नर्सिङ पेशाः पीडा मिसिएको खुशी
विसं १९८५ मा विद्यादेवी, राधादेवी, विष्णुदेवी र धर्मदेवीलाई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर पालामा प्रसूति सेवासम्बन्धी डेढवर्षे तालिम लिन भारत पठाइएको थियो। त्यसअघि विदेशबाट नर्स ल्याई राजपरिवार तथा विशिष्ट व्यक्तिले आफ्नो सेवामा लगाउँथे । बि. स. २००९ सालमा उमादेवी दास तथा रुक्मिणीचरण श्रेष्ठलाई भारतमा चारवर्षे नर्सिङ तालिम लिन पठाइयो। उनीहरू फर्किएपछि २०१३ सालमा पहिलोपटक नर्सिङ स्कुल खुलेको हो । नर्सहरूले करिब सय वर्षको इतिहासमा दुई दशकभन्दा बढी समय स्वयंसेविकाका नाममा भइरहेको नर्सको श्रमशोषण अन्त्यका निम्ति बिभिन्न आन्दोलनरू भएका छन् । हाल नर्सिङ काउन्सिलमा अनमी र नर्स गरी ६७ हजार ८२ जना दर्ता छन्। तीमध्ये नर्सको संख्या ३७ हजार हाराहारी छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सरकारी स्वास्थ्य सेवामा २० हजार ४ सय २३ जना मासिका, अनमी र नर्स कार्यरत छन्। निजी स्वास्थ्य संस्थामा कति छन् भन्ने यकिन तथ्यांक छैन ।
नेपालमा पिसिएल नर्सिङका लागि ८ देखि १० लाख र बिएस्सी नर्सिङका लागि १२ देखि १४ लाख रुपैयाँसम्म खर्च हुन्छ । तर रोजगारी सम्भावना र पारिश्रमिक हेर्दा कहालीलाग्दो स्थित छ । नर्सिङ पेशामा समेत आउटसोर्सिङ अर्थात् तेस्रो पक्षबाट कतिपय अस्पतालले काम लगाउने गरेको र कम तलब दिएर ब्यापक 'श्रमशोषण' गरिरहेको छ । स्टाफ नर्स भनेको सुब्बासरहको जागिर हो । उनीहरूलाई मासिक ६ हजार रुपैयाँमा काम गराउँदा कस्तो सेवा आँउछ ? यसले जनताको स्वास्थ्यमा कस्तो असर पर्ला ? अहिले नर्सिङ सेवालाई तेस्रो दर्जाको काम ठानिन्छ भने सेवा सुविधामा उपेक्षा गरिएको छ ।
जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन सरकारद्वारा निर्धारित ‘नर्स–बिरामी अनुपात’ सबै अस्पतालमा लागु गर्न, निजी अस्पतालमा काम गर्ने नर्सहरूको न्यूनतम तलब सरकारी कर्मचारीसरह हुनुपर्ने लगायतका सम्झौता नेपाल नर्सिङ संघ र सरकारबीच भए पनि त्यो कार्यान्वयन गराउन पर्याप्त पहल भएको देखिँदैन।
राजधानीका ठूला सरकारीदेखि नाम चलेका निजी अस्पतालमा कार्यरत नर्सहरूको कथा भयाबह छ । च्याऊसरी खुलेका नर्सिङ कलेज बेरोजगार नर्स उत्पादन गर्ने केन्द्र बन्दै गएका छन् । नर्सिङ पेशाप्रति बढ्दो आकर्षणका कारण कलेजको संख्या बढेपनि त्यसको सही व्यवस्थापन हुन नसक्नु, योग्यताका आधारमा काम नपाउँनु, सरकारी सेवामा पदपूर्ति र नयाँ दरबन्दि सिर्जना हुन नसक्नु, आकर्षक तलब नहुनुजस्ता कारण नर्सहरू आर्थिक तथा मानसिक रूपमा शोषणमा परिरहेका छन् । कतिपय संस्थाले आफैँले उत्पादन गरेका जनशक्तिलाई भोलेन्टियर बनाएर शोषण गरिरहेका छन् ।
निजी क्षेत्र मात्रै नर्सको श्रम शोषणमा जिम्मेवार छैनन् । बिरामीको अनुपातमा दरबन्दी नबढाउँने, भएको दरबन्दीमा पनि नियुक्त नगर्ने सरकारी प्रवृत्ति र आर्थिक लाभ लिएर सरकारी अस्पतालमा समेत भोलेन्टियर लगाउने सरकारी अस्पतालका प्रशासक पनि उत्तिकै दोषी छन् । नर्सिङ जनशक्तिको बढ्दो बेरोजगारीको फाइदा उठाएर भोलेन्टियरकै भरमा अस्पताल चलाउँने निजी अस्पतालको प्रवृत्ति बढ्दै गएको छ । ठुला सरकारी अस्पताल वीर अस्पताल, प्रसूति गृह, कान्ति बाल अस्पताललगायत जिल्लादेखि अञ्चल अस्पतालसम्म भोलेन्टियरको बहानामा नर्सलाई लामो समयसम्म श्रम शोषण भइरहेको छ ।
बर्तमान अवस्था
नर्सिङ काउन्सिलका अनुसार देशभरका १ सय ५ निजी र एक दर्जन भन्दा बढी सरकारी नर्सिङ कलेजबाट प्रत्येक वर्ष ६ हजारको हाराहारीमा नर्सिङ जनशक्ति थपिइरहेका छन् । यी सबै जनशक्तिले रोजगारी पाउँन सक्दैनन् । नेपाल नर्सिङ संघका अनुसार ७५ प्रतिशत नर्स बेरोजगार छन् । जागिरका लागि भौतारिइरहेका नर्सहरू जागिर पाइने आशामा महिनौं भोलेन्टियर गरेर निराशाका बीच पसिना बगाइरहेका हुन्छन् । सरकारी सेवामा करिब २४ हजार नर्स आवश्यक भएपनि करिब ६ हजारमात्र कार्यरत छन् । स्वास्थ्य मन्त्रालयले नत पदपूर्ति गर्न सकेको छ न दरबन्दी नै थप्न चासो देखाएको छ । नेपालको कुल जनसंख्याको अनुपात हेर्ने हो भने हाल सरकारी सेवामा कार्यरत एकजना नर्सको भागमा करिब ५ हजार बिरामी पर्ने गरेका छन् । सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउँन नसक्दा समस्या बढ्दै गएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सामान्यतः सघन उपचार कक्ष (आईसीयु) मा एक बिरामी बराबार एक जना नर्स हुनुपर्छ । अस्पतालको सेवा सिफ्टका हिसाबले तीन सिफ्ट हुँदा तीन जना नर्स चाहिन्छ । त्यसैगरी शल्यकक्षमा एक बिरामी बराबर तीन, बार्डमा पाँच बिरामी बराबर एक नर्स हुनुपर्छ । तर हाम्रा सरकारी अस्पतालका वार्डमा एक नर्सले २५ जनासम्म बिरामी हेर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
नर्सिङ सम्मानित पेशाको रूपमा कहलिएकाले नर्सिङ विद्यार्थीको आकर्षण र अभिभावकको पनि छनौटमा पर्छ । यो सामाजिक ‘स्टाटस’को विषयसमेत थियो । पछिल्ला दिनमा नर्सका लागि त्यही ‘स्टाटस’ भारी भएको छ । पिसिएल नर्सिङ गरेका विद्यार्थीका लागि ब्याचलर गर्न दुई वर्ष काम गरेको अनुभव चाहिने प्रावधानले पनि नर्सहरू भोलेन्टियर बन्न बाध्य भएका छन् । नर्सहरूको यो विवसताको फाइदा अस्पतालले उठाइरहेको छ ।
८ लाख भन्दा बढी खर्च गरेर नर्सिङ पढेका नर्स महिनौंसम्म जागिर पनि नपाउँने, पाएपनि तलब थोरै हुने, नियमित नहुने र सेवाको सम्मान पनि घट्दै गएकाले पेशाप्रति निराशाजनक छन् । यसरी भोलेन्टियर गर्ने नर्सको संख्या करिब दश हजारभन्दा बढी छ । देशभरका अधिकांश अस्पतालका आइसियु र शल्यकक्ष सहित भोलेन्टियर कै भरमा चलेका छन् । टुसुक्क बस्नेसमेत फुर्सद नभई भोलिन्टियर काम गर्ने नर्सले कतिपय अस्पतालबाट ‘एक कप चिया’ पनि पाउँदैनन् । राजधानीका थुप्रै अस्पताल र राजधानीबाहिरका अस्पतालको अवस्था पनि उस्तै छ । लामो समयसम्म भोलेन्टियर गरेपनि सोर्सफोर्स नभएका नर्सले त जागिर पाउने अवस्था नै छैन ।
त्यस दर्दनाक र पिडाभरिएका घरभित्र
टुकी समातेकी एकजना महिला म देख्दथेँ
चित्कार भित्रका वेदना सुन्दै र माया बाँढदै
हरेक कोठा कोठा उनि सहृदय पुग्दथिन्
जुन कारणले पनि उनी विश्वबिख्यात समाजसेवी नर्सका चिरपरिचित भइन ।
जागिर नपाएर भोलेन्टियर गर्ने मात्रै होइन जागिरे नर्सका पीडा र उनीहरूमाथिको शोषणको कथा पनि उस्तै छ । जागिरै पाएका नर्सले पनि एकदमै न्यून पारिश्रमिकमा सेवा गर्न बाध्य भएका छन् । ‘सुरुमा एक वर्षसम्म भोलेन्टियर गराउँने र त्यसपछि पनि मासिक बढीमा बलतल ६ हजार रुपियाँमा मात्रै दिएर काम लगाउँने परिपाटी छ । व्यवसायिक शिक्षा लिएका दक्ष नर्स निःशुल्क काम गर्नुपर्ने बाध्यतामा परिरहेका छन् । धेरै अस्पतालले भोलेन्टियर र सस्तो पैसामा जनशक्ति पाउँने हुनाले तोकेको न्यून तलब पनि नियमित दिँदैनन् । कार्यरत नर्समध्ये पनि नवप्रवेशीमा यो शोषण अझै बढी छ ।
बास्तबमा पैसा जुटाउँन सकिएला भनेरै स्टाफ नर्स पढ्ने हो अहिले अस्पताल र बिरामीले पनि नर्सलाई मान्छे नै गन्न छाडेका छन्, सीप, लगनशिलता र कलेजको प्रमाणपत्रको भ्यालु पनि हुन छाडेको छ ।’ निःशुल्क काम लगाउँदा पनि आफ्ना समस्यामा अस्पताल प्रशासन कहिल्यै संवेदनशील छैनन । जसले काम बिगारेपनि त्यसको दोषसमेत भोलेन्टियरकै थाप्लोमा हालेर पन्छिन्छन। एकातिर निःशुल्क काम, अर्कोतिर असन्तुष्टि र निराशाले नर्समा आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरसमेत बढ्दै गएको छ । अस्पतालको शोषणसँगै पारिवारिक र सामाजिक दबाबसमेत झेल्नुपर्दा धेरै नर्स डिप्रेसनको सिकार भएका छन । डिप्रेसनको अवस्थामा नपुगिसकेका पनि यी समस्याका कारण कामप्रतिको लगाब घट्ने हुन्छ । चिन्ताकै कारण धेरै नर्सले पढाईमा पनि ध्यान नदिने समस्या पनि आएको छ ।
युवा नर्सहरूले अवसर नपाउने र मिहिनेतअनुसारको जस नपाउँनुमा वरिष्ठ नर्सहरू बाधक छन । ‘इन्चार्ज वा व्यवस्थापन कसैको नजिक भयो भने मात्र बढुवा हुन्छ, विभिन्न तालिम र सेमिनारमा जाने मौका मिल्छ । सिनियर नर्स यसबारे केही बोल्दैनन् । कनिष्ठ नर्सहरू जहिले पनि पीडामा हुन्छन् । नर्सका इन्चार्ज र मेट्रोनहरू यस्तो व्यवहार गर्छन् कि मानौं उनीहरू नर्स भएरै जन्मिएका हुन् ।
सीपमा आधारित र अपडेट भएकै आधारमा हात सफा हुँदै जाने भएकाले नर्सहरू जतिसुकै शोषणमा परेपनि खाली बस्नु भन्दा सीपमा आधारित शिक्षा भएकाले सीप नर्बिसियोस् भन्न पनि भोलेन्टियर वा कम तलबमा काम गर्नुपर्ने बाध्यता नर्सहरूमा पनि देखिन्छ ।
भयाबह स्थिति
नर्सिङ उत्पादन गर्न सबै तयार भए पनि रोजगारी दिन पन्छिने अवस्था छ । अनियन्त्रित रूपमा खोलिएका कलेजबाट प्रत्येक वर्ष ६ हजारको हाराहारीमा नर्सिङ जनशक्ति उत्पादन भइरहे पनि मुस्किलले २ हजारको हाराहारीमा मात्रै रोजगारीको अवसर सृजना भइरहेको छ ।
