चीनमा कारोनाबाट मृत्यु हुनेको संख्या तीन सय नाघ्यो
उद्धार गर्न माग गर्दै तीन सय नेपालीले फारम भरे
एजेन्सी १९ माघ । चीनमा नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार बिहानसम्म कोरोनाभाइरसले ३ सय ४ जना चिनियाँको ज्यान गइसकेको छ। यस्तै १२ हजारभन्दा बढी चिनियाँमा यसको संक्रमण देखिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसकै कारण फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ । ज्यान गुमाउने पुरुष चीनको हुवेई प्रान्तको वुहानबाट फर्किएका थिए । विश्वका २७ मुलुकमा कोरोना भाइसर फैलिसकेको छ । चीन बाहिर फिलिपिन्सबाहेक अन्य देशमा कोरोनाका कारण कसैको ज्यान नगए पनि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।
उद्धार गर्न माग गर्दै तीन सय नेपालीले फारम भरे
कोरोना भाइरसको उद्गम स्थल भनिएको वुहानबाट विभिन्न देशले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । विकसित मुलुकहरु जापान, अमेरिका र यूरोपका केही मुलुकले आफ्ना नागरिकलाई चीनबाट लगिसकेका छन् ।
यस्तैबीच वुहानमा रहेका नेपालीले पनि उद्धार गर्न माग गरेका छन् । तीन सय नेपालीले नेपाल सरकारसँग उद्धार गर्न माग गर्दै फारम भरेको जनाइएको छ । यता नेपाल सरकारले पनि उनीहरुलाई उद्धार गर्ने तयारी थालेको जनाएको छ ।