जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो...
बीबीसी, ३ भदौ । ब्रिटेनमा एक वृद्ध व्यक्तिको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला नपरेको तथ्य बाहिर आएको छ ।
ती ७२ वर्षीय वृद्धले निल्न समस्या भएको गुनासो गरेका थिए । चिकित्सकहरूले उनको नक्कली दाँत फेला पर्नुअघि उनको खकारमा रगत देखिने गरेको थियो ।
उनी पटकपटक अस्पताल धाउनुपरेको थियो । त्यसबाहेक पेटको शल्यक्रियाका कारण उत्पन्न जटिलतालाई सच्याउन उनको थप शल्यक्रिया गर्नुपरेको थियो र शरीरमा रगत दिनु परेको थियो ।
ब्रिटेनको नरफोकस्थित जेम्स पेगेट युनिभर्सिटी अस्पतालले उसले प्रक्रियाहरूमा परिमार्जन गरेर उपचार गरेको जनाएको छ ।
यो घटना बारेका विवरण ब्रिटिश मेडिकल जर्नलको केस रिपोर्टमा उल्लेख गरिएको थियो जसमा लेखकहरूले बेहोस नबनाई नक्कली दाँत निकाल्न सुझाव दिएका थिए ।
सन् २०१८ मा पेटमा रहेको हानि नगर्ने गाँठो हटाउन शल्यक्रिया गरेका ती व्यक्ति छ दिनपछि पुनः अस्पताल पुगेका थिए र उनले चिकित्सकहरूलाई आफूले ठोस खानेकुरा खान नसकेको बताएका थिए ।
गोर्लस्टन अस्पतालका चिकित्सकहरूले शल्यक्रियाका क्रममा घाँटीमा राखेको ट्युबको नकारात्मक प्रभावले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निम्त्याएको ठान्दै उनलाई एन्टीबायोटिक र अन्य औषधि दिएका थिए ।
दुई दिनपछि ती व्यक्ति पुनस् समस्या लिएर आएपछि चिकित्सकहरूले उनको घाँटीको जाँच गरेका थिए र त्यहाँ एउटा अर्धगोलाकार आकारको वस्तु अड्किएको फेला पारेका थिए ।
त्यसपछि उनले चिकित्सकहरूलाई शल्यक्रियाका लागि अस्पतालमा समय बिताउँदा आफ्नो तीनवटा नक्कली दाँत हराएको बताएका थिए ।
नक्कली दाँत हटाउन गरिएको शल्यक्रियापछि उनी घर फर्किएका थिए, तर रगत नथामिएपछि उनले चार पटक अस्पताल धाउनुपरेको थियो ।
शल्यचिकित्सकहरूले उनको घाँटीको घाउ ठिक पार्दासम्म उनले ठूलो परिमाणमा रगत गुमाइसकेका थिए त्यही भएर उनलाई रगत दिनुपरेको थियो ।
उक्त प्रतिवेदनका लेखकहरूले शल्यक्रियाका लागि बिरामीलाई बेहोस बनाउने क्रममा मानिसहरूले नक्कली दाँत निलेका अरू पनि प्रमाणित घटना भएका जनाएका छन् ।
उनीहरूले नक्कली दाँत वा त्यससँग सम्बन्धित अन्य वस्तुबारे शल्यक्रिया अघि र पछि अभिलेख राखिनुपर्नेमा जोड दिएका छन् ।
जेम्स पेगेट युनिभर्सिटी अस्पतालकी मेडिकल निर्देशक हेजल स्टुआर्टले त्यसबारे विस्तृत अनुसन्धान गरिएको बताएकी छन् ।
“जुन घटना भयो त्यसको परिणामस्वरूप प्रक्रियामा पुनरवलोकन गरिएको छ र आवश्यकताअनुसार परिमार्जन पनि गरिएको छ ।”
“अनि त्यसपछि सिकिएका पाठ सबै कर्मचारीहरूलाई जानकारी गराइएको छ,” उनले भनिन् ।