अष्ट्रेलियाका २० हजार स्वास्थ्यकर्मी सुरक्षा माग्दै सडकमा
काठमाडौं, १७ साउन । अष्ट्रेलियाको न्यु साउन बेल्स राज्यमा कार्यरत हजारौं स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै आन्दोलित भएका छन् । अस्पतालसहित स्वास्थ्य क्षेत्रहरुमा आक्रमण बढ्न थालेको भन्दै उनीहरुले सुरक्षाको माग गर्दै बिहीबार ४ घण्टा हड्ताल गरेका हुन् ।
उक्त हड्तालमा झन्डै २० हजार स्वास्थ्यकर्मी तथा कर्मचारी सहभागी भएको स्थानीय संचालमाध्यमले जनाएको छ ।
हड्तालका कारण त्यहाँका ठूला अस्पतालहरु रोयल न्सि अल्फेड, रोयल नर्थसोर, वेस्टमिड लगायतमा सेवा अवरुद्ध भएको थियो । स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको संगठन ‘हेल्थ सर्भिस युनियन’ले भने हड्तालका कारण सर्वसाधारणको सेवामा कुनै किसिमको असर नपरेको दाबी गरेको छ । आन्दोलरत स्वास्थ्यकर्मीले बिहीबार बिहानैदेखि स्वास्थ्य मन्त्रालय अगाडि प्रदर्शन गरेका थिए ।
युनियनका महासचिव जेरार्ड हायसले प्रत्येक महिना औसत ४० स्वास्थ्य संस्थाका कर्मचारीमाथि आक्रमण हुने गरेको बताउँदै सुरक्षाका लागि यो आन्दोलन गरिएको बताए । महासचिव हायसले भने ‘स्वास्थ्य संस्थामा कर्मचारीमाथि आक्रमण हुन निकै दुःखदायी कुरा हो ।’
उनले न्यु साउथ वेल्स सरकालाई ५० मिलियन डलर बराबर बजेट छुट्टाई थप सुरक्षाकर्मी परिचालन गर्न माग गरेका छन् । साथै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाइ सुरक्षा तालिमको व्यवस्थ गर्नसमेत सरकारसमक्ष माग गरेका छन् । यसअघि युनियनले न्युनतम २ सय ५० सुरक्षाकर्मी थप गर्न अनुरोध गरेको बताएको थियो ।
स्वास्थ्यकर्मीको सुरक्षा मुद्दा निकै गम्भीरतापूर्वक लिएको भन्दै न्यु साउन वेल्स राज्यकी प्रिमियर ग्लाडिस ब्यारोजेक्लियनले सरकार अस्पताल सुरक्षासम्बन्धी रिपोर्टको प्रतिरक्षामा रहेको बताइन् । ब्यारेजेक्लियनले भनिन्, ‘स्वास्थ्य क्षेत्रलाई अझै सुरक्षित बनाउन आफूूले आवश्यक कदम चाल्न तयार छु ।’
एजेन्सी