म्याग्दी: जिल्ला अस्पतालको क्षमता विस्तार

What's This?


Download our app to get more features

फाल्गुण १९, म्याग्दी  । सदरमुकाम बेनीमा रहेको म्याग्दी जिल्ला अस्पतालको क्षमता विस्तार भएको छ । साविकमा १५ श्यया क्षमताको अस्पतालको क्षमता विस्तार गरी ५० श्ययाको बनाइएको छ।

स्वास्थ्य मन्त्रालयले गत असोजमा अस्पतालको क्षमता विस्तारका लागि गरेको निर्णयअनुसार जनशक्तिको दरबन्दी थप र पूर्वाधार निर्माण प्रक्रिया अघि बढेको छ । मन्त्रालयले अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकसहित ६९ जना विभिन्न तहका प्राविधिक जनशक्तिको व्यवस्था गरेको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताउनुभयो ।

जनशक्तिको पदपूर्ति सुरु भइसकेको छ । हाल अस्पतालमा दुईजना मात्रै चिकित्सकको दरबन्दी थियो । यसैगरी, ५० श्यया क्षमताको अस्पतालका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि प्रक्रिया अघि बढिसकेको छ ।

अस्पताल विकास समितिको पहलमा अघिल्लो वर्ष गरिएको विस्तृत आयोजना सर्वेक्षणअनुसार सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङले भवनलगायतका पूर्वाधार निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरेको जनाएको छ ।

जनशक्ति र भवनका साथै उपचारमा प्रयोग हुने उपकरण पनि थप भइरहेको छ । जिल्ला अस्पतालको क्षमता विस्तारसँगै हालसम्म जिल्ला स्वास्थ्य कार्यालय मातहत रहेका जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको प्रशासनिक संरचना पनि अलग अलग भएको छ ।

पचास श्यया क्षमताको अस्पताल भएपछि मेडिकल सुपरिन्टेन्डेन्टको नेतृत्वमा जिल्ला अस्पताल र जनस्वास्थ्य अधिकृतको नेतृत्वमा जनस्वाथ्य कार्यालयको प्रशासनिक काम सञ्चालन गर्न सकिने नीतिगत व्यवस्था गत हप्तादेखि कार्यान्वयनमा आएको हो ।

जिल्ला अस्पताल म्याग्दीले आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग कक्षमा स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरणका अलावा शल्यक्रियामार्फत गरिने प्रसूति, हाइड्रोसिल, हर्निया, पाठेघर खस्ने, हाडजोर्नीको शल्यक्रिया सेवा प्रवाह गर्दै आएको वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट रोशन न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला अस्पतालमा बालरोग, एक्स–रे, रगत परीक्षण, आँखा उपचार, क्षय तथा कृष्ठ र एचआइभी परीक्षण, सङ्क्रमित आमाले जन्माउने बच्चामा एचआइभी सर्नबाट बचाउने पिएमटिसिटी, एआरभी औषधि वितरणलगायतको सुविधा उपलब्ध छ । जनशक्ति र पूर्वाधार थप हुँदै गएपछि जिल्ला अस्पतालको सेवा विशिष्टीकरण हुने जनाइएको छ ।

-रासस

Last modified on 2016-03-02 15:54:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts