अमेरिका लगायत देशले चिनियाँ र चीन गएका मानिसलाई भित्रन नदिने
बीबीसी, १८ माघ । चीनमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विश्वका अन्य राष्ट्रसमेत आतंकित बनेका छन् ।
कोरोना भाइरसको संक्रमण वृद्धिद्धर रोक्न अमेरिकाले सबै चिनियाँ र हालसालै चीन गएका यात्रुलाई समेत देश प्रवेशमा रोक लगाउने भएको छ । त्यस्तै अष्ट्रेलियाले पनि चीन भ्रमण गरेका मानिसलाई प्रवेश गर्न नदिने जनाएको छ । यसअघि रसिया, पाकिस्तान, इटाली लगायत देशलेपनि डिसेम्वरयता चीन गएकाहरुलाई प्रवेशमा कडाई गरेको छ ।
यता चीनले भने विश्व स्वास्थ्य संगठनको भनाइलाई अमेरिकाले गलत व्याख्या गरेर प्रवेशमा प्रतिवन्ध गर्ने भन्नु राम्रो सन्देश नभएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले आवतजावतमा रोक लाउनुभन्दा सबै मिलेर यसविरुद्ध बोर्डरहरुमा जाँच गर्ने र फैलन नदिन हातेमालो गर्नुपर्ने जनाएको छ ।
अमेरिकाले चीनमा रहेका आफ्नो नागरिकलाई पनि फर्किएसँगै दुईहप्ता लामो निगरानीमा राखेको छ । अमेरिकामा हालसम्म ६ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतले पनि प्रभावित क्षेत्रका करिब ३ सय नागरिकलाई शुक्रवार उद्दार गरेको छ । जापान, सिंगापुर र थाइल्याण्डमा पनि संक्रमित बढेका छन् । उनीहरुले पनि शंकास्पद व्यक्तिलाई नाकाहरुमा जाँच गरेर आवश्यक निगरानीमा राखेका छन् । जापानमा हालसम्म १४ जना संक्रमित भेटिएका छन् । थाइल्याण्डमा पनि १४ जना र सिंगापुरमा १३ जना संक्रमित भएको जनाइएको छ ।