अस्पताललाई मृत्युशय्या, मृत्युशालासँग तुलना गर्नु राम्रो होइन
हामीलाई यूरोप, अमेरिकामा चिकित्सक, नर्स निर्यात गर्ने शिक्षा होइन, हिमाल, पहाड, तराईका दुर्गम क्षेत्रमा खटियर आफ्नै देश र दाजुभाईको सेवा गर्ने शिक्षा र शिक्षण संस्था चाहिएको छ । तसर्थ, नेपाली चिकित्सक नेपाल र नेपाली कै लागि उत्पादन गरिनुपर्छ । तर ती उत्पादन ज्ञान, सीप र दक्षतामा विश्वका कुनै देशका भन्दा कम हुनुहँुदैन ।
स्वास्थ्य सेवा लिने र दिने प्रक्रिया आपसी विश्वास र समझदारीको विषय हो । स्वास्थ्य सेवा लिनेदिने सवालमा सेवा प्रदायक स्वास्थ्यकर्मी र सेवाग्राही जनताबीच गहिरो सम्बन्ध रहनु नितान्त आवश्यक हुन्छ । नेपाल जस्तो रोग, भोक र अशिक्षाले ग्रसित देशमा उपचारका क्रममा विशेषगरी अन्जानको भुल, योग्यता नभएका वा नक्कली चिकित्सकको उपचारबाट हुने दुष्परिणाम, लापर्बाही र मानवजन्य भुल विशेषगरी हुने गरेका छन् । चिकित्सक पनि यही समाजको मानिस भएकोले मानवोचित कमीकमजोरी हुनसक्ने तथ्यलाई नकार्न सकिदैन ।
चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय, नेपाल सरकारबाट जारी चिकित्सा सुरक्षा ऐनमा ‘जेल विथआऊट बेल’ को प्रवधान समाबेस गरी स्वास्थ्य अराजकताको अन्त चाहेका छन् । स्वास्थ्य नीतिमा रहेको ‘पब्लिक प्राइभेट पार्टनरसीप’ अवधारणा कार्यान्वयन गर्न, स्वास्थ्यकर्मीलाई सेवासुविधा, वृत्ति विकास र सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उनीहरूको माग छ ।
बिरामीबाट डाक्टर के चाहन्छन् ?
– बिरामीबाट रोगको सम्पूर्ण जानकारी ।
– डाक्टर भनेका सत प्रतिशत जिन्दगी बचाउने अचुक व्यक्ति होइनन् । यी त बिरामीको मृत्यु नहोस् भनेर प्रयास गर्ने र मृत्यृलाई सहज बनाईदिने व्यक्ति मात्र हुन् भनेर बिरामीले बुझुन प¥यो ।
– बिरामीको शीघ्र स्वास्थ्य लाभका लागी डाक्टरबाट दिएको निर्देशन पालनामा सहयोग ।
उपभोक्ता अदालतको माग
बिरामीबाट मेडिकल काउन्सिलमा उजुरी गूनासो गर्ने तथा काउन्सिलले तुरुन्त छानबिन प्रारम्भ गर्ने व्यवस्था बलियो गर्नु आवश्यक छ । उपभोक्ता हकहित संरक्षण गर्ने संघसंस्थाले उपभोक्तालाई भ्रामक प्रचार नगरी तथ्यसत्य सु–सूचित गर्नुपर्छ । उपभोक्ताका लागि छुट्टै अदालतको ब्यवस्था गर्न जरुरी छ । अन्य देशमा स्वास्थ्यकर्मीको सेवा बीमा नगराएका अस्पतालले जागीर समेत दिँदैन । स्वास्थ्यकर्मीको सेवाको अनिवार्य बीमा व्यवस्था भए उपचारमा हुन सक्ने त्रुटी भए उपभोक्ताले क्षतिपूर्ति पाउने बलियो आधार हुन्छ । मानव सेवामा समर्पित चिकित्सा सेवालाई किराना व्यापारीसँग तथा अस्पताललाई मृत्युशय्या, मृत्युशालासँग तुलना गर्ने उपभोक्तावादीहरूलाई कार्बाहीको दायरामा ल्याउनसके चिकित्सक–बिरामी सम्बन्ध सुधार गर्न सकिन्छ ।
क्षतिपुर्ति भीडको लहडमा
केही महिनायता उपचारको क्रममा बिरामीको मृत्यु भइहाले क्षतिपूर्तिको निर्णय ‘भीडतन्त्र’ ले गर्दै आएको छ । चिकित्सक पनि आफैमा अचुक होइनन्, मानिस भएको नाताले सामान्य मानविय कमजोरी हुनसक्छ । पीडित पक्ष (चाहे बिरामी होस् अथवा चिकित्सक) कानुनी उपचारको बाटो खोज्दै अदालत, काउन्सिल लगायतका न्यायिक, अर्धन्यायिक निकायमा पुग्ने परम्परा विकास हुनु जरुरी छ ।
रोगीको मृत्यु स्वास्थ्यकर्मीको लापर्बाहीले मात्र हुन्छ भन्ने अस्वभाविक भ्रम जनमानसमा बढ्दै गएको छ । जसका कारण उपत्यका बाहिरका सबै अस्पताल र काठमाडौंका निजी अस्पतालले गम्भीर प्रकृतिका बिरामीलाई रिफर गरी काठमाडौंका सरकारी अस्पतालमा पठाउने क्रम बढ्दो छ । यसले क्षणिक समस्या त समाधान होला तर बिरामी नै उपचारबाट बञ्चित रहनेगर्छ । एकै ठाउँमा यसरी भीड बढ्दा सेवाको गुणस्तरमा समेत नकारात्मक प्रभाव परेको छ । स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा सरकारले ग्यारेन्टी गर्दै निःशुल्क बनाएकाले सर्वसाधारण जनताको अपेक्षा र उपलब्ध सेवा सुविधाबीच तालमेल कहि कतै छैन । जसले नङमासुको सम्बन्ध रहेको चिकित्सक–बिरामी सम्बन्ध किनबेचको सम्बन्धमा पुगेको छ ।
डाक्टरले मृत्युलाई रोक्न सक्दैन । मृत्युलाई केबल सहज र केहि समय पर धकेल्ने काम मात्रै डाक्टरको हो । चिकित्सक भगवान होईन र छोएर तथा हेरेर मात्र पनि सबै रोग निको बनाउन सक्दैन । त्यसमाथि अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने नेपालीको बानीले कहिले पनि चिकित्सक–बिरामी सम्बन्ध सुधार्न सक्दैन । सामान्य बिरामीको उपचारमा पनि चिकित्सक, स्याहार गर्ने नर्स, परीक्षण गर्न प्रयोगशाला र एक्स रे,औषधि दिने फार्मेसी र अस्पताल सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ, यो एक टिम ईफोर्ट हो ।
मृत्यृपश्चात शोकाकुल हुनु जति स्वाभाविक हो तर विना कारण चिकित्सकले लापर्बाही भन्दै आरोप लगाउनु त्यतिकै गलत हो । तसर्थ, चिकित्सक र बिरामीबीतको हालको सम्बन्ध बिश्वासको सम्बन्धका आधारमा सेवा लिने दिने गर्नुपर्छ ।
(डा. बुढाथोकी न्याम्स, वीर अस्पताल, काठमाडांैमा वरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जनका रुपमा कार्यरत छन् । उनी नेपाल चिकित्सक संघका केन्द्रीय सह–कोषाध्यक्ष पनि हुन I)