जर्मनीका ७० प्रतिशत नागरिक कोरोनाभाइरसबाट प्रभावित हुन सक्ने चेतावनी
वुहानमा रोकिएका १ सय २० भन्दा बढी दक्षिण अफ्रिकीहरू देश फिर्ता
बीबीसी, २९ फाल्गुन । जर्मन चान्सलर एंगेला मर्केलले जर्मनीको ६० देखि ७० प्रतिशत नागरिक कोभिड–१९ अर्थात नयाँ कोरोनाभाइरसबाट संक्रमित हुन सक्ने चेतावनी दिएकी छन् ।
उनले भनिन्, “यस्तै अवस्था रहिरहेमा विज्ञहरूले भनेका छन् हाम्रो देशका ६० देखि ७० प्रतिशत मानिस यो भाइरसबाट सङ्क्रमित हुन सक्छन् ।”
कोरोनाभाइरस सङ्क्रमण सुरु भएपछिको पहिलो सार्वजनिक अभिव्यक्ति दिँदै मर्केलले कुनै खोप उपचार वा प्रतिरोधात्मक क्षमताको हिसाब नगरी भन्दा त्यस्तो आकलन गरिएको बताइन् ।
खर्चको जोहो
उनले कोरोनाभाइरसको सङ्क्रमणको दरलाई कम गर्दै स्वास्थ्य सेवामा पर्ने चाप घटाउनेतर्फ प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
जर्मन स्वास्थ्यमन्त्री जेन्स स्पानले देशमा सभा समारोह र फुटबल खेलहरू बन्द गर्न आह्वान गरेका छन् ।
युरोपका अन्य देशहरूमा अर्थतन्त्रमा कोरोनाभाइरसको असर कम गर्न सरकारले आर्थिक राहतको कार्यक्रम घोषणा गरेका छन् ।
यसैबीच कोरोनाभाइरसबाट अति प्रभावित युरोपेली देश इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले अर्थतन्त्रलाई पछिल्लो सङ्कटबाट मुक्ति दिलाउन चार गुणाले बढी खर्च जुटाउने घोषणा गरेका छन् ।
उनले अब त्यो धनराशी २८ अर्ब डलर र्पुयाउने घोषणा गरेका छन् ।
ब्रिटेनमा पनि अर्थतन्त्रमा कोरोनाभाइरसको असर घटाउन भन्दै ३८ अर्ब डलरको राहत कार्यक्रमको घोषणा गरिएको छ ।
चिनियाँ चिकित्सकको पश्चाताप
चीनमा कोरोनाभाइरस सङ्क्रमण फैलिन थालेको सबभन्दा पहिले थाहा पाएर खतराको सूचना दिएको बताउने एक चिकित्सकले आफूले मानिसहरूलाई सचेत गराउन पर्याप्त काम गर्न नसकेको भनी पश्चाताप गरेकी छन् ।
डाक्टर आइ फनले वुहानको अस्पतालका एक बिरामीलाई लागेको अनौठो श्वासप्रश्वासको रोगबारे डिसेम्बरको अन्त्यमा सूचना सार्वजनिक गरेकी थिइन् । तर, अस्पताल प्रशासनले अफवाह फैलाएको भन्दै उनलाई हप्काएपछि उनले त्यसबारे बोल्न छोडेकी थिइन् ।
चिनियाँ अधिकारीहरूले कोरोनाभाइरसको प्रकोपलाई ढाकछोप गर्न खोजेको यो अर्को प्रमाण हो । वुहान नगरमा मानिसहरू विस्तारै काममा फर्किन थाल्दै गर्दा पछिल्लो खुलासा भएको हो ।
दक्षिण अफ्रिकीहरूको उद्दार
मध्य चिनियाँ सहर वुहानमा जनवरीदेखि रोकिएका १ सय २० भन्दा बढी दक्षिण अफ्रिकीहरूलाई देश फिर्ता ल्याउन एउटा विमान दक्षिण अफ्रिकाबाट वुहानको लागि उडेको छ ।
दक्षिण अफ्रिका फर्काइएपछि उनीहरूलाई परिवारजनबाट टाढा अलग्गै क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाइएको छ ।
उनीहरू मध्ये कसैलाई पनि भाइरसको सङ्क्रमण भएको छैन । दक्षिण अफ्रिकामा पनि थप ६ जनामा सङ्क्रमण भेटिएपछि अधिकारीहरूले सबैलाई संयम अपनाउन आग्रह गरेका छन् ।
विश्वकै सबैभन्दा धेरै एचआईभी सङ्क्रमितहरू दक्षिण अफ्रिकामा रहेकाले त्यहाँ नयाँ भाइरसबारे चिन्ता बढेका हुन् ।