कोरोना भाइरसका कारण अमेरिकामा एकजनाको मृत्यु, वासिंगटनमा संकटकाल घोषणा



Download our app to get more features

एजेन्सी, १८ फागुन । कोरानो भाइरसको संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा  एकजनाको मृत्यु भएसँगै उत्तर पश्चिम वासिंगटन राज्यमा आपतकाल घोषणा गरिएको छ । 

कोरोना भाइरसका कारण अमेरिकामा भएको यो पहिलो मृत्यु हो । अधिकारीहरुले ५० वर्षीय एक पुरुषले कोरोना संक्रमणका कारण ज्यान गुमाएको पुष्टि गरेका छन् । बिरामीको मृत्यु भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संख्या बढ्नसक्ने बताएका छन् । र त्यसका लागि अमेरिका तयार रहेको उनको प्रतिक्रिया छ । अधिकारीहरुले अमेरिकीहरुलाई इरान, इटली र दक्षिण कोरियामा जान लगाएको प्रतिवन्धलाई जारी राख्ने प्रतिक्रिया पनि दिएका छन् । यद्यपी मृत्यु हुने पुरुषले पछिल्लो समय कुनै देश भ्रमण नगरेको जनाइएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म करिब ८५ हजार जनालाई भाइरसको संक्रमण देखिएको छ भने ३ हजारभन्दा बढिले ज्यान गुमाइसकेका छन् । भाइरस उत्पत्ति भएको चीनमा सबैभन्दा धेरै संक्रमण र मृत्युको शिकार भएका छन् । 

वासिंग्टनका गभर्नर जे इन्स्लीले थप संक्रमित र सम्भावित संक्रमितको परीक्षण र उपचारलाई तीव्र बनाउन भन्दै संकटकाल घोषणा गरिएको जनाएका छन् । अमेरिकामा हालसम्म ६२ जना भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । एकजना अमेरिकीले भाइरस संक्रमणका कारण यसअघि नै चीनको वुहानमा ज्यान गुमाइसकेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts