संघीयतामा स्वास्थ्य : गुणस्तरीय सेवाका लागि हरेक प्रदेशमा डीम विश्वविद्यालय



Download our app to get more features

नेपालको संबिधान २०७२ ले प्रत्येक नेपाली नागरिकको लागि भाग ३, मौलिक हक तथा कर्तब्य अन्तर्गत धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई सुनिश्चित गरेको छ । प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन । प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पाहुँचको हक हुनेछ । प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ ।

नेपालको संबिधान कार्यान्वयनको क्रममा केही समयअघि मात्रै स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको छ । जननिर्बाचित प्रतिनिधिहरुको आगमनसँगै पुरानो संरचनाहरु नयाँ संरचनामा रुपान्तरित र नयाँ उदय भएका संरचनाहरु अधिकार सम्पन्न हुदैँ सशक्त भएका छन् ।

यस्तो संक्रमणकालीन समयमा पुरानो संरचनामा अभ्यस्त रहेका निजामती तथा स्वास्थ्य जस्तो संबेदनशील सेवाका कर्मचारीहरु अन्योलमा रहनु कुनै अनौठो विषय भने हैन ।

देश संघीयतामा गएसंगै स्वास्थ्यका अधिकार केन्द्रबाट स्थानीय तहमा गएका छन् । यो संगै संविधानले प्रदान गरेको स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्ने जिम्मेवारी बर्षौ पछिको प्रयासबाट जनप्रतिनिधिको हातमा पुगेको छ । संविधानले नै केन्द्रीय अस्पताल बाहेकका अधिकांस स्वास्थ्य संस्थाको सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई सुम्पेको छ । नेपालको ईतिहासमा संघीय अभ्यास पहिलो फड्को हो । आम नेपालीले आफ्नै घरमा बसेर आवश्यक सेवा पाउने आशा र भरोसासहित सुरु गरेको संघीय संरचनाले कति जनतालाई खुशी दिलाउन सक्छ त्यो अहिले भन्न सक्ने अवस्था छैन । तर, धेरै स्थानमा स्वास्थ्यको क्षेत्रमा समस्या देखिन थालेका छन् ।

सुरुवाती अवस्थामै देशका २५ भन्दा बढी जिल्लामा अत्यावश्यक औषधिको अभाव देखिएको छ । स्थानीय सरकारले समयमा औषधि खरिद गर्न सकेको अवस्था छैन । स्वास्थ्यको बजेट सडक, पुल आदी स्थानमा लगाईएको छ । जसले गर्दा आगामी बर्षमै स्वास्थ्यका सुचकहरु घट्ने निश्चित देखिएको छ । 

प्रदेशमा स्वास्थ्य र शिक्षा स्वायत हुनुपर्छ 
शिक्षा र स्वास्थ्यलाई संघीय संरचना अनुसार गुणस्तरीय बनाउने हो भने, प्रदेशमा स्वास्थ्य र शिक्षालाई स्वायत्त बनाउन जरुरी छ । प्रदेशबाट आएको बजेटमा ठुलो हिस्सा स्वास्थ्य र शिक्षामा लगाउनुपर्छ । पृथ्वीनारायण शाहले गरेको एकीकरण पश्चात नेपालमा जति सरकारले स्वास्थ्य र शिक्षा जनतालाई दिएको छ त्यसको दोब्बर शिक्षा र स्वास्थ्य निजी क्षेत्रले दिएका छन् । सोही अनुसार निजी क्षेत्रको विकास भएको छ । 

हाल नेपालका निजी तथा सरकारी अस्पतालमा जम्मा २० हजार वेड रहेका छन् । यसमध्ये निजी क्षेत्रको मात्रै १४ हजार बढी वेड रहेका छन् । यसमा पनि १२ हजार मेडिकल कलेजका वेड रहेका छन् । सरकारले १ सय २८ वर्षको ईतिहासमा ५ हजार देखि ६ हजार मात्रै वेड जोड्न सफल भएको छ । सरकारका जति वेड छन् त्यसको दुई तिहाई वेड काठमाडौंमा मात्रै रहेका छन् । २५ वर्षको ईतिहास बोकेका निजी स्वास्थ्य सस्थाले नेपालको स्वास्थ्य क्षेत्रलाई धानेको कुरा कसैले नकार्न सक्दैन चाहे स्वास्थ्य होस वा शिक्षा । जुनसुकै देशमा आधारभूत विषय भनेकै शिक्षा र स्वास्थ्य हो । जवसम्म जनता स्वास्थ्य र शिक्षामा शिक्षित हुदैन तव सम्म देश समृद्ध बन्न सक्दैन । 

विश्वका जति पनि धनी देशहरुको मापदण्ड भनेको धनसम्पती भन्दा पनि नागरिक कति शिक्षित छन् भन्ने कुराले निर्धारण गर्छ । अव नेपालमा व्यवहारीक र प्राविधिक शिक्षाको आवश्यकता देखिएको छ । यि दुवैको समिश्रणमा मात्रै देशको विकास सम्भाव छ । वौद्धिक मान्छे हुनका लागि डाक्टर, ईन्जिनिययर, पाईलट, पत्रकार, वकिल भएर मात्रै पुग्दैन । सबै विषयको ज्ञान भएको व्यक्ति मात्रै वौद्धिक बन्न सक्छ । नेपालमा यो विषय अपुग देखिएको छ ।
 
सेवाको विकेन्द्रिकरण आवश्यक 
देशमा संघीयता कार्यान्वयन भएसँगै हिजो काठमाडौं केन्द्रित विकास अब विकेन्द्रिकरण गर्नु आवश्यक छ । पोखरा र पूर्वाञ्चल विश्वविद्यालय बाहेक सबै राजधानी केन्द्रित रहेका छन् । गोरुगाडा चढ्ने समाजबाट हवाईजहाज चढ्ने समाजमा आईपुग्दा पनि हाम्रो संस्कार संकृति पुरानै छ । नेपाल भनेको काठमाडौं मात्रै हो ? सानो भन्दा सानो काम गर्नका लागि पनि हामी गाउँदेखि काठममाडौं आउनुपर्छ । सबै स्रोत साधन केन्द्रमा मात्रै थुप्रिएका कारण त्यसलाई विकेन्द्रिकरण गर्न पनि संघीयता आवश्यक परेको हो । 

शक्ति सन्तुलनको काम प्रदेश सरकारको 
देश र जनताले खोजेको संघीयता आर्थिक सामाजिक राजनीतिक रुपमा सूसम्पन्न हुनुपर्छ । केन्द्रको भरमा सञ्चालन हुने भन्दा पनि आफ्नै आर्थिक स्रोत साधनले चल्न सक्ने संघीयतामा हामीले चाहेका छौ । केन्द्रको काम संयोजन गर्ने हो पावर सेयरिङको काम संघीयतासंगै प्रदेश आफैले गर्नुपर्छ । प्रदेश सरकारलाई कोडिनेसन केन्द्रले गर्ने हो यदि हस्तक्षेपकारी भूमिका निर्वाह गरेको खण्डमा त्यो प्रदेशको विकास सम्भव रहदैन । 

