इजराइलमा दर्जनौँ फुटबल दर्शकलाई क्वारेन्टाइनमा बस्न आग्रह, इटलीमा स्कुल बन्दबारे छलफल
इजराइल, २२ फाल्गुन । इजराइलले फुटबल हेर्न गएका दर्शकलाई क्वारेन्टाइनमा रहन आदेश दिएको छ । इजराइलको तेल अभिभ सहरमा गत साता भएको एउटा फुटबल खेल हेर्न पुगेका दर्जनौँ दर्शकलाई स्वयं अलग्गिएर बस्न अर्थात् सेल्फ क्वारन्टीनमा रहन आदेश दिइएको त्यहाँको सञ्चार माध्यमहरुले जनाएको छ ।
मक्काबी तेल अभिभ तथा हापोएल तेल अभिभ टोलीबीच भएको खेलका एकजना किशोर दर्शक कोरोनाभाइरस सङ्क्रमित पुष्टि भएको इजरेलको स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको छ ।
कसरी सर्यो ?
ती किशोरलाई एउटा खेलौनाको पसलका व्यवस्थापकबाट सङ्क्रमण सरेको ठानिएको छ । ती व्यवस्थापक हालै इटली गएका थिए। उनी पनि सङ्क्रमित पाइएका छन् ।
ती किशोर अहिले घरमै अलग्गिएर बसेको उनकी आमाले बताइन् । उनलाई रुघाखोकी लागेको तर ज्वरो नआएको उनले बताइन् ।
उनलाई सङ्क्रमण भएको पाइएपछि स्वास्थ्य मन्त्रालयले सुरुमा हजारौँ अन्य दर्शकलाई क्वारन्टीनमा बस्न भनेको थियो, तर त्यसको चर्को विरोध भएपछि उसले अलग्गिएर बस्नुपर्नेहरूको सङ्ख्या घटायो ।
इटलीमा स्कुल बन्दबारे छलफल
इटलीको सरकारले त्यहाँका सबै स्कुलहरू मध्य मार्चसम्म बन्द गरिने योजनाबारे छलफल गरिरहेको बताइएको छ ।
कोरोनाभाइरस सङ्क्रमण रोक्ने तरीकाबारे भइरहेका छलफलमा स्कुल बन्दको विषय पनि उठेको बताइएको छ । इटलीमा २५ सय जनामा उक्त सङ्क्रमण देखिएको छ भने ७९ जनाको ज्यान गएको छ ।
यसबीच इरानमा कोरोनाभाइरस सङ्क्रमणका कारण थप १५ जनाको ज्यान गएको छ । त्यहाँ कुल ९२ जनाको ज्यान गएको छ ।
यूकेमा अस्पतालहरूलाई सङ्क्रमणको जोखिम न्यून गर्न भिडिओ लिंकमार्फत् परामर्श दिन भनिएको छ । विश्व ब्याङ्कले सङ्क्रमणविरुद्ध लड्न विकासोन्मुख राष्ट्रहरूलाई सघाउ र्पुयाउन १२ अर्ब डलरको प्याकेज घोषणा गरेको छ ।
हाल विश्वभर ९० हजारभन्दा धेरैलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । अधिकांश सङ्क्रमण चीनभित्र भएका छन् । तीन हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।