डेन्जर डिप्रेसन, सरल सोलुसन
हासो ठट्टा गर्दै रमाइलो गर्ने उमेरमा २२ वर्षीया रन्जु (नाम परिवर्तन) एकोहोरिन थालेकी थिइन् । उनको आनीबानी र बोली मात्रै होइन, लवाइ खवाइ र पढाइ समेत बिग्रदै जान थाल्यो । परिवार र साथीभाईसँग झर्केर बोल्ने, खाना नखाने, कुरै पिच्छे रिसाउने र पढ्न मन गर्न छाडिन् । रन्जु मात्रै होइनन् पछिल्लो समय यस्ता समस्या धेरै किशोरकिशोरीमा देखिन थालेको छ ।
यस्ता व्यवहार मानसिक रोग ‘डिप्रेसन’ अर्थात् उच्च निरासाको लक्षण हो । समयमै उपचार गर्ने हो भने यसलाई सामान्य रुघाखोकी जस्तैं लिदा पनि हुन्छ । तर, उपचार नगरी बस्ने हो भने यसले जटिल अवस्था निम्ताउन पनि सक्छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग बिषेशज्ञ प्रा.डा. निदेश सापकोटाका अनुसार अहिले बालबालिका तथा किशोरकिशोरीमा पारिवारिक झगडा र उच्च महत्वकांक्षाका कारण डिप्रेशन देखिन थालेको छ । जीवनमा ठूलो उपलब्धी हासिल गर्ने महत्वकांक्षा, पढाइमा असफलता, परिवारको असहयोग एवम् प्रेममा असफलताका कारण डिप्रेशनका बिरामी बढेदो छन् । अहिले हाम्रो समाजमा प्रत्येक सय जना मध्ये ५ देखी ७ प्रतिशतमा यस्तो समस्या देखिएको डा. निदेश सापकोटा बताउँछन् । मनोरोग विशेषज्ञ डा. सापकोटाका अनुसार दैनिक क्रियाकलाप, अन्य व्यक्तिसँगको सम्बन्ध, भोक, निन्द्रा, टाउको दुख्ने, आत्तिने, पेट पोल्ने, छाती पोल्ने, मन डराउने र यौन इच्छामा कमी भएमा त्यो डिप्रेसनको लक्षण हुनसक्छ ।
२५ देखि ३५ वर्षसम्मकामा बढी समस्या
मानसिक रोगले विशेषगरी २५ देखि ३५ वर्ष उमेर समूहकालाई बढी आक्रमण गरे पनि यसको शिकार बालबालिका र वृद्धवृद्धा समेत बन्दै आएका छन । ती मध्ये पनि सबैभन्दा बेरोजगार युवामा यो समस्या बढी देखिएको छ । युवा तथा किशोर अवस्थामा शारीरिकसँगै मानसिक तनाव बढी हुने भएकाले यो रोग लाग्ने सम्भावना बढी भएको परामर्शदाताहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनको अध्ययन प्रतिवेदन अनुसार विश्वभरमा सन् २०२० सम्ममा यो रोग मुटु रोगपछिको प्रमुख स्वास्थ्य समस्या हुने उल्लेख छ । अनुसन्धानले डिप्रेसन पुरुषको तुलनामा महिलामा बढी हुने गरेको देखाएको छ । विभिन्न अध्ययनहरूले हरेक २० पुरुषमा एक र २० महिलामा २ जनामा डिप्रेसन हुने गरेको देखाएको छ ।
के हो डिप्रेसन ?
डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो । जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ । कुल जनसंख्याको करिब १५ प्रतिशत मानिस जीवनमा कमसेकम एक पल्ट डिप्रेसनको शिकार भएको पाइएको छ । डा. सापकोटाका अनुसार डिप्रेसन भएका मध्ये ४० प्रतिशत रोगीले आत्महत्या गर्ने सम्भावना रहन्छ ।
समयमै रोग पहिचान भई उपचार गरे यो रोग निको हुन्छ । समयमै उपचार नपाएमा यो बढ्दै जान्छ र यसले मानसिक सन्तुलन नै बिगार्न सक्छ । यो अवस्था कडा मानसिक रोगको अवस्था हो । यो अवस्थामा निराशा र दिग्दारीपन यति बढ्दै जान्छ कि जसले गर्दा रोगीले जीवन नै बेकार ठान्छ र आत्महत्याको बाटो रोज्छ ।
डिप्रेसन कसरी हुन्छ ?
डिप्रेसन हुने निश्चित कारण छैन । व्यक्ति नै पिच्छे यसको कारण फरकफरक हुनसक्छ । तर, शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ । मस्तिष्कमा पाइने विभिन्न रसायन जस्तैं सेरोटोनिन, इपीनैफरिन, नौरडपिनैफरिन र डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ । शरीरमा पाइने विभिन्न प्रकारका हर्मोनले यसमा असर पारेको हुन्छ । जस्तै स् ओसट्रोजिन हर्मोनले मन नियन्त्रण गर्न ठूलो भूमिका खेलेको हुन्छ । त्यस्तै, टेसरररोन हार्मोनको कमीले पनि यो रोग लाग्न सक्छ ।
मनोरोग विशेषज्ञ डा. धनरत्न शाक्य यो रोग हुनुमा तीन कारण औल्याउछन् । उनी भन्छन् ‘यो समस्या जैविक, मनोवैज्ञानिक र सामाजिक एवम् वातावरणीय कारणले गर्दा हुन्छ ।’
समाधान
यस रोगको पहिलो उपचार गर्ने स्थल भनेको घर नै हो । परिवार र समाजले यस रोगलाई अन्य रोगजस्तैं साधारण रोग हो भनेर बिरामीलाई बुझाउनु पर्छ । रोगीलाई हेयको दृष्टिले हेर्नु हुँदैन । किनकी यो रोग उपचार गर्दा निको हुन्छ ।
डिप्रेसन भनेको खाली मन उदास हुनु मात्रै होइन । डिप्रेसन एउटा कडा रोग हो जसले पीडितलाई मात्र नभएर सिंगो परिवार र समाजलाई समेत असर पु¥याउँदछ । यो मधुमेह, उच्चरक्त चाप, मुटु रोग जस्तंै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्छ । यो मानवीय संवेदनासँग जोडिएको रोग भएकाले रोगिलाई परिवार, समाजबाट मनोवैज्ञानिक सहयोग आवश्यक हुन्छ । त्यसैले समयमै नजिकैको मानिसक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु जरुरी हुन्छ । मानसिक रोग विशेषज्ञले डिप्रेसनको उपचार औषधि र मनोवैज्ञानिक उपायले गर्छन् ।