शिक्षा र स्वास्थ्य प्रदेशको हातमा 
अब शिक्षा र स्वास्थ्यको संम्पूर्ण अधिकार प्रदेश सरकारले लिनुपर्छ । प्रमूख सुचकका रुपमा रहेको शिक्षा र स्वास्थ्यलाई प्रदेशले मुख्य प्राथमिकतामा राख्नुको विकल्प छैन । बजेटको ठुलो हिस्सा यसमा खर्च गर्नुपर्ने अवस्था छ । जबसम्म यी दुई कुराको पूर्ण रुपमा विकास हुदैन देश कहिल्यै समृद्ध बन्न सक्दैन । शिक्षा र स्वास्थ्य देश विकासको सूचक हुन । प्रदेश सरकारको हातमा शिक्षा र स्वास्थ्य सुधारको जिम्मा आएको खण्डमा हामीले आवश्यक सुधार गर्न सक्छौं । अहिले बर्षमा एक पटक केन्द्रबाट एक जना व्यक्ति स्वास्थ्य संस्थाको अनुगमनका नाममा आउने र तीन घण्टा कुनै होटलमा बसेर सबै रिपोर्ट बनाएर जाने गरेको छ । यसले शिक्षा र स्वास्थ्य सुधारको संकेत गर्दैन । आफ्नो सीमा भित्र भए गरेका कमि कमजोरी औल्याउने र सुधार गर्ने पक्षमा प्रदेश सरकार नजाने हो भने यसको कुनै औचित्य हुन्छ जस्तो मलाई लाग्दैन । 

डीम विश्वविद्यालय आवश्यक छ
प्रत्येक प्रदेशमा डीम विश्व विद्यालय खोल्नु पर्छ । देश संघीयतामा गएको हुँदा अब केन्द्रीय विश्वविद्यालयले काठमाडौंमा बसेर ताप्लेजुङ र कर्णालीका कलेज हेर्छु भन्ने हैन । त्यसलाई सुधार गरेर प्रत्येक प्रदेशमा डिम विश्वविद्यालय खोलिनु पर्छ । डीम विश्वविद्यालय भनेको वौद्धिक सर्कलहरुको मिश्रण हो । नेपालमा त्यस्ता दिग्गजहरु प्रशस्त छन् । विदेशमा भएका विद्धवानहरुलाई स्वदेश झिकाउन सकिन्छ । विधिको शासन भए हामी उनिहरुलाई स्वदेश ल्याउने ग्यारेन्टी दिन्छौं । देशका जनता शिक्षित बनाएको खण्डमा अँध्यारो कुनै ठाउँमा रहने छैन । शिक्षित जनता बनाउनका लागि विश्वविद्यालयको योजना सहित प्राविधिक शिक्षाको विकास गर्नुपर्छ । अहिले काठमाडौंका विश्व विद्यालय आफै अगाडि बढ्न नसकिरहेको अवस्थामा देशभर रहेका आफ्ना सम्बन्धन प्राप्त निकायलाई गुणस्तरीय बनाउनु भन्ने कुराको कुनै अर्थ रहदैन । 

सन् २०२० सम्ममा भारतमा डेढ लाख डाक्टर पुग्दैनन । सन् २०३० सम्ममा ५ लाखको टार्गेट गरिएको छ भन्ने आफ्नो तथ्याङकलाई उनिहरुले गलत भनेका छन् । सन् २०१८ मा भारतलाई ४ लाख ५० हजार डाक्टर आवश्यक छ । सन् २०३० सम्ममा १५ लाख डाक्टर आवश्यक पर्ने देखिएको छ । नेपालमा भने डाक्टर धेरै भए भनेर हिडिरहेका छन । डाक्टर देशमा कहिल्यै पनि बढी हुदैनन् । आज काठमाडौंको पेरिफेरीमा डाक्टरहरु पाईन्छन् तर, काठमाडौं बाहिर गएपछि स्वास्थ्य संस्थामा डाक्टर हुदैनन् । हरेक दिन डाक्टर अभाव भएको समाचारहरु आइरहेका छन । जति ठूला अस्पतालको विकास हुदै जान्छ त्यतिनै मात्रामा चिकित्सक अभाव हुदै जानेछन् । अझै पनि जिम्मेवार निकाय मौन बस्दै जाने हो भने देशमा चिकित्सक अभावले बिकराल रुप लिनेछ । 

Last modified on 2018-05-01 16:13:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts