साझाको अपाङ्गतामैत्री बस : अस्पतालदेखि अस्पतालसम्म



Download our app to get more features

ललितपुर, ८ फागुन । लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म साझा यातायातको आपाङ्मैत्री बस गुड्ने भएको छ । 

बस चढ्न र ओर्लन होचो भ¥याङ भएको सो बसमा अपाङ्गता भएका व्यक्तिलाई अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि सहज हुने जनाइएको छ । 
साझा यातायातले गत साता नै होचो (सेमी लो फ्लोर) भएको अपांगमैन्त्री बस भित्र्याइसकेको जनाएको छ । यो बस आगामी महिनाबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको र अहिले दर्ताको प्रक्रियामा रहेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । उनले भने, ‘दर्ता सकिएपछि रुटको काम हुनेछ ।’ 

साझाले टेडरमार्फत करिब ३५ लाखमा भित्र्याएको यो बसमा ४१ जनासम्म अटाउने छन् । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियतमा सो बस उपलब्ध गराएको र योे बस अरु बसको तुलनामा धेरै महँगो पर्ने उनले जानकारी दिए । 
रुट छान्दा लक्षित वर्गलाई सजिलो पर्ने र बस पनि गुडाउन सकिने अवस्थालाई ध्यान दिइएको छ । होचो बस हुनाले खाल्डाखुल्डी सडकमा गुड्न नसक्ने तर लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा राम्रो भएको कामु प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । 
बसमा एउटा मात्रै खुड्किलो छ । जसले गर्दा अपाङ्गता भएका व्यक्ति सजिलै उक्लन–ओर्लन सक्छन् र खुडकिलो पनि फोल्ड गर्न मिल्छ । ह्विलचेयर पनि सजिलै उकाल्न र ओर्लन सक्ने साझाले जनाएको छ । 

साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने उनले बताए । ‘क’ र ‘ख’ वर्गका अपाङ्ग र पाँच वर्षका बालबालिकाले निःशुल्क रुपमा यात्रा गर्न पाउँछन् । उनले भने, ‘महँगोमा खरिद गरेको भए पनि बसमा लक्षित वर्गमध्ये निःशुल्क चढ्ने यात्रु धेरै छन् ।’ रासस

तस्विरः कनकमणि दिक्षितको ट्वीटबाट

Last modified on 2018-02-20 16:08:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts