कोरोनाभाइरस सङ्कटलाई नियन्त्रणमा लिन सफल भएको सङ्केत दिन चिनियाँ राष्ट्रपति चियानजियाङ नगरमा
मानिसहरूमाथि लगाइएका प्रतिबन्ध फुकुवा
बीबीसी, २८ फाल्गुन । चीनमा कोरोनाभाइरसको सङ्कट नियन्त्रणमा आउन थालेका सङ्केत देखिन थालेको बेला चिनियाँ राष्ट्रपति सी जिन्पिङले कोरोनाभाइरसको प्रकोप सुरु भएको मध्य चिनियाँ शहरको भ्रमण गरेका छन् ।
त्यहाँ उनले स्वास्थ्यकर्मी र बिरामीसँग भिडिओमार्फत कुराकानी गरेको देखाइएको छ ।
निरीक्षण
अब हुबेको चियानजियाङ नगरमा मानिसहरूमाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्न लागिएको घोषणा गरिएको छ । त्यहाँ जाँच चौकी हटाइने र सार्वजनिक यातायात फेरि सुरु गर्न लागिएको छ ।
राष्ट्रपति सीले सङ्कट सुरु भएपछि पहिलोपटक वुहानको भ्रमण गर्दै बेइजिङले कोरोनाभाइरस सङ्कटलाई नियन्त्रणमा लिन सफल भएको सङ्केत दिन खोजेका छन् ।
मूख्यभूमि चीनमा अहिलेसम्म ८० हजार भन्दा बढी मानिस कोरोनाभाइरस सङ्क्रमित भएको र ३१ सय भन्दा बढीको ज्यान गएको बताइएको छ।
सञ्चारमाध्यमका अनुसार सी मङ्गलवार वुहान पुगेपछि त्यहाँको प्रकोप नियन्त्रणका कामको निरीक्षण गरेका छन् ।
प्रकोप सुरु भएयता वुहान र हुबे प्रान्तमा मानिसको आउजाउमा प्रतिबन्ध लगाइएको छ ।
उनले त्यहाँको एक समुदायलाई समेत भेटेको जनाइएको छ ।
सङ्केत
ग्लोबल टाइम्स पत्रिकासँग कुरा गरेका विश्लेषकहरूले सीले "देश र समस्त विश्वलाई चीन प्रकोपको अध्यारो क्षणबाट बाहिर निस्कन सफल भएको बलियो सङ्केत दिएको" बताएका छन् ।
राष्ट्रपति सीले दश दिनमा निर्माण पूरा भएको हुओशेशान अस्थायी अस्पतालको समेत भ्रमण गरेका छन् । सरकारी सञ्चार माध्यमहरूले चीनमा खोलिएका त्यस्ता अस्पतालमध्ये १४ वटा बन्द गरिएको पुष्टि गरेका छन् ।
रेन्मिन विश्वविद्यायका प्राध्यापक झाङ मिङले रोयटर्स समाचार संस्थालाई भने: "उनी अहिले त्यहाँ बाली भित्र्याउन गएका हुन् । उनी त्यहाँ पुग्नुको अर्थ के हो भने चिनियाँ कम्युनिस्ट पार्टीले अब छिट्टै भाइरसविरुद्धको लडाइँमा विजय हासिल भएको घोषणा गर्न सक्छ। "