बिरामी होइन समस्याले भरिदै जलेश्वर अस्पताल
(फोटो फिचर)
जलेश्वर, २३ चैत । पच्चिस शय्याको जिल्ला अस्पताल जलेश्वरमा समस्याको चाङ लागेको छ । दक्ष चिकित्सक अभाव, औषधि पर्याप्त नहुनु, करार र अन्य कर्मचारी पनि समयमा अस्पताल नआउने हुँदा अस्पतालको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गइरहेको छ ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासनका उपसचिव डा. बाबुराम खनालले जलेश्वर अस्पतालमा भएका संरचना जिर्ण हुँदै गइरहेकोले थप गर्न कठिनाइ भएको बताए । उनले अब संघीय संरचनामा अस्पतालको अनुगमन गरेर शय्या थप्ने र कर्मचारी पठाउने तयारी भइरहेको जानकारी दिए ।
अस्पतालमा ३ जना चिकित्सकको दरबन्दी रहेपनि हाल एक जना मात्रै कार्यरत छन् । ४ जना स्टाफ नर्सको दरबन्दी रहेपनि २ जना र एक जना अहेब कार्यरत छन् । बाँकीका ६ जना कर्मचारी करारमा छन् ।
अस्पतालमा कार्यरत कर्मचारी समेत समयमा नआउँदा सेवाग्राहीहरू थप मारमा पर्दै आएका छन् । अस्पतालमा कर्मचारी नभेटेपछि बिरामीहरू निजी क्लिनिकमा जान बाध्य भएका छन् । यस्तै २४अै घण्टा खुला हुनुपर्ने अस्पतालको फार्मेसी पनि बिहान ९ देखि साँझ ५ बजेसम्म मात्रै खुल्ने अस्पतालका एक कर्मचारीले बताए ।
नाम नखुलाउने सर्तमा उनले भने ‘जलेश्वर नगरपालिका मात्रै नभई आसपासका गाउँका बिरामी पनि यस अस्पतालमा आउने गर्छन् तर, कर्मचारीहरू अस्पताल छाडेर निजी क्लिनिकमा जाने हुँदा बिरामीहरू क्लिनिकमै उपचार गराउँन जान्छन् ।’
औषधि अभाव
अस्पतालको फार्मेसीमा निःशुल्क औषधि पनि पाउन छाडेको छ । भएको औषधि पनि महँगोमा किन्नु पर्ने बाध्यता रहेको सोही अस्पतालमा उपचारत एक बिरामीका कुरुवाले बताए । उनले श्रीमतीलाई सुत्केरी गराउन अस्पताल आएको बताए । अस्पतालको फार्मेसीमा औषधि नै नभएकोले बाहिरबाट महँगोमा किन्नु परेको उनले बताए । उनले भने, ‘सरकारले अस्पतालमा ४ पटकसम्म गर्भवतीले जाँच गराउँदा अस्पतालले सुपानेट झुल वितरण गर्ने भनेपनि ठूला भनाउँदाहरूले सो सेवा सुविधा लिने गर्छन् ।’
भौतिक पूर्वाधारमा अस्पताल सम्पन्न भए पनि संरक्षण अभावमा अस्पतालका संरचनाहरू बिग्रिदै गइरहेका छन् । प्रसस्त पूर्वाधार भएकै कारणले अस्पतालले १० वर्षदेखि शय्या विस्तारको माग गर्दै आएको छ । २५ शय्याको अस्पताललाई ५० शय्याको बनाउन अस्पताल प्रशासनले माग गर्दै आइरहेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पटक पटक डेलिगेसन जाँदा पनि माग सुनुवाई नभएको अस्पतालका मेडिकल सुप्रिडेन्ट डा. राजीवकुमार झाले बताए ।
छोरा जन्मिए पैसा माग्छन कर्मचारी
बुहारीलाई सुत्केरी गराउने क्रममा अस्पताल आएकी भटुलियाकी सुखनीदेवीले नाती पाएपछि प्रसूति विभागमा रहेका नर्सहरूले पैसा मागेको बताइन् । पैसा नदिने भन्दा बाहिर निकाल्ने धम्की दिएको सुखनीदेवीले बताइन ।
अस्पतालमा सुत्केरी गराउनेलाई सरकारले सहुलियत स्वरुप केही रकम दिने गरे पनि सुखनीदेवीले भने नपाएको बताइन । उनले भनिन् ‘छोरा जन्मेको भन्दै उल्टै नर्सहरूले पैसा मागे । हामीलाई त कुनै सहुलियत नै दिएनन् ।’