कोरोना संक्रमित भर्ना हुनासाथ एकाएक खाली बन्यो भारतको आठ तले अस्पताल भवन
एजेन्सी, २३ फागुन । कोरोना भाइरस संक्रमण र संक्रमितलाई भारतमा कसरी लिइन्छ भन्ने दृश्य राजस्थानको जयपुरस्थित एक अस्पतालको घटनाले प्रष्टाएको छ । जयपुरस्थित राजस्थान यूनिभर्सिटी अफ हेल्थ साइन्सेज (आइयूएचएस) मा कोरोना भाइरस संक्रमति नौ बिरामी आउँदैछन् भन्ने खबरले आठ तलामा रहेको सो अस्पताल एकाएक खाली भयो । जब यो खबर अस्पतालमा पहिल्यै भर्ना भएका बिरामीसम्म पुग्यो बिरामीबीच भागदौड नै चल्यो । अस्पतालको छुट्टै भवनको २८६ नम्बर वार्डमा कोरोना संक्रमितलाई राखिए पनि अन्य बिरामी अस्पतालमा बस्न मानेनन् । अहिले अस्पतालमा बिरामी मात्रै होइनन् संक्रमितलाई उपचार गर्न डक्टर समेत जान आनाकानी गरिरहेका छन् । बिरामीलाई नर्सिङ कर्मचारी र वार्ड बोइहरूले हेरचाह गरिरहेका छन् ।
अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरु जोडतोडले चिच्याइरहेको सुनिन्छ । उपचार गरिदिन उनीहरु चिकित्सकलाई अनुनयविनय गरिरहेका छन् । तर संक्रमितको यो आवाज चिकित्सकको कानसम्म पुग्दैपुग्दैन । कोरोना संक्रमितहरुलाई भर्ना गर्नुअघि यो अस्पतालमा दैनिक ५६० भन्दा बढी बिरामी ओपिडीमा पुग्थे । तर मंगलबार यो घटना भएयता एक जना बिरामी पनि ओपिडी सेवा लिन पुगेका छैनन् ।
अस्पताल प्रशासन चुपचाप
घटनाका बिषयमा अस्पतालका प्रिन्सिपल मिडियासँग कुनै कुरा नगर्ने बताउँछन् । आरयूएचएसका प्रिन्सिपल डा. सुधांशु कक्कडविरुद्ध नर्सिङ कर्मचारीहरुले कोरोना परीक्षण किट समेत पर्याप्त उपलब्ध नगराएको आरोप लगाएका छन् । उनीहरुले ६ मार्चसम्ममा आवश्यक सबै सामान उपलब्ध नगराए डियूटी मै नआउने चेतावनी दिएका छन् ।
अस्पतालका आवासिय चिकित्सक डा. वसीम ३ मार्चसम्म ओपिड मै कार्यरत थिए । त्यही रात कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना गरिएको थियो । उनी भन्छन्, ‘कोरोना संक्रमित बिरामी भर्ना हुँदैछन् भन्ने सूचना अस्पतालमा पहिल्यै भर्ना भएकाहरुले थाहा पाइसकेका थिए । यो खबरले उनीहरु निकै निराश बनेका थिए । हेर्दा हेर्दै सबै बिरामी छुट्टी माग्न थाले । सुरुमा महिला वार्ड खाली भयो ।’ डा. वसीमले पनि छुट्टी लिए । तर, उनी अस्पताल परिसरकै आवासीय क्षेत्रमा छन् ।
कोरोनाका संक्रमित कहाँबाट आए ?
इटलीबाट २० जना पर्यटकको समूह २१ देखि २८ फेब्रुअरीमा राजस्थान घुम्न आएका थिए । उनीहरु उदयपुर, जोधपुर, झुंझुनू, बीकानेर हुँदै २९ फेब्रुअरीमा जयपुर आइपुगेका थिए । यो टोली जयपुरको राजापार्क होटल रमाडामा बसेको थियो । टोली मध्येको ६९ वर्षीय एक जना बिरामी भएपछि जयपुरस्थित एसएमएस अस्पतला भर्ना गरियो । भोलिपल्ट परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखियो । भारत सरकारले ३ मार्चमा कोरोना संक्रमित कार्लीसहित उसको सम्पर्कमा आएका सबैको स्वास्थ्य जाँच गर्न भन्यो । साथै जहाँ जहाँ यो टोली बसेको थियो त्यहाँका सबै होटल सिल गरेको छ । यही क्रममा सरकारले आरयूएचएस अस्पतालमा सबै कोरोना भाइरस संक्रमितलाई भर्ना गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयबाट आरयूएचएस अस्पतालका चिकित्सक, नर्सिङ कर्मचारी र अन्य कर्मचारी आक्रोशित बने । तर, सरकारले उनीहरुको आक्रोशको बेवास्ता गर्दै त्यही रात एसएमएस अस्पतालका ३० नर्सिङ कर्मचारीसहित बिरामीलाई आरयूएचएस पठायो ।