हाम्रो समाज र राज्यले बुझ्न् नसकेको पेशाः फार्मेसी !
विश्वमै स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवं संवेदनशील क्षेत्र हो, फार्मेसी । औषधि बिनाको स्वास्थ्य क्षेत्र वा उपचार सम्भव पनि छैन र कल्पना गर्न पनि सकिँदैन, त्यो तपाईं हामी सबैले बुझेको कुरा हो । खोपलाई समेत जोडेर हेर्दा औषधि नचाहिने मानिस यो पृथ्वीमा कोही पनि छैन ।
बच्चा गर्भमा रहँदादेखि जन्मिएर जीवनभर र मृत्युवरण गर्दासम्म हामी औषधिको सहयोग लिइरहेका हुन्छौं । अनि त्यहीँ औषधिसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन फर्मासिष्ट अर्थात् औषधि विज्ञ ।
एसएलसी पछि डिप्लोमा इन फार्मेसी ३ वर्ष पढेर फार्मेसी सहायक र प्लस टु साइन्स वा डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको व्यक्तिले ४ वर्षको स्नात्तक तह गरेको फर्मासिष्ट र थप दुई वर्ष स्नातकोत्तर र विद्यावारिधिसम्म हासिल गरेको व्यक्ति र नयाँ कोर्स प्लस टु साइन्स पछि ६ वर्ष वा फार्मेसीमा स्नात्तक पछि ३ वर्षको फार्म डि. गरेको जनशक्ति फार्मेसी पेशामा संलग्न हुन पर्ने कुरा कानुनमा व्यवस्था गरिएको छ ।
औषधि सम्बन्धी अनुसन्धान र विकासदेखि त्यसको उत्पादन, गुणस्तर परीक्षण, सञ्चय, बिक्री वितरण, परामर्श एवं फर्माकोभिजिलेन्स र एडभर्स ड्रग रियाक्सन रिपोर्टिङ गर्ने ज्ञान भएको दक्ष जनशक्ति हुन् फर्मासिष्ट ।
विभिन्न अध्यनहरूलाई हेर्दा औषधि खान नपाएर भन्दा औषधि खाएर मर्ने तथा शरीरमा नकारात्मक असर गर्र्नेहरुको सङ्ख्या बढी देखिन्छ । ऐन्टिबायोटिक्स जस्तो जीवन रक्षक औषधिले विस्तारै काम गर्न छाडेको विश्वको प्रमुख समस्याको रूपमा पछिल्लो समय देखिन थालेको छ । कारण हो औषधिको विवेक पूर्ण प्रयोग नहुनु ।
आफू खुशी औषधिको प्रयोग गर्नु, चिकित्सक र फर्मासिष्टले दिएको सल्लाह नमान्नु, औषधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी नअपनाउनु र औषधिको बिक्री वितरण गैरफर्मासिष्टले गर्नु । औषधिको विवेक पूर्ण प्रयोगलाई ख्याल नगरी अन्धाधुन्ध प्रयोग गर्दै जाने हो भने औषधिले विस्तारै काम गर्न छाड्दै जाने र नयाँ प्रभाकारी औषधि बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय संङ्कटकाल नआउला भन्न सकिँदैन । त्यसकारण औषधिको सहि र विवेक पूर्ण प्रयोग तर्फ सम्बन्धीत सम्पूर्ण निकायले समयमा नै ध्यान पुर्याउनु जरुरी छ ।
विश्वभरी विकसित देशहरूको उदाहरण हेर्ने हो भने औषधि सम्बन्धी उत्पादन, खरिद, वितरण, नियमन आदि कार्यमा सम्बन्धीत दक्ष जनशक्ति फर्मासिष्टलाई सदुपयोग गरि स्वास्थ्य क्षेत्रलाई सुद्धृढ बनाएको देख्न सकिन्छ । हाम्रो देशमा औषधि सम्बन्धी ऐन, कानुन , नीति, नियमहरु त छन् तर विडम्बना त्यो लागू हुन सकेको छैन ।
केबल कागजमा मात्रै सिमित छ । स्वास्थ्य ऐन २०७१ मा पनि औषधिको अनुगमन, खरिद र वितरण व्यवस्थालाई प्रभाकारी बनाउन खरिद एवम् आपूर्ति व्यवस्थालाई सुदृढ तुल्याउने दक्ष फर्मासिष्ट जनशक्तिको संलग्नता गराइन्छ भन्ने स्पष्ट उल्लेख गरिएको छ । औषधि ऐन २०३५ ले त औषधि बिक्री वितरणमा फर्मासिष्ट र सहायक फर्मासिष्टको अनिवार्य उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । तर, त्यो ऐन व्यवसायीलाई मात्रै लागू हुने र राज्यलाई लागू नहुने जस्तो गरि सञ्चालन गरिएको छ ।
सर्वोच्च अदालतले समेत कार्यान्वयन गर्न भनेको अस्पताल फार्मेसी निर्देशिका २०७२ पनि स्वास्थ्य मन्त्रालयको वेबसाईटमा ५३ दशमलव ६ प्रतिशत मात्र सञ्चालन गरेको देखिन्छ । चाहे फार्मेसीबारे सचेतनाको कमीले होस् वा अन्य कारणले, हाम्रो समाजसँगै स्वास्थ्य मन्त्रालयले पनि फार्मेसी पेशालाई अभिन्न स्वास्थ्य जनशक्तिको रुपमा नहेरेको जस्तो देखिन्छ ।
राज्यले फार्मेसी पेशाको महत्त्व नबुझ्दा र दक्ष फार्मेसी जनशक्तिलाई उनीहरूको कामबाट वञ्चित गराउँदा कतै औषधि नपाएर बिरामीको मृत्यु भएको, कतै भण्डारण मै औषधिको म्याद नाघेको, खरिद गरिएको औषधि गुणस्तरहिन भएको, औषधि र औषधि सामग्री खरिदमा करोडौं रूपैयाँ बेरुजु भई सरकारलाई वार्षिक अर्बौं रूपैयाँको नोक्सान भएको समाचार विभिन्न सञ्चार माध्यमबाट सुनिरहेको हुन्छौं ।
मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने औषधि जस्तो संवेदनशिल क्षेत्रको विकासका लागि औषधिको उत्पादन बढाई देशलाई औषधिमा आत्मनिर्भर बनाउन र संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको गुणस्तरीय स्वास्थ्य सेवा जनताको माझमा पुर्याउनका लागि फार्मेसी जनशक्तिलाई सम्बन्धीत कार्यमा व्यवस्थित गर्नु जरुरी छ ।
त्यसको लागि फार्मेसी पेशाप्रती रहेको राज्यको भ्रमलाई हामीले चिर्न जरुरी छ । त्यसका लागि फार्मेसी पेशामा आबद्ध सम्पुर्ण जनशक्तिहरू र फार्मेसी पेशासँग सम्बन्धीत सङ्घसंस्थाहरू एकजुट भई विश्वव्यापी नारा ‘जहाँ औषधि त्यहाँ फर्मासिष्ट’ ‘राइट म्यान राइट प्लेस’ लाई कार्यावन्यन गराउनु जरुरी देखिन्छ ।