मधुमेह जोसुकैलाई लाग्न सक्छ

What's This?


Download our app to get more features

सामान्य भाषामा ‘चिनी रोग’ भनिने मधुमेह जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ । शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । मधुमेह भएका व्यक्तिलाई अन्य रोग लाग्ने सम्भावना पनि उच्च रहन्छ । मधुमेह अर्थात डायबिटीज तीन प्रकारका हुन्छन् । जसमा टाइप वान डायबिटीज, टाइप टू डायबिटीज र गर्भावस्थामा हुने डायबिटीज पर्छन । 

टाइप वान डायबिटीज 
मानिसको प्याङ्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेको अवस्थामा देखिने समस्या टाइप वान डायबिटीज हो । यसलाई पहिला इन्सुलिनमा आधारित डायबिटीज ‘मिलाइट्स’ वा अपरिपक्व मधुमेह भनिन्थ्यो । के कारणले गर्दा प्याङ्क्रियाजले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन ।

टाइप टू डायबिटीज
इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या टाइप टू डायबिटीज हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ । यसलाई पहिला इन्सुलिनमा आधारित नहुने डायबिटिज ‘मिलाइटस’ वा परिपक्व हुनै लागेको मधुमेह भनेर चिनिन्थ्यो । अत्यधिक तौल तथा शारीरिक व्यायमको अभाव टाइप टू डायबिटीजका प्रमुख कारण हुन् ।

गर्भावस्थामा हुने मधुमेह
पहिला कहिल्यै पनि मधुमेह नभएका महिला जसलाई गर्भावस्थामा मधुमेह भए त्यसलाई गर्भावस्थामा हुने मधुमेह भनिन्छ । साधारण व्यक्तिमा देखिने र गर्भवतीमा देखिने मधुमेहमा केही फरक हुन्छ भने यस्तो मधुमेहलाई जटिल रुपमा लिने चिकित्सकहरू बताउँछन् । 

गर्भावस्था आफैमा जटिल र विशेष सावधानी अपनाउनु पर्ने अवस्था हो । मधुमेह पहिलेदेखि नै हुन सक्छ वा गर्भ आएपछि मात्र पनि हुन सक्छ । मधुमेह भयो भन्दैमा गर्भवतीले जुन पायो त्यही औषधि सेवन गर्नु हुँदैन । यदि यसो गरेमा आमा र बच्चा दुवैका लागि खतरा हुन सक्छ । मधुमेह तथा थाइराइड विशेषज्ञ डा. सुनिलकुमार चौधरीका अनुसार गर्भावस्थाको मधुमेहमा इन्सुलिन्स लिन सल्लाह दिने गरिन्छ । गर्भावस्थामा हुने मधुमेहलाई ‘जेस्तेसनल मधुमेह’ भनिन्छ । गर्भावस्थाका बेला शरीरबाट उत्पन्न हुने विभिन्न हर्मोनको गडबडीका कारण गर्भवतीमा मधुमेह देखिने डा. सुनिल बताउँछन् । खाना पचाउने आमाशयबाट निस्किने इन्सुलिन्सको मात्रामा कमी आउँदा गर्भावस्थामा मधुमेह देखिने उनको भनाई छ । 

मधुमेह तथा थाइराइड विशेषज्ञ डा. दिना श्रेष्ठका अनुसार गर्भावस्थामा मधुमेह भए आमा र पेटको शिशुको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । साथै गर्भमा रहेको बच्चालाई पछि गएर मधुमेह हुने सम्भावना २ देखि ३ गुणा बढी रहन्छ । मधुमेह विशेषगरी गर्भावस्थाको २४ देखि २८ सातामा देखापर्छ । विशेषगरी २८ सातामा धेरै देखिन्छ । धेरैजसो अवस्थामा बच्चा जन्मिएपछि मधुमेह हराएर जान्छ । तर, गर्भावस्थाको मधुमेह भइसकेका महिलालाई टाइप टु मधुमेह देखिने सम्भावना बढी रहन्छ । सामान्यतया बच्चा जन्मिएको १० वर्षपछि टाइप टु मधुमेह देखा पर्न सक्ने विशेषज्ञहरू बताउँछन । त्यसकारण सुत्केरीपछि पनि महिलाले जीवशैली सुधार, खानपीन र व्यायाममा विशेष ध्यान दिन जरुरी छ । 

यसकारण गर्भावस्थामा मधुमेह 
गर्भावस्था भन्नासाथ महिलाले धेरै आराम गर्नुको साथै पोसिलो खाना खाने गर्छन् । शारीरिक परिश्रम कम गर्ने र खाना बढी खाने बानीले फाइदा भन्दा बढी बेफाइदा गर्ने गरेको चिकित्सकहरूको भनाई छ । त्यसैले गर्भावस्था सुरु भएपछि खानपीन र व्यायाममा विशेष ध्यान दिनुपर्ने हुन्छ । 

यसरी थाहा पाउने  
गर्भवती भएको २४ देखि २८ सातामा ७५ ग्राम चिनी र पानी घोलेर खाने र रगतमा चिनीको मात्रा जाँच्नु पर्छ । यो क्रियाकलाप अस्पतालमा चिकित्सकको सल्लाहमा गर्ने गरिन्छ । गर्भावस्थामा मधुमेह देखिए त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । यसले आमा र शिशुको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले तुरुन्तै मधुमेह रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । 

कसलाई हुन्छ गर्भावस्थामा मधुमेह 
►   ३० वर्ष भन्दा बढी उमेरमा गर्भवती भएमा
►   परिवारका अन्य सदस्यलाई मधुमेह भएमा
►   मोटोपना बढी भएमा 
►   जीवनशैली परिवर्तन भएमा 
►   खानपीन तथा व्यायाममा ध्यान नदिएमा 
►   अघिल्लो पटकको गर्भावस्थामा मधुमेह भइसकेमा
►   महिनावारीमा गडबडी भएमा 
►   हर्मोनमा गडबडी भएमा 

गर्भावस्थामा हार्मोन उत्पादनको गडबडी अन्य बेला भन्दा बढी हुन्छ । हर्मोनको असन्तुलनकै कारण प्याङ्क्रियाज ग्रन्थीबाट उत्पादन हुने इन्सुलिनमा गडबडी हुन्छ र इन्सुलिन्सको कमीकै कारण मधुमेह हुने सम्भावना बढी हुन्छ । 

गर्भावस्थामा मधुमेह हुन नदिन यसो गर्ने 
यदि मधुमेह भएकी महिला गर्भवती हुन चाहान्छिन् भने उनले सबैभन्दा पहिले विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्छ । कुन, औषधि कसरी सेवन गर्ने बारेमा परामर्श लिनु पर्छ । साथै, गर्भ बसेदेखि नै प्रत्येक तीन–तीन महिनामा मधुमेह परीक्षण गराउनु पर्छ । स्वस्थ, सफा र आवश्यक मात्रामा सन्तुलित खाना खाने गर्नुपर्छ । मधुमेह भए चिकित्सकको सल्लाह बमोजिम मात्रै औषधि सेवन गर्नुपर्छ । अन्यथा सेवन गरेको औषधिले आमा बच्चा दुवैको ज्यान जोखिम पर्न सक्छ । बच्चा खेरजाने सम्भावना पनि बढी रहन्छ । बच्चा जन्मिए पनि अस्वस्थ, सुस्त मनस्थितीको हुनसक्छ । यसर्थ गर्भावस्थामा मधुमेह हुन नदिनु सबै भन्दा राम्रो हो । यदि भैहाले बेलैमा सावधानी अपनाउनु पर्छ ।

गर्भावस्थामा मधुमेह भए देखिने लक्षण 
–छिनछिनमै पिसाब लाग्ने ।
–भोक धेरै वा लाग्दै नलाग्ने ।
–मुख सुख्खा हुने ।
–आँखा धमिलो देखिने । 
– औषधि प्रयोग गर्दा पनि घाउ खटिरा छिटो निको नहुने ।
–तौल घट्ने ।

असर
गर्भावस्थामा भएको मधुमेहले शिशुलाई सिधै असर गर्ने हुन्छ । शिशुको शारीरिक बनावटमा असर गरी अपांङ्ग हुने, शिशुको पोषण अत्यधिक भई तौल बढ्ने, शिशुको तौल बढी भएमा सुत्केरी हुन समस्या हुने, चोटपटक लाग्ने, समयभन्दा पहिला नै शिशुको जन्मने जस्ता समस्या हुन्छ । साथै, जन्मने बित्तिकै शिशुमा चिनीको मात्रा धेरै कम भएर बेहोश हुने, जन्डिस हुने, श्वासप्रश्वासमा समस्या देखिन सक्छ । 

उपचार 
गर्भावस्थामा मधुमेह हुनु गम्भीर भएकाले यसको उपचार महत्वपूर्ण हुन्छ । यसको प्रमुख उपचार भनेको इन्सुलिन हो । इन्सुलिनको साथै कम मात्रामा औषधिको सेवन समेत गर्न सकिन्छ । जसले सुगरको मात्रा नियन्त्रण गरी शिशुमा पर्ने असरबाट बचाउन सकिन्छ । आफ्नो जीवनशैली र आहार विहारमा विशेष ध्यान दिन सके मधुमेहलाई नियन्त्रणमा राखि इन्सुलिनको प्रयोग गर्नबाट बच्न सकिन्छ ।  

गर्भावस्थामा मधुमेह देखिए कस्ता खानेकुरा खाने ?
गर्भावस्थामा मधुमेहलाई नियन्त्रण गर्न ब्राउन राईस, ओट्स खानु पर्छ । जुसको सट्टा ताजा फलफुन खाने, रातो मासुको सेवन नगर्ने, नतारेको तरकारी तथा चिल्लो कम खानुपर्छ । साथै नियमित रुपमा व्यायाम गर्नु पर्छ ।   

बच्ने उपाय
डायबिटीज इन्डोक्ल्याइण्ड एसोसियसन अफ नेपालले साउथ एशिया फेडेरेशन अफ इन्डोक्ल्याइण्ड सोसाइटीसँग मिलेर गर्भावस्थाको मधुमेहको बारेमा जनचेतना फैलाई रहेको छ । गर्भावस्थामा मधुमेहबाट बच्ने उपाय भनेको खानपीनमा सजगता र नियमित व्यायम भएको चिकित्सकहरू बताउँछन । 

 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2018-03-11 07:34:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts