के कोरोना भाइरसको संक्रमण विश्वव्यापी बन्ला ?
एजेन्सी,२७ माघ । गत डिसेम्बरमा चीनमा फेला परेको कोरोना भाइरस हाल विश्वका विभिन्न ३० मुलुकमा देखा परिसकेको छ।
विश्वका कुन –कुन ठाउँमा यस भाइरसको संक्रमण फैलिने हो र कति मानिसहरुको मृत्युको कारण उक्त भाइरस बन्ने हो भन्ने विषयमा विश्व नै चिन्तित अवस्था छ । कोरोना भाइरसका कारण संकट उत्पन्न भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ। यद्यपि उक्त भाइरसले विश्वव्यापी महामारीको रुप लिन सक्ने अवस्था नरहेको सरोकारवालाहरुको तर्क छ । सन् २००९ मा महामारीका रुपमा फैलिएको स्वाइन फलूका कारण हजारौं मानिसहरुको मृत्यु भएको थियो । त्यसैले कोरोना भाइरसको संक्रमणलाई रोक्नु हाल विश्व सामु एक चुनौतीको रुपमा देखा परेको छ ।
कोरोना भाइरस विश्वव्यापी महामारी बन्ने चरणमा
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस विश्वव्यापी महामारीको बन्न सक्ने चरण नजिकै पुगिसकेको छ । विश्वका अन्य स्थानमा समेत उक्त भाइरस प्रकोपका रुपमा देखा पर्न थालेमा उक्त भाइरस विश्वव्यापी महामारी कै रुपमा घोषणा हुने विश्व स्वास्थ्य संगठनको बताएको छ । कोरोना भाइरस सार्स तथा स्वाइन फलू भन्दा कम गतिमा फैलिएको कारण यो विश्वव्यापी महामारीका रुपमा फैलिने सम्भावना कम रहेको समेत विश्व स्वास्थ्य संगठनको तर्क छ । चीनबाहिर यो भाइरस न्यून गतिमा फैलिएका कारण पनि यो विश्वव्यापी महामारी बन्न सक्ने सम्भावना कम नै रहेको उक्त संगठनको दाबी छ । यस भाइरसको केन्द्रबिन्दुबाट नै यसलाई नियन्त्रण गर्न सकेमा अन्यत्र यस भाइरसको संक्रमण रोक्न सकिने छ ।