मौसम परिर्वतनका बेला आँखामा बढी समस्या



Download our app to get more features

मानव शरीरको संवेदनशील अंग मध्ये एक हो आँखा । आँखाले मानिसको सुन्दरता दर्शाउनुका साथै जीवनलाई सहज बनाउन मद्दत गर्छ । यसकारण आँखाको स्याहार राम्रोसँग नगरे जीवनमा असहज स्थिति आउन सक्छ । बदलिँदो मौसम र प्रदूषणले आँखा सम्बन्धी विभिन्न समस्या निम्तिन सक्छ । मौसम अनुसार आँखामा फरक फरक समस्या देखिने भएकाले सोही अनुसार सचेत रहनु पर्छ ।

मोतिविन्दु आँखामा हुने एक प्रकारको रोग हो । मोतिविन्दु प्रायः मानिसको उमेर ५० कटेपछि हुन्छ । तर, अपवातका रुपमा अन्य उमेर समूहका मानिसमा पनि देखिन सक्छ । मोतिविन्दु हुँदा आँखाको प्रेसर सामान्य भएपनि आँखाको लेन्सले धमिलो देख्न थाल्छ । एक वाक्यमा भन्ने हो भने आँखाको लेन्स धमिलो हुनुलाई नै मोतिविन्दु भनिन्छ । यो समस्या भएपछि आँखाको दृष्टिपटल सम्म प्रकाश जान पाउँदैन  र बिस्तारै मानिसले आँखा देख्न सक्दैन । मोतिविन्दु हुनुको प्रमुख कारण अहिलेसम्म पत्ता लागेको छैन ।

मोतिविन्दुको एक मात्रै उपचार भनेको शल्यक्रिया नै हो । किनकी आँखाको लेन्सको पारदर्शीतालाई पुर्नस्थापित गर्ने कुनै पनि औषधि छैन र चश्माले पनि कुनै सुधार गर्दैन । चश्माले प्रकाशका किरणलाई आँखाबाट पार गराउँन सक्दैन । त्यसैले शल्यक्रियाबाट मोतिविन्दुलाई हटाउनु एक मात्रै उपचार विकल्प हो ।

जलविन्दु
आँखाको गेडीभित्र मध्ये भागमा एक प्रकारको सफा पानी जस्तो तरल पदार्थ (एकयुस ह्युमर) उत्पन्न भइरहन्छ । यदि बढी मात्रामा एकयुस उत्पादन भयो वा प्रवाह तथा निकास मार्गमा कुनै अवरोध भए आँखाभित्रै थुनिन्छ । जसले आँखामा प्रेसर बढेर जानुलाई जलविन्दु भनिन्छ । जलविन्दु भएमा आँखा भित्रको चापमा वृद्धि भई दृष्टि नशालाई नराम्रो असर पर्छ । उपचारमा ढिला भए यो रोगले दृष्टि क्षमतालाई उपचारै नलाग्ने गरी नष्ट गर्छ । जलविन्दु लागेको बच्चाको आँखाको नानी ठूलो भएर जान्छ । 

कतिपयमा जलविन्दु वंशाणुगत पनि हुनसक्छ । परिवारमा कसैलाई जलविन्दु भए बच्चालाई पनि हुनसक्छ । जन्मजात शिशुमा पनि जलविन्दु हुनसक्छ । जलविन्दु ४० वर्ष उमेर भन्दा माथिकालाई, मधुमेह वा उच्च रक्तचाप भएकालाई र आँखामा चोट लागेमा हुने सम्भावना बढी हुन्छ । जलविन्दु भए नभएको सामान्य मानिसले थाहा पाउँदैनन् । किनकी यसको लक्षणहरू अन्य रोगका लक्षणसँग पनि मिल्दोजुल्दो हुन्छन् । 

मधुमेहका कारण डाइबिटिक रेटिनोपेथीले अहिले प्रमुख समस्याको रुप लिइरहेको छ । मधुमेहका कारण हुने डाइबिटिक रेटिनोपेथीले मानिसको आँखाको साथै मिर्गौला, मुटु र मस्तिष्कलाई प्रभाव पार्छ । स्टेरोइड नामक औषधि खाने व्यक्तिले नियमित ६–६ महिनामा आँखाको उपचार गराउनु पर्छ । स्टेरोेइड नामक औषधि दम, बाथ रोग, छाला रोग भएकाले प्रयोग गर्छन । 

मौसम परिर्वतनका बेला आँखामा बढी समस्या
मौसम परिवर्तनसँगै आँखाको समस्याहरू पनि फरक फरक हुने गरेका छन् । गर्मी मौसममा हुने आँखाको समस्या र जाडो मौसममा हुने आँखाको समस्या फरक फरक हुन्छन् ।

जाडो मौसममा विशेष गरी आँखा सुख्खा हुने समस्या बढी हुन्छ । जाडो मौसममा मानिसहरूले पानी कम खान्छन् । जसले गर्दा शरीरमा पानीको मात्रा कम हुँदै जान्छ । साथै आँखामा पनि पानीको मात्रा कम हुँदै जान्छ र आँखा सुख्खा बनाउँछ । आँखामा पानीको मात्रा कम भयो भन्दै पानी छ्याप्नु हुँदैन । आँखामा पानी छ्याप्नु खतरनाक हुन्छ । आँखामा समस्या देखिए चिकित्सकसँग परामर्श गरेर मात्रै औषधि हाल्नु पर्छ । 

बढ्दो वायू प्रदुषणका कारण इरिटेशन अर्थात् आँखा चिलाउने, झिम्काउने, पोल्ने, दुख्ने, रातो हुने, कस्मेटिक समस्या अर्थात् आँखा ठूलो सानो हुने र दृष्टि कम अर्थात् आँखा नदेख्ने, बिस्तारै आँखाको दृष्टि कम हुँदै जाने र अकस्मात आँखा नदेख्ने समस्या हुन्छ । यसका साथै आँखामा चोटपटक लागेर, आँखा पाक्ने, जन्मजात आँखा नदेख्ने, हाइपरटेन्सनले गर्दा पनि आँखामा समस्या हुने गरेको छ ।

ध्यान दिनुपर्ने कुरा
—आँखा रातो भएमा, पाकेमा वा दुखेमा आफूखुशी पसलमा गएर औषधि प्रयोग गर्नु हुँदैन । आँखामा कुनै समस्या भए त्यसलाई बेवास्ता नगरी सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
—जलविन्दु भएका परिवारका व्यक्तिले नियमित आँखा जाँच गराउनुपर्छ ।
—रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, बाथ भएका मानिसले पनि नियमित आँखा जाँच गराउनुपर्छ ।

प्रस्तुती :स्नेहा कश्यप

Last modified on 2018-02-18 13:37:52

1 Comments

  1. बिसेसगरी आँखाको सरसफाई, धुलो धुवा बाट जोगिने, जुन पायो त्यो औसधिको प्रयोग नगर्ने, आँखामा समस्या देखिना साथ् आँखा उपचार केन्द्र तथा अस्पतालमा गएर जांच गराउने हो भने धेरै आँखा सम्बन्धि समस्या बाट बच्न साकिन्छ. आखा स्वास्थ्य का लागि यहाँ जानुहोस www.eyehealthnepal.com


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts