महिनावारी र दुखाई कम गर्न घरेलु तरिका
महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, वान्ता हुने, वाक्वाकी लाग्ने, ढाड र कम्मर दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो समस्यालाई डिस्मेनोरिया भनिन्छ । कतिपय अवस्थामा दुखाई लामो समयसम्म पनि हुन सक्छ । केही महिलाले दुखाई सहन नसकेर आफूखुसी औषधी सेवन गर्ने गरेको पाइन्छ । यस्तो गर्नु स्वास्थ्यका लागि राम्रो होइन । दुखाई बढी भए पनि चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्नुपर्छ । डिस्मेनोरिया प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ ।
प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ । दुखाई बढ्दै गएमा खुट्टा र टाउँको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने लक्षण देखिन सक्छन् । कसैकसैलाई पखाला पनि लाग्ने पनि हुन्छ । यसका कारणहरुमा कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्माेनहरुको असन्तुलन हुन् ।
महिनावारी हुँदा पाठेघर खुम्चिने र तन्किने हुनाले तल्लो पेट दुख्छ । महिनावारीमा यौनाङ्गमा कुनै बाधा आयो अथवा रगत बग्ने यौन नली साँघुरो भयो भने पनि प्राइमरी डिस्मेनोरियामा हुन सक्दछ । यो वंशानुगत कारणले पनि हुन सक्छ । अत्याधिक मोटोपना र सुखमय जीवनशैली बिताउने युवतीलाई पनि यस्तो समस्याको सम्भावना बढी हुन्छ ।
सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहका महिलालाई हुने गर्छ । यो प्राय विवाहिता महिलामा देखिने समस्या हो । यसका लक्षणहरुमा महिनावारी समयमा नहुनु र हुँदा रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनाङ्ग दुख्नु, बाँझोपना र अत्याधिक सेतो पानी बग्नु आदि हुन् । यस्तो अवस्थामा औषधीको सेवन गर्दा पनि दुखाई कम नहुन सक्छ ।
प्रजनन रोग, अण्डाशय वा अण्डबाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म आइयुसीडी तथा कपर–टीको प्रयोग, अनियमित औषधीको प्रयोगका कारण पनि यस्तो समस्या आउँछ । डिस्मेनोरिया आफैंमा रोग होइन तर अन्य रोगको लक्षण हो । त्यसैले समयमै रोगका पहिचान गरी उपचारतर्फ लाग्नु पर्छ ।
दुखाई कम गर्न घरेलु तरिका
दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पूरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईलाई दुध मिठो लाग्दैन भने तपाईंले क्याल्सियमको चक्की पनि खान सक्नुहुन्छ ।
मेवा महिनावारी भएको बेला खानाले फाइदा पुर्याउँछ । धेरैपटक महिनावारीको दौरान रक्तप्रवाह सहि तरिकाले हुने गर्दैन, जसका कारण अझ पीडा हुने गर्छ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने हुन्छ ।
गाजर गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्छ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।
घिउकुमारी महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडा कम हुन्छ ।
तुलसी पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफिड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।
तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुन्छ ।
अदुवा एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।
व्यायाम हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्छ ।
बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।
चुकन्दरको ताजा रस सानो गिलासको, १ गिलास (200ml) दैनिक बिहान १ महिनासम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ ।
योग तथा प्राकृतिक चिकित्सा
-महिनावारीका बेलामा रगत कम देखिएको छ र दुखाई अत्यन्त बढी छ भने निमपानीको तातो कटिस्नान लिनाले तत्काल पिडा कम गर्दछ । यस्तो बेला बिहान र बेलकुा एक हप्ता सम्म २०–३० मिनेट लिनु लाभदायिक हुन्छ ।
-उष्णपादस्नान- ३८ देखि ४० डिग्रीसम्मको तातो पानीमा (Epsom salt (mgso4) ५० ग्राम हालेर हरेक दिन विहान र बेलुका आफ्नो दुवै खुट्टा पानीमा डुबाउनु पर्दछ ।
-महिनावारी बन्द भएको तीन दिनपछि बाट महिनावारी सुरु हुनु ३ दिन अगाडिसम्म प्रत्यक दिन तातो कटिस्नान लिनाले ,यो रोगबाट पूर्ण रुपमा छुट्कारा पाउन सकिन्छ ।
-एनिमा र पेट, कम्मर मालिस गर्नाले पनि पिडाबाट छुट्कारा पाउन सकिन्छ ।
-नियमित थेरापेटिकल (Therapeutical) योग ,व्यायाम र सूर्य नमस्कार जस्ता आसन र प्राणयाम गर्नु पर्दछ ।
नोट योग तथा प्राकृतिक चिकित्सा अपनाउँदा सम्बन्धीत रजिष्ट्रड चिकित्सकसँग सल्लाह लिनु पर्दछ ।
लेखक प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुन् ।