लस्सा ज्वरोले नाइजेरियामा एक महिनामा २९ जनाको मृत्यु
एजेन्सी, १४ माघ । विश्वभर नोवल कारोना भाइरसले आतंक मच्चाइरहेको बेला अफ्रिकी मुलुक नाइजेरियामा भने लस्सा ज्वरोले एक महिनामा २९ जनाको मृत्यु भएको छ । लस्सा ज्वरोसँग प्रतिवाद गर्न नाइजेरियन सरकारले विशेष अभियान चलाउने घोषणा गरेको छ ।
नाइजेरियन सेन्टर फर डिजिज् कन्ट्रोलले गत शनिवारसम्ममा देशभरका ११ प्रान्तमा एक सय ९५ संक्रमित मध्ये २९ जनाको मृत्यु भएको जनाएको छ । रोगसँग लड्न सरकारले राष्ट्रिय विपत् अभियान केन्द्रलाई सक्रिय बनाइएको छ । लस्सा ज्वरो त्यस्तो परिवारका सदस्यमा देखिएको छ जसलाई यसअघि इबोला देखिएको थियो । यद्यपि, इबोलाको तुलनामा लस्सा ज्वरो कम घातक मानिएको छ ।
यसकारण हुन्छ लस्सा ज्वरो
लस्सा ज्वरो मुसाको मलमुत्रसँग प्रत्यक्ष सम्पर्कमा रहनेहरुलाई भएको पाइएको छ । यसको प्रारम्भीक लक्षण भनेको उच्च ज्वरो आउनु हो । साथै समस्या जटिल बन्दै गएमा रक्तस्राव भई आन्तरिक अंगले काम गर्न छोड्छ र मानिसको मृत्यु हुन्छ ।