चीनमा कोरोनाभाइरसको नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी
यूकेमा कोरोनाभाइरसको सङ्क्रमण भएका नौ मध्ये आठ जना घर फर्के
चीन, ५ फाल्गुन । चीनले लगातार तेस्रो दिन कोरोनाभाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या घटेको बताएको छ ।
आइतवार चीनमा २ हजार ९ जना नयाँ बिरामी र थप १ सय ४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
यो हप्ताको सुरुमा नयाँ बिरामी गन्ने तरिकामा परिवर्तन गरिएपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे पनि त्यस यता लगातार घटेको हो ।
अहिलेसम्म कूल ६८ हजारलाई चीनमा कोरोनाभाइरसले सङ्क्रमण गरेको र मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय ६५ पुगेको छ ।
चीनबाहिर भने नेपालसहित २० देशमा झन्डै ५ सय जनालाई सङ्क्रमण भएको छ । फ्रान्स, हङ्कङ, फिलिपिन्स र जापानमा गरी चार जनाको मृत्यु भएको छ ।
नयाँ तथ्याङ्क आउनुभन्दा पहिले चिनियाँ विदेशमन्त्री वाङ यीले यो प्रकोप नियन्त्रण गर्न सकिने बताएका थिए ।
कोरोनाभाइरससम्बन्धी अन्य नयाँ विवरणहरू यसप्रकार छन्ः
जापानमा क्वारन्टीनमा राखिएको क्रुज जहाजमा सङ्क्रमितहरूको सङ्ख्या ३ सय ५५ पुगेको छ । डायमन्ड प्रिन्स नामको सो जहाज चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमण भएको स्थान बनेको छ । अमेरिका र जापानले त्यहाँ भएका आफ्ना नागरिकहरूको उद्धार गर्न विमान पठाउने बताएका छन् ।
चीनको केन्द्रिय ब्याङ्कले नोटहरूबाट भाइरस सर्नबाट रोक्न ब्याङ्क भित्रिएका नोटलाई सफा गरेर मात्रै बाहिर पठाउने बताएको छ ।
शनिवार एकजना चिनियाँ पर्यटकको कोरोनाभाइरस सङ्क्रमणका कारण फ्रान्समा मृत्यु भएको छ । कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो ।
क्याम्बोडियामा एउटा पानीजहाजबाट झरेर विमानमा मलेसिया जान लागेकी एक ८३(वर्षीया अमेरिकी महिलालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । जहाजका अन्य यात्रुलाई परीक्षणका लागि रोकिएको छ ।
यूकेमा कोरोनाभाइरसका सङ्क्रमण भएका नौमध्ये आठ जना अस्पतालबाट घर फर्केका छन् ।