चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय ८३ पुग्यो
एजेन्सी, २ फागुन ।चीनमा कोराना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १४ सय ८३ पुगेको छ। गत डिसेम्बरको अन्त्यमा चीनको बुहानबाट सुरु भएको उक्त भाइरसका कारण बिहीबार मात्रै १ सय १६ जनाले ज्यान गुमाएका थिए ।
चीनमा नयाँ तथा पुराना गरी करिब ६५ हजार मानिसहरु कोरोना भाइरस संक्रमित भइसकेका छन् । विश्वका कुन –कुन ठाउँमा यस भाइरसको संक्रमण फैलिने हो र कति मानिसहरुको मृत्युको कारण उक्त भाइरस बन्ने हो भन्ने विषयमा विश्व नै चिन्तित अवस्था छ । कोरोना भाइरसका कारण संकट उत्पन्न भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ। यद्यपि उक्त भाइरसले विश्वव्यापी महामारीको रुप लिन सक्ने अवस्था नरहेको सरोकारवालाहरुको तर्क छ । सन् २००९ मा महामारीका रुपमा फैलिएको स्वाइन फलूका कारण हजारौं मानिसहरुको मृत्यु भएको थियो । त्यसैले कोरोना भाइरसको संक्रमणलाई रोक्नु हाल विश्व सामु एक चुनौतीको रुपमा देखा परेको छ ।