बुबाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै ७ वर्षीया छोरीले गरिन् प्रहरीमा उजुरी



Download our app to get more features

भारत, २७ मंसिर । भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी छन् । प्रहरीलाई पत्र लेख्दै हनिफा जाराले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बुवालाई पक्राउ गर्न आग्रह गरेकी हुन् । हनिफाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको पनि बताएकी छन् ।

अझै धेरै भारतीयहरूको घरमा शौचालय छैन र संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय खुल्ला ठाउँमा शौच गर्छन् । कतिपयको घरमा शौचालय भए पनि त्यसको प्रयोग नगरेको पाइन्छ । दक्षिणी राज्य तमिलनाडुको अम्बुर नगरमा बुवाआमासँगै बस्दै आएकी हनिफाको घरमा कहिल्यै शौचालय भएन ।

बीबीसी तमिलकी कृतिका कण्णनसँग कुरा गर्दै हनिफाले आफ्नो छिमेकमा केहीको घरमा मात्रै शौचालय भएको बताएकी छन् । हनिफाका अनुसार उनी नर्सरी कक्षामा पढिरहेको बेला आफ्ना बुवालाई घरमा शौचालय बनाइदिन आग्रह गरेकी थिइन् ।

उनले भनिन्, “बाहिर शौच गर्ने बेला मान्छेहरूले हेर्दा निकै लाज हुन्थ्यो ।” शिक्षा पाएर आफू उत्प्रेरित भएको उनले बताइन् । प्रहरीलाई लेखेको पत्रमा हनिफाले कक्षामा उत्कृष्ट भएपछि आफ्ना बुवाले घरमा शौचालय बनाइदिने वाचा गरेको उल्लेख गरेकी छन् । पत्रमा उनले लेखेकी छन्, “नर्सरीदेखि नै म कक्षामा उत्कृष्ट हुँदै आएकी छु र अहिले म दुई कक्षामा पढ्छु ।”

“मेरा बुवाले अहिले पनि शौचालय बनाइदिन्छु भनिरहनुभएको छ। यो एक किसिमको धोका हो । त्यसैले उहाँलाई पक्राउ गरियोस् । ” हनिफाका बुवा एहसानुल्लाहले घरमा शौचालय बनाउन थालिसके पनि रकम अभावमा त्यो पूरा हुन नसकेको बीबीसी तमिललाई बताए । उनी अहिले बेरोजगार छन्। उनले भने, “मैले हनिफासँग थप समय मागेँ तर मैले वाचा पूरा गर्न नसकेकोले उनले मसँग बोल्नै छाडिन् ।”
 

Last modified on 2018-12-14 07:49:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts