स्वास्थ्यकर्मीकै ज्यान लिने लासा भाईरस
पश्चिम अफ्रिकी देश नाईजेरियासहितका मुलुकमा लासा भाईरसले महामारीको रुप लिइरहेको छ । विगतको तुलनामा केही वर्षयता यो भाईरसको प्रकोप अस्वभाविक रुपमा वृद्धि भइरहेको छ ।
लासा भाइरसको कारणले उत्पन्न ज्वरोलाई लासा ज्वरो भनिन्छ । सन् १९६९ मा पहिलो पटक एक अमेरिकी नर्सको अज्ञात रोगको कारणले मृत्यु हँुदा सो रोग बारे अध्ययन गर्दा वैज्ञानिकहरूले नयाँ भाइरस पत्ता लगाएका थिए । सो घटना नाईजेरियाको लासा भन्ने शहरमा भएकोले यस भाइरसलाई लासा नाम दिइएको थियो । यो भाइरसबाट मर्ने पहिलो व्यक्ति स्वास्थकर्मी भएबाट पनि यो रोगको उपचारमा खटिनेहरूको लागि यो भाइरस कति जोखिमपूर्ण रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ ।
लासा संक्रमति मध्ये एक तिहाइ चिकित्सक
हालसम्म लासा भाईरस संक्रमित मध्ये करिब एक तिहाइ स्वास्थकर्मी छन् भने त्यसमा पनि झन्डै ४० प्रतिशतको मृत्यु भइसकेको छ । यो रक्तश्राव गराउने भाइरस हो । विश्व स्वास्थ संगठनका अनुसार यसको मृत्युदर एक प्रतिशत भए पनि यसपालि झन्डै २० प्रतिशत भन्दा बढी पुगिसकेको छ । फलस्वरूप यो भाईरसबाट विश्व नै झस्किएको छ । अझ भनौ एकपल्ट ईबोला भाइरसको समेत सम्झना गराएको छ ।
यो संक्रमित अफ्रिकी मुसाको रगत र पिसाबबाट मानिसमा सर्ने गर्छ भने मानिसबाट मानिसमा सजिलै सर्छ । मानिसबाट मानिसमा संक्रमित व्यक्तिको रगत, दिसा, पिसाब र शरीरको अरु तरल पदार्थबाट सर्ने गर्छ । श्वासप्रश्वासबाट सर्ने गरेको प्रमाण नभएता पनि यौन सम्पर्कबाट भने सर्ने गरेको पाहिचान भएको छ ।
२० प्रतिशतमा मात्रै देखिन्छ लक्षण
८० प्रतिशत बिरामीमा लासा भाइरसको कुनै लक्षण नै देखिदैन । यसको लक्षण ईबोला भाइरससँग मिल्दोजुल्दो हुन्छ तर मृत्युदर भने ईबोलाको भन्दा धेरै कम छ ।
शुरुमा टाउको दुख्ने, घाँटी दुख्ने, मांशपेसीका दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, वान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने हुन्छ । संक्रमण भएको ६ देखि २१ दिन भित्रमा लक्षण देखा पर्ने गर्छ । रोग बढ्दै जाँदा अनुहार सुन्निने, छातीमा पानी जम्ने तथा नाक, गिजा, महिलाको तल्लो पेट र अन्ध्राको रक्तश्राव शुरु हुन्छ । शुरुको अवस्थामा नै लक्षण पहिचान गरी तुरुन्त उपचार नगरे बिरामीको आकस्मिक मृत्यु हुने गर्छ । औसतमा यो भाईरस संक्रमण भएको १४ दिनमा मानिसको मृत्यु हुने गर्छ ।
लासा भाईरसका लक्षणहरू अरु विभिन्न सरुवा रोगसँग मिल्दोजुल्दो हुने भएकोले प्रयोगशाला निदान आवश्यक हुन्छ । यसको विशेष औषधि नहुने भएकोले लक्षणको आधारमा उपचार गर्ने गरिन्छ । तर रिबाभिरिन नामक एन्टीभाइरल औषधि रोग पहिचान भएको एक साताभित्र दिँदा बढी प्रभावकारी हुने गर्छ । तर, यसविरुद्धको खोप भने विकास भैसकेको छैन ।
चासो किन ?
हुनत धेरैको मनमा प्रश्न उठ्ला नेपाल भन्दा हजारांै माईल टाढाको अफ्रिकी देशमा देखिएको रोगको बारेमा यति धेरै चिन्ता किन भनेर । तर, यातायातको सहज पहँुच र तीव्र गतिमा बढ्दो विश्व व्यापारीकरणले गर्दा संसारको कुनै पनि महादेश वा ठाउँमा देखिएको सरुवा रोग अर्को महादेश वा ठाउँसम्म आउँदैन भनेर ढुक्क हुने अवस्था छैन ।
त्यसमा पनि आजभोलि नेपाली युवा अफ्रिकी देशहरूमा रोजगारीको लागि जाने क्रम बढ्दो छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांक हेर्ने हो भने अफ्रिकी देशहरू जाँदा लगाउने येलो फिबरको खोप लगाउन आउनेको संख्या निकै छ । यसकारण नेपालमा अफ्रिकाबाट रोग पनि आयातित नहोला भनेर ढुक्क हुने अवस्था छैन ।
खासगरी अफ्रिकामा पाउने रोग हाम्रो लागि नौलो हुने र समयमा नै पहिचान गरेर उपचार नगरे बिरामीको मृत्यु समेत हुन सक्छ । अफ्रिकी सरुवा रोगहरू जसको संक्रमण भएदेखि लक्षण देखिने समय लामो (इनकुभेसन समय) हुन्छ । यस्ता रोगहरु नेपालसम्म सहजै आइपुग्न सक्दछ । अफ्रिकी मुसा नेपालमा नभए पनि मानिसबाट मानिसमा सर्ने कारणले गर्दा यो नेपाल मात्र नभएर विश्वको लागि नै चुनौती भएको छ । त्यसमा पनि नेपालमा रोग पहिचान गर्ने प्रचलन कम वा प्रयोगशाला निदान गर्ने क्षमता वा सामग्री समेत सिमित हँुदा थप चुनौती देखिन्छ ।
स्वास्थकर्मीको मृत्युदरको प्रतिशत बढ्दै जाँदा उपचारमा समेत कठिनाई उत्पन्न हुनसक्ने सम्भावना देखिन्छ । उपचार गर्ने छुटै अत्याधुनिक आइसोलेस वार्ड पर्याप्त मात्रामा नहुँदा पनि उपचारमा चुनौती देखिनेमा दुईमत छैन । तर, स्वस्थाकर्मीहरूले व्यक्तिगत सरसफाईमा ध्यान दिने, रोग बारे पछिल्लो जानकारी राख्ने, उपचारको लागि छुटै आइसोलेस वार्ड हुने र पर्सनल प्रोटेक्टिभ सामग्री उपलब्ध भए यस रोगबाट बच्न धेरै सजिलो हुनेछ । ईबोला भाइरसको महामारीमा पनि यही उपाय नै सबैभन्दा प्रभावकारी भएको थियो । स्वास्थकर्मीहरू आफु सुरक्षित भएको महसुस भए मात्रै रोगको उपचार र नियन्त्रण सहज हुन्छ ।
लेखक डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।