पानीजहाजबाट उद्दार गरिएका ४० अमेरिकी नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण



Download our app to get more features

बीबीसी, ५ फाल्गुन । जापानमा क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्दार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।

उनीहरू जापानमा उद्दार गरिएका चार सय अमेरिकी नागरिकमध्येका हुन् । उद्दार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत् स्वदेश फर्किरहेका छन् । तर, सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ ।

असुरक्षित
करिब ३ हजार ७ सय यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको छ । 

उक्त पानीजहाजबाट हङ्कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टीनमा राखिएको हो ।

चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह हो ।

जापानी अधिकारीहरूले आइतवार बताएअनुसार पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ७० बाट ३ सय ५५ पुगेको छ ।

एक अमेरिकी यात्रीले क्वारेन्टाइनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महसुस नगरेको बीबीसीलाई बताइन् ।

सङ्क्रमित ४० जना अमेरिकी नागरिकको जापानमै उपचार गरिने संयुक्त राज्य अमेरिकाको न्याश्नल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजेजका निर्देशक डा. एन्थोनी फाउसीले सीबीएस टेलिभिजनलाई बताए ।

“यदि उडानमै रहेका बेला सङ्क्रमणका लक्षण देखिए भने त्यस्ता व्यक्तिहरूलाई अलग राखिने छ”, उनले थपे । उद्दार गरेर अमेरिका लगिने व्यक्तिहरूलाई चाहिँ १४ दिनसम्म क्वारन्टीनमा राखिनेछ ।

“त्यसो गर्नुको कारण क्रूज पानीजहाजमा उनीहरू बसेको भनेको सङ्क्रमण फैलने ठाउँमा भए सरह नै हो”, फाउसीले भने । अन्य उडानहरूमार्फत् इजराइल, हङकङ र क्यानडाका नागरिकहरूको उद्दार गरिने छ ।

कडाइ
यसैबीच, नयाँ कोरोनाभाइरसको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ । त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्कालीन अवस्थामा चाहिँ निस्कन दिइनेछ ।

त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरधुरीबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्कन अनुमति दिइनेछ ।

‘हाउजिङ्ग’हरूको एउटा प्रवेशद्वारा खुला राखिनेछ । त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ ।

औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवा बाहेकका सबै कारोबार बन्द रहने छन् । अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारहरूलाई चाहिँ गुड्न छुट दिइनेछ ।

Last modified on 2020-02-17 15:38:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts