"कोभिड–१९" विश्व महामारीको रुपमा फैलिएको डब्लुएचओद्वारा घोषणा
काठमाडौं, २९फाल्गुन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ लाई विश्व महामारी घोषणा गरेको छ ।
बुधबार डब्लुएचओले कोभिड–१९ अर्थात् नोवेल कोरोना भाइरसको संक्रमण विश्वभर तीव्र गतिमा फैलिन थालेको भन्दै विश्व महामारी घोषणा गरेको हो ।
डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम गेब्रेयससले पछिल्लो २ सातायता चीनबाहिर कोभिड–१९ को संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्नु परेको बताए ।
उनले महामारीको रुप लिइसकेको यो भाइरस एकै समय विश्वका विभिन्न मुलुकमा फैलिन थालेकाले यो खतराको रुप बनेको उल्लेख गरे ।
उनले भने, ‘इटलीमा सबै औषधि र खाद्यान्न पसल बन्द भइसकेका छन् । जसले गर्दा त्यहाँ अर्को समस्या आउन सक्छ । यो विषयमा हामी केही गर्छौ र इटलीलाई यो भाइरसको संक्रमणबाट जोगिन उपाय निकाल्छौं ।’
संगठनले कोभिड–१९ लाई महामारीको रुपमा घोषणा गरिसकेको अवस्थामा विभिन्न मुलुकलाई सचेत भएर काम गर्न निर्देशन पनि जारी गरेको छ ।
आ आफ्नो मुलुकका सरकारले आपतकालिन र आक्रमक तरिकाले काम गर्नुपर्ने भन्दै संगठनका प्रमुख डा. टेडोरसले केहि मुलुकमा यो भाइरस नियन्त्रण भइसकेको पनि बताए ।