त्यतिमात्रै होइन पछिल्ला दिनमा नर्सिङ जनशक्ति उत्पादनमा खस्किँदो गुणस्तर पनि बजारमा रोजगारीको अवसर सृजना हुन नसक्नुको कारण बनेको छ । नर्स बन्नका लागि सेवा भावसँगै, नम्र बोली, मिहिनेत र पेशाप्रतिको लगाव चाहिन्छ, । धेरै अभिभावकले प्रतिष्ठा, विदेश जाने अवसर र विवाहका लागि सहज हुने ठानेर नर्स बनाएका छन् । नसिर्ङको स्कोप घटे पनि अरुको देखासिकीमा पढ्नेको संख्या घटेको छैन । अर्कोतिर सरकारले पनि विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा जनशक्ति बढाउँने प्रतिबद्धता गरेपनि अहिले करिब तीन करोड जनसंख्याका लागि पनि ०४८ सालकै दरबन्दीको भर छ । स्वास्थ्य मन्त्रालयले नर्सिङ जनशक्ति थप्न जति टिप्पणी उठाए लगेपनि डाक्टर हाकिमहरूले कुरै नसुन्ने गरेका छन । ‘बिरामी छिटो निको बनाउँन, अस्पतालजन्य संक्रमणबाट हुने मृत्यु घटाउँन नर्सिङ केयर महत्वपूर्ण छ भन्ने कुरामा कोही संवेदनशील देखिदैनन। सरकारले आफू मोडल बनेर जनशक्ति थप्न नसक्दा र निजी अस्पतालको नर्सिङ जनशक्ति र बिरामीको अनुपात हेर्न नसकेको स्पस्ट छ । सरकारी सेवामा नयाँ दरबन्दी सिर्जना हुन नसकेको मात्र होइन, बढुवा पनि हुन सकेको छैन ।
ठूलो संख्यामा खुलेका कलेजले गुणस्तर कायम गर्न नसक्दा पनि उत्पादित जनशक्ति कमजोर भएका छन् । यसबाट पनि अस्पतालहरूलाई भोलेन्टियर काम गराउन प्रोत्साहन मिलिरहेको छ । ती कलेजले प्रयोगात्मक काम गर्ने अस्पताल अभाव हुँदा पनि सिटिइभिटी र विश्वविद्यालयहरू सम्बन्धन बाँड्न मात्रै उद्दत छन् । नर्सिङ काउन्सिल पनि बढीभन्दा बढी नर्स कसरी उत्पादन गर्ने भन्नेतिर लागेको छ । अहिलेसम्म काउन्सिलले पनि नर्सिङ केयरको गुणस्तरका लागि अनुगमन र मुल्यांकन गर्न सकेको छैन ।
धेरै मेडिकल कलेजमा पूर्वाधार पुगेको भएतापनि बिरामी आउँदैनन् । नर्सिङ सेवा बिरामीबाटै सिक्ने पेशा हो । यस्तो अवस्थामा अस्पताल खुल्नेबित्तिकै नर्सिङ कलेज दिने परिपाटीले पनि गुणस्तर खस्किएको छ। मन्त्रालयअन्र्तगत कति नर्स कार्यरत छन्, कति दरबन्दी रिक्त छ भन्ने पनि यकीन छैन । अनुपातअनुसार जनशक्ति राख्ने हो भने कम्तिमा १८ हजार नर्स चाहिन्छ । सरकारी ठुला अस्पताल वीर, प्रसूति गृहमा समेत मापदण्डअनुसार नर्सिङ जनशक्ति छैन ।
नर्स पढाउँनचाहिँ सबैले खोज्ने, काम कसैले नदिने अवस्था आयो काम लगाएपनि सित्तैमा लगाउँने प्रवृत्ति बस्यो । राज्यले कलेज खोल्न दिने तर नर्सको खपत गर्ने नीति बनाएन । नर्स त घर–घरमा भएसम्म राम्रो हो । अहिले अस्पतालमा भोलेन्टियर राख्न पाइन्न भनेर अनुगमन नै भएन । स्वास्थ्य मन्त्रालयले कस्ता नर्सले काम गरिरहेका छन् ? लाइसेन्स छ कि छैन भन्ने हेर्नुपर्ने हो, त्यो हुन सकेको छैन । निम्नमध्यम वर्गका नर्स निकै शोषणमा परेका छन् । जनसंख्याको अनुपातमा सरकारले नर्सको दरबन्दी सृजना सकेको छैन । अन्तर्राष्ट्रिय श्रम ऐन अनुसार भोलेन्टियर राखेर काम लगाउँनु गैरकानुनी मानिन्छ । नर्रसहरूलाइ भोकोपेटमा काम लगाउँदा सेवामा पनि गुणस्तर हुदैन । अहिले अस्पतालहरुले नर्सको बाध्यताको फाइदा उठाईरहेका छन् । नर्सहरु पनि गाउँमा जान मान्दैनन बरु शहरमा भोलेन्टियर गरेर बस्छन् । बिरामीले आफ्नो ज्यान प्रयोग गरेर सिक्न दिएपछि त बिरामीप्रति त्यसको गुन तिर्ने सोच पनि आउँनुपर्छ र गाउँगाउँ पुगेर सेवा गर्ने तत्परता चाहिन्छ ।
रमिता खतिवडा, डाइलाइसिस नर्स
सन्दर्भ सामाग्री : नेपाल नर्सिङ काउन्सिल, WHO, प्रकाशित पुस्तक, लेख, व्यक्तिगत अनुभव र डाइरीबाट