि दुई लाख हुनसक्छ । तर, उनले तत्कालै त्यस्तो सङ्ख्या सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएको अनुमान भन्दै आफू त्यसमा अडिग रहन नचाहेको पनि प्रस्ट पारे ।
पुष्टि भएका सङ्क्रमणका सङ्ख्यामा अमेरिकाले चीन र इटलीलाई उछिनी सकेको छ । तर, त्यहाँको मृत्युदर भने इटली, स्पेन र चीनभन्दा कम छ ।
यसैबीच जर्मनीको हेस्से राज्यका अर्थमन्त्रीले आत्महत्या गरेका छन् । कोराना भाइरसका कारण अर्थतन्त्रमा गिरावट आएको भन्दै डिप्रेशनमा गएका ५४ वर्षका थोमस सेफरले रेल्वे ट्रयाकमा गएर आत्महत्या गरेको बताइएको छ ।
जर्मन सरकारले कोरोनाका कारण अर्थतन्त्रमा आएको गिरावटका कारण चिन्तित बनेको थोमस डिप्रेसनमा गएको र त्यहि चिन्ताका कारण उनले आत्महत्या गरेको हुन सक्ने बताएको छ ।