कोरोना भाइरसको संक्रमणबाट प्रभावित इरानलाई डब्लुएचओको मेडिकल किट

इरान, २० फाल्गुन । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट प्रभावित इरानमा मेडिकल किट उपलब्ध गराएको छ ।
डब्लुएचओले ८ टन बराबरको औषधि र कोरोना भाइरस जाँचका लागि किट सहितको जहाज इरान पठाएको छ । दुबईको सेनाले औषधि र किट सहितको जहाज इरानको राजधानी तेहरान पुर्याएको हो ।
इरानमा हालसम्म १५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६० जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि संयुक्त राष्ट्र संघको आपतकालिन स्वास्थ्य संगठनपनि इरान पुगेको छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले आफ्नो ट्वीटर मार्फत इरानमा औषधि र किट पठाएकोबारे जानकारी गराएका छन् ।
यसअघि सोमबार मात्रै इरानका सल्लाहकार सर्वोच्च नेता मोहम्मद मिरमोहम्मादीको कोरोना भाइरसकै संक्रमणको कारण मृत्यु भएको थियो ।