कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी’ भएको चीनको स्वीकारोक्ति



Download our app to get more features

बीबीसी, २१ माघ । चीनको शीर्ष नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ पाइएको स्वीकारेका छन् ।

शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने बताएको छ ।

भाइरसको उत्पत्ति भएको ठानिएको वन्यजन्तु बजारलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन समेत देशका सातजना शीर्ष नेताहरू हुने उक्त समितिले निर्देशन दिएको छ ।

बैठक
राष्ट्रपति सी जिनपिङ्ले अध्यक्षता गरेको उक्त बैठकको समाचार सरकारी समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको थियो ।

जसले यस प्रकोपलाई ‘एउटा ठूलो परीक्षा’ भन्दै चीनको शासन प्रणालीले थुप्रै पाठहरू सिक्नुपर्ने बताइएको छ ।

उनीहरूले गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेरिनुपर्ने बताएका छन् । त्यसलाई उनीहरूले दृढतापूर्वक प्रतिबन्ध लगाउनुपर्ने बताउँदै त्यस्ता बजारमा हुने अनुगमनलाई बढाउनुपर्ने जनाएका छन् ।

प्रयास
वुहान शहर आफूहरूको उच्च प्राथमिकतामा रहेको भन्दै त्यहाँ थप स्वास्थ्यकर्मी पठाइने उक्त शीर्ष समितिले जनाएको छ ।

नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको अनुमान गरिएको छ ।

चमेरोलाई समेत भाइरसको सम्भावित स्रोतको रूपमा पाइएको कुरा चीनमा गरिएको एउटा अध्ययनले देखाएको छ । तर, त्यो त्यहाँ सहजै पाइने पक्षी नभएकाले वास्तविकता पहिचान गर्ने काम अझै जारी छ ।

अहिलेसम्मको अवस्था
कोरोनाभाइरसको प्रकोप फैलिएसँगै चीनमा ३ सय ६१ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म १७ हजार मानिसमा संक्रमण पाइएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

अन्य एक दर्जनभन्दा बढि देशका १ सय ५० भन्दा बढि मानिसमा पाइएको संक्रमणमा चीन बाहिर समेत फिलिपिन्समा एकजनाको मृत्यु भएको छ ।

यद्यपि चिनियाँ टेलिभिजनले मङ्गलवार सबेरै बताए अनुसार सबैभन्दा बढि प्रभावित हुबे प्रान्तमा थप ६४ जनाले ज्यान गुमाएको र दुई हजार तीन सयभन्दा बढि नयाँ संक्रमण पाइएको बताइएको छ ।

मुख्यभूमि चीनमा यसरी ज्यान गुमाउनेको सङ्ख्या सन् २००२–०३ मा फैलिएको सार्सभन्दा धेरै भइसकेको छ ।

जनवरी ३० तारिखमा विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भाइरसबारे विश्वव्यापी रूपमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो ।

जी सेभेन समूहका देशहरू अमेरिका, जर्मनी, जापान, ब्रिटेन, क्यानाडा, फ्रान्स र इटलीका स्वास्थ्य मन्त्रीहरूले सोमवार एउटा बैठक गरेका छन् ।

जसमा उनीहरू यात्रा नियमन, अध्ययन–अनुसन्धान र विश्व स्वास्थ्य संगठन एवं चीनसँग सहकार्य गर्ने सहमति गरेको जर्मन स्वास्थ्यमन्त्री यन्स स्पानले जनाएका छन् ।

ज्यानुअरी २३ तारिखमा अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई भाइरस देखापरेको वुहान शहरबाट फर्किन निर्देशन दिएको थियो ।

थुप्रै देशले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याएका छन् र सुरुवाती केही दिन उनीहरूलाई क्वारेन्टाइनमा राखेर निगरानी गरेका छन् ।

Last modified on 2020-02-04 08:31:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts