मेसु डा. पौडेलको सुझाव लिने रचनात्मक शैलीः ‘तपाईं भरतपुर अस्पतालको मेसु भए के गर्नुहुन्छ ?’
चितवन, १८ साउन । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा प्रा.डा. कृष्णप्रसाद पौडेल मेडिकल सुपरिटेण्डेन्ट (मेसु) भएको अब भदौमा २ वर्ष पुरा हँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णय अनुसार वि.सं. २०७८ भदौ १५ गतेदेखि उनले अस्पतालको मेसुको जिम्मेवारी सम्हाल्ने अवसर पाए ।
मेसु बन्ने दोस्रो अवसर
सोही अस्पतालको ३८ औँ मेसु बनिसकेका उनी हाल अस्पतालको ४६ औँ मेसुको रूपमा आफ्नो कार्यकाल सञ्चालन गर्दैछन् । उनी यसअघि वि.सं. २०७५ साल असोज ७ गतेदेखि ७६ साल जेष्ठ १ गतेसम्म मेसु बनेका थिए । उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी यस अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा भित्रै देखि निकै जानकार समेत छन् । जसले गर्दा सर्वसाधारणले उनी नियुक्ति भएदेखी नै अस्पतालको चौतर्फी विकासको आशा समेत व्यक्त गरेका थिए ।
मर्निङ वाक गर्दै अस्पताल आउछन् मेसु
उनी अस्पतालमा हुने गरेको सेवा प्रवाह बुझ्न बिहानै छड्को जाँच गर्न प्राय अस्पताल आउँने गर्छन् । अस्पताल आएपछि आकस्मिक कक्ष, फार्मेसी, ल्याब र अन्य भर्ना वार्ड अरूको अनुगमन समेत गर्ने गर्दछन् । आफूले आटेको काम गरिहाल्ने स्वभावका उनी कहिले कहीँ हतारमा निर्णय गरेको भन्दै कर्मचारीबाटै गुनासो समेत आउँने गरेको छ । अस्पतालबाट सेवा विस्तार वा अन्य निर्णय गर्नुअघि सम्बन्धीत विभागमा कार्यरत कर्मचारी तथा विज्ञसँग छलफल गर्नु आवश्यकता देखिन्छ । त्यसो गरेमा निर्णय प्रभावकारी हुनुको साथै दीर्घकालिन समेत हुन्छ ।
अस्पतालले विकासको ठूलो फड्को मार्यो
उनको कार्यकाल झन्डै २ वर्ष पुग्नै लाग्दा अस्पतालले विकासको निकै ठूलो फड्को मारिसकेको छ । २ वर्ष अघि र अहिलेको अस्पताल तुलना गर्दा आकाश पत्तालको फरक परिसकेको छ । यद्यपि धेरै बिरामीको चाप रहने यस अस्पतालमा ‘सीमित कर्मचारी–असीमित बिरामी’ को कारण भीड व्यवस्थापनमा हम्मे–हम्मे पर्ने गरेको छ । बिरामीलाई पहिले भन्दा राहत भएपनि सेवा लिन अहिले पनि घण्टौँ कुर्नु पर्ने वाध्यता छ ।
जनशक्ति र पूर्वाधार भन्दा बिरामीको सँख्या बढी हुँदा उपचार तथा भीड व्यवस्थापनमा समस्या देखिने गरेको अस्पतालका मेसु डा. पौडेल स्वीकार गर्दछन् ।
एक दिन एकाएक आयो मेसुको फेसबुक स्टाटस् !
सामाजिक सञ्जालमा समेत निकै सक्रिय मेसु डा. पौडेलको आफ्नो आधिकारिक फेसबुक मार्फत एक दिन एकाएक स्टाटस् आउँछ । त्यो पनि तपाईं भरतपुर अस्पतालको मेसु भए के गर्नुहुन्छ ? अझै त्यो पनि निबन्ध प्रतियोगिता । सुझाव सङ्कलन गर्ने यो उनको रचनात्मक शैली थियो । उनले आफ्नो स्टाटस् मार्फत लेखे–"म भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट भए के गर्थे? ५ सय शब्दमा नबढाइँ उत्कृष्ट निबन्ध लेख्नेलाई पुरस्कार र प्रमाणपत्रको व्यवस्था छ ।"
सुझाव सङ्कलन गर्ने यो उनको रचनात्मक शैली मात्र थिएन । सामाजिक सञ्जालमा सधै आलोचन र नकारात्मक कमेन्ट मात्रै गर्नेहरूलाई यो घुमाउरो शैलीमा झटारो समेत हो । उनले यसबाट प्राप्त सुझावलाई उच्च सम्मान गर्ने बताएका छन् । त्यसलाई आत्मसात् गर्दै अघि बढ्ने उनले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
उनले निबन्ध लेखनको लागि ५ दिनको समय दिएका थिए । सो समय सोमवार साँझ ५ बजे सकियो । निबन्ध मेल मार्फत पठाउन वा आफै अस्पताल आएर समेत दिन सकिने व्यवस्था गरिएको थियो । निर्धारित समय भित्र ३० भन्दाबढी लेख प्राप्त भएको उनले बताएका छन् । लेख अध्ययन गरी आवश्यक मूल्याङ्कन पछि केही दिनमा नतिजा आउने उनले बताए ।
को हुन् मेसु प्रा.डा. कृष्णप्रसाद पौडेल ?
चितवन निवासी अर्थोपेडिक विषयका प्राध्यापक उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी समाजशास्त्रमा समेत स्नातकोत्तर छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन पश्चात् देशका विभिन्न अस्पतालहरूमा काम गरिसकेका उनले विदेशका अस्पतालहरूमा समेत काम गरिसकेका अनुभव छ ।
देश विदेशमा अध्ययन, तालिम र कामले गर्दा विभिन्न किसिमका बिरामीलाई गर्नुपर्ने उपचार, त्यस्ता उपचारको सिलसिलामा बिरामीले बोकेर ल्याएको समाज र परिवेशमा चासो राख्ने बानीले मेडिकल सोसियोलोजीमा समेत उनको चाख बढेको पाइन्छ । उनी नेपाल चिकित्सक संघ चितवनका पूर्वअध्यक्ष समेत हुन् ।
साहित्यकार डाक्टर !
साहित्य तथा लेखनमा समेत रूची राख्ने उनले पहिलो पुस्तक ‘खुसीहरूको वनवास’ कविता सङ्ग्रह, स्वास्थ्य सम्बन्धी बहुउपयोगी दोस्रो पुस्तक ‘कम्मरीदेखि कोभिड कहर’ निबन्धसङ्ग्रह र बिरामी तथा डाक्टरका कथा बेथा समेटिएको तेस्रो पुस्तक ‘लय छुटेको समय’ निबन्धसङ्ग्रह बजारमा सार्वजनिक भएका छन् । उनी अन्य साहित्यिक कृतिहरूमा समेत निकै रूचि राख्दछन् । उनलाई केहीले साहित्यकार चिकित्सकको रूपमा समेत चिन्ने गर्दछन् ।
अवसर र चुनौतीको बीचमा मेसु
चितवन जिल्लाको भरतपुर महानगरपालिका १० स्थित रहेको यस भरतपुर अस्पतालको स्थापना वि.स २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति र अमेरीकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रबाट शुरू भएको पाईन्छ । पछि गएर वि.स २०२० सालमा महेन्द्र आर्दश चिकित्सालयको रुपमा नामकरण भएको थियो ।
वि.सं. २०६२/०६३ को ऐतिहासिक जन आन्दोलनपछि यस अस्पतालको नाम महेन्द्र आदर्श चिकित्सालयबाट परिवर्तन भई भरतपुर अस्पताल रहन गएको हो । वि.सं. २०३९ सालमा अस्पताल विकास तथा सहयोग समिति गठनसंगै अस्पतालमा स्थानिय र समुदायको संलग्नता बढेको देखिन्छ ।
१५ शय्याबाट शुरु भएको यो अस्पताल वि.स २०६७ सालमा ४ सय १५ शय्या हुँदै हाल करिब ६ सय शय्या भन्दा बढिमा सञ्चालन छ । यस अन्तर्गत नेपाल सरकारको ३ सय शय्या र अस्पताल विकास समिति अन्तर्गत ३ सय शय्या सञ्चालनमा छ ।
हाल अस्पतालको आफ्नै नाममा रहेको ३०—११—०६ विगाहा जग्गा भए तापनि उपलब्ध जम्मा करिब ११ विगाहा मात्रै रहेकोले यसको विस्तारमा समस्या हुन सक्ने हुँदा सिटिइभिटी, मेडिकल कलेज, आँखा अस्पताल र जनस्वास्थ्य कार्यालयलाई दिईएको प्रयोगविहिन जमिन यथासक्य छिटो फिर्ता गर्ने । त्यस ठाउँमा अस्पतालको लागि आवश्यक भवन निर्माण गर्ने व्यवस्था मिलाउनु पर्ने आवश्यकता छ ।
नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।
सधैजसो भीडभाड रहने यस अस्पतालमा सीमित जनशक्ति र स्रोतले सेवा सुविधालाई छिटो छरितो र गुणस्तरीय बनाउनुको साथै अस्पतालको चौतर्फी विकास गर्नुपर्ने आवश्यकता छ । साथसाथै सबैको चासो रहने यस अस्पतालमा जनगुनासोको सामना गर्दै त्यसको सम्बोधन एवम् समाधान दिनुपर्ने छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।