नरदेवीबाट नयाँ जीवन पाउनेहरू



Download our app to get more features

साँघुरो गल्ली, वरपर घना बस्ती । त्यस बिचको सानो कम्पाउनभित्र तीन ओटा पुरानो र एउटा नयाँ भवन । तिनै नयाँ/पुराना भवनको कोठा कोठामा सेतो कोट लगाएर काँधमा स्टेथोस्कोप भिरेर बिरामी जाँचीरहेका चिकित्सक, नर्स, वैद्य कविराज, भेटिन्छन् । कोही दीर्घकालीन बाथबाट छुट्कारा पाउनका लागी चिकित्सालय आइपुगेका छन् त कोही  जन्डिस, पक्षघात, पाइल्स, फिस्टुला जस्ता रोगहरूले लामो समय थलिएर अन्तिम उपचारका लागी आइपुगेका छन् । यहाँ आइपुगेका अधिकांस बिरामीले सस्तो उपचार त पाएका छन् तर उपचार गर्ने संस्थाले भने सेवाग्राहीको मन जित्न सकेको छैन् । 

यो दृश्य हो सय बर्से इतिहास बोकेको नरदेवी आयुर्वेद चिकित्सालयको । स्थापनाका कालबाटै सय शय्याबाट सेवा सुरु गरेको यस चिकित्सालय सय वर्षपछि पनि त्यही हालतमा छ । तर, पनि पुरानो उपचार पद्धतीलाई विश्वास गर्नेहरू अझै पनि यही धाइरहेका छन् । र सफल उपचार पाएका पनि छन् । जसको ज्वलन्त उदाहरण काठमाडांै गुर्जुधाराकी ४० वर्षीया कान्छी श्रेष्ठ हुन् । काठमाडौका विभिन्न अस्पतालमा उपचारका लागि चार्हादा चार्हादै हैरान भएछि झिनो आशाका साथमा आयुर्वेद चिकित्सालय नरदेवी पुगेकी थिइन् । सहनै नसक्ने गरी टाउको दुखाईको पीडा भोगीरहेकी उनी नाम चलेका ठुला अस्पतालको आईसीयुमा बसेर समेत उपचार गरेकी थिइन । उपचारका क्रममा दुई लाख सकियो तर, रोग निको भएन । तर नरदेवीमा आएको  सात दिनमै हिडडुल गर्न सक्ने भएको श्रेष्ठ बताउँछिन । १५ दिनको बसाई पश्चात उनी राम्रोसँग हिडडुल गर्न सक्ने भएपछि डाक्टरको सल्लाहमा घर फर्किएकी हुन् । उनले घर फर्किर्दै गर्दै भनिन् ‘यो चिकित्सालय आएर नयाँ जीवन पाए ।’

यस्तै, काठमाडांै बानियाँटारकी ३२ वर्षीया सविता सिम्खडाले पनि नरदेवी आयुर्वेदिक चिकित्सालयबाट नयाँ जीवन पाएकी छिन । पाइल्सको उपचारमा काठमाडौंका नाम कमाएका अस्पताल पुगे पनि उनले पूर्ण उपचार कहि पनि पाइनन् । निराश भएर नरदेवी पुगेकी उनले क्षारशुत्र पद्धतीबाट उपचार गराइन् । चार दिनको उपचारपछि पुर्ण रुपमा निको भइ घर फर्केको उनको भनाइ छ । 

सविता जस्तै भक्तपुर ठिमीकी ३३ वर्षीया रमा अधिकारी पनि ढाड र टाउको दुखाईको उपचार गर्न सुने र जाने जति सबै अस्पताल पुगिन । तर निको भएन । नरदेवी चिकित्सालयमा आएको एक सातामै  दुखाइमा कमी भएको उनी बताउँछिन । उनले भनिन् ‘१८ दिनपछि त पुर्ण रुपले निको भए ।’ 

विभिन्न स्वास्थ्य समस्याको उपचारका लागि चारैतिर चाहारे पनि उपचार नभएर नरदेवी आउने संख्या दैनिक ३०० देखी ४०० सम्म हुन्छ । पेटको दुखाई अम्लपित, पक्षघात, बाथरोग, स्त्री रोग, आम्बा, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक आदिको उपचार गर्न धेरै आउने चिकित्सालयको तथ्यांङकले देखाउँछ ।

आयुर्वेद उपचार भन्ने वितिकै सामान्य जडिबुटिको प्रयोगबाट उपचारमा भन्ने सोच छ ? तर रोग पत्ता लगाउनका लागि यो चिकित्सालयले अन्य ठुला अस्पतालले जस्तंै आधुनिक उपकरण, एक्सरे, भिडियो एक्सरे अत्याधुनिक ल्याब आदिको प्रयोग गरेका छन् । तिनै अत्याधुनिक उपकरण प्रयोग गरी रोगको निदान गरेर मात्र उपचार सुरु गर्छन् ।  

उपचार गर्ने पद्धति भने पुरानै छ । परापूर्व कालदेखि चल्दै आएको आयुर्वेद उपचार पद्धति नाडी चिकित्सा, काय चिकित्सा, पंचकर्म सेवा, क्षारशुत्रबाट उपचार गरिन्छ । तिनीहरूलाई समयसापेक्ष विकास पनि गरिदै आएको चिकित्सालयका कार्यकारी निर्देशक डाक्टर रामदेव यादव बताउँछन् । आयुर्वेदिक पद्धतिलाई विकास गरी प्रसूति, स्त्री रोग, बाथ रोग जस्ता समस्या समाधान पनि प्रयोग हँुदै आएको छ । क्याबिनसहित एक सय शय्यामा सञ्चालन यस चिकित्सालयमा एक सय २० जनाको दरबन्दी भए पनि ८० जना मात्रै कार्यरत छन् ।

चुनौती
आयूर्वेदीक उपचार सम्बन्धी राज्यको स्पस्ट नीति नहुँदा नरदेवी चिकित्सालय मारमा परेको छ । देशकै एक मात्र केन्द्रीय आयुर्वेदिका चिकित्सालय भएर पनि पर्याप्त औषधि नहुनु, बिरामीको अभाव, जनमानसमा विश्वास नहुनु सुखद् कुरा होइन । केन्द्रीय अस्पतालमा समेत प्रर्याप्त विशेषज्ञ चिकित्सक नहुनुले सरकारको दृष्टिकोण प्रस्ट हुन्छ । केन्द्रीय चिकित्सालय पुग्ने यातायात सुविधा नहुनुले पनि सर्वसाधारणलाई आयुर्वेदिक चिकित्सालयको बारेमा जानकारी नभएको चिकित्सक बताउँछन् ।

उपलब्ध सेवा
आयुर्वेदिक चिकित्सा पद्धतिका विभिन्न आयाम छन् । जसमा पञ्चकर्म सेवा, क्षारशुत्र सेवा, काय चिकित्सा, अकुपन्चर सेवा हुन् । यसमध्ये नरदेवी चिकित्सालयले सल्य चिकित्सा, साल्यकय चिकित्सा, बाल रोग सेवा दिइरहेको छन् ।
संशोधन चिकित्सा अर्थात शरीर भित्रका खराबीलाई बाहिर निकाल्ने पंचकर्म विधि र काय चिकित्सा जुन औषधिको सेवनबाट रोगको निको पार्ने विधि सैद्वान्तिक रुप मार्फत व्यवहारमा निकै सफल भएको छ । यस्तै अकुपन्चर पद्धति पनि निकै प्रभावकारी ठहरिएको छ । आयुर्वेदमा  काय चिकित्सा शल्य, शालाक्य, कौमारभृतय आदि चिकित्साहरु जटिल खालका समस्याहरु समाधान गरी निराशामय जीवन लाई चम्किलो बनाउँन सफल भएको छ । जटिल किसिमका जन्डिस  छालाका रोग, पेट रोग, स्त्रीरोग, सम्बन्धी समस्या औषधि सेवनबाट निको पार्नु ठुलो कुरा हो ।

समस्या :
राज्यले आयुर्वेद र एलोपेथी उपचारमा फरक दृष्टिकोण राखेको गुनासो चिकित्सकको छ । सरकारले आयुर्वेदलाई बजेट कमी छुट्टाउँदा थप समस्या भएको चिकित्सकहरूको भनाई छ ।
नरदेवी चिकित्सालय जानका लागी कुनै यातायातको सुविधा नहुदा कती मानिसलाई त आयुर्वेद अस्पताल नरदेवी छ भन्ने कुराको जानकारी समेत छैन । विशेषज्ञता हासिल गरेका डाक्टरनै छैनन् । चिकित्सालयको ११आंै तह, ९औं तहका डाक्टरका पद वर्षौदेखि रिक्त रहेको चिकित्सक जया सत्याल बताउँछिन् ।

नरदेवी चिकित्सालयमा चौबिसै घण्टा उपचार सेवाको व्यवस्था गर्न चिकित्सकहरूले स्वास्थ्य मन्त्रालयसँग इमर्जेन्सी सेवाको व्यवस्था गर्न माग गरेका छन् । इमर्जेन्सी सेवा अभावका कारण कतिपय बिरामीलाई वीर अस्पताल पठाउने गरेको चिकित्सकको गुनासो छ ।

चिकित्सालयमा दीर्घ रोगको पनि उपचार हुने गर्छ । यस्ता रोग उपचारमा २–३ महिनासम्म लाग्न सक्छ । उपचारका लागि चिकित्सालयमै बस्नु पर्ने हुन्छ । जसले गर्दा घरका मानिसमा बिरामीप्रति चासो कम हुने गर्छ । यस्ता बिरामीको लागि पुनःस्थापना केन्द्रको स्थापना गर्न सके राम्रो हुने भनाई कविराज रमेश पनेरुको छ ।

 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)
 

Last modified on 2018-03-07 15:58:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts