विश्वभर कोरोनाको संक्रमण बढ्दै, अमेरिकामा मृत्यु हुनेको संख्या सय नाघ्यो
एजेन्सी, ५ चैत। कोरोना भाइरसका कारण अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ सय नाघेको छ।
जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रअनुसार बिरामी हुनेको संख्या भने ६ हजार नाघेको छ। अधिकारीहरुका अनुसार पछिल्लो ७ घण्टामा झण्डै १ हजार बिरामी बढेर कूल बिरामीको संख्या ६ हजार २३२ पुगेको छ। त्यसैगरी मृत्यु हुनेको कुल संख्या १०५ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
त्यस्तै गरि कोरोना भाइरसका कारण अष्ट्रेलियामा छैठौ व्यक्तिको मृत्यु भएको छ। स्वाथ्यकर्मीले बुधबार दिएको जानकारीअनुसार ८६ वर्षीय एक पुरुषको मृत्युभएको हो। उनको सिड्नी अस्पतालमा मङ्गलबार राति मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन्। उनीहरुले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्ति गरेका छन्। अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितहरुको संख्या ५०० नाघेको छ भने, दैनिक रुपमा सयाै व्यक्तिको स्वास्थ्य परीक्षण भइरहेको छ।
भारतमा दिनप्रतिदिन बिरामीको संख्या बढ्दै गएर बुधबारसम्म १४७ पुगेको छ। अघिल्लो दिनभन्दा बुधबार कूल सङ्ख्यामा १० जना थपिएका हुन्। भारतका हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण तीन व्यक्तिको मृत्यु भएको छ। कूल सङ्क्रमितमध्ये १२२ जना स्वदेशी र अन्य बिरामी विदेशी भएको भारतको स्वाथ्य मन्त्रालयले जनाएको छ। भारतको विषेशगरी महाराष्ट्रमा सबैभन्दा धेरै बिरामी भेटिएका छन् भने केरला, उत्तर प्रदेश र कर्नाटकमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी रहेका छन्।
कोरोना भाइरसका कारण भियतनाममा कूल ६८ जना बिरामी भएका छन्।
इजरायलमा थप ९० जना सङ्क्रमित थपिएका छन्, यो सँगै सङ्क्रमितको संख्या ४२७ पुगेको अधिकारीले जनाएका छन्।
जापानमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या ८६८ पुगेको छ। बुधबार बिहानसम्मको विवरणअनुसार कूल ३६ जनाको मृत्यु भएको छ।