स्वास्थ्यकर्मीको पारिश्रमिक २५० प्रतिशतसम्म वृद्धि गरिने
दुर्गममा काम गर्नेलाई बढि प्रोत्साहन

काठमाडौं, ३ फागुन । सरकारले स्वास्थ्यकर्मीको पारिश्रमीक भारी मात्रामा वृद्वि गर्न लागेको छ ।
निजामती कर्मचारीको जस्तो सेवा सुविधाका आधारमा स्वास्थ्यकर्मीले काम गर्न नसक्ने भन्दै सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक ५० देखि २ सय ५० प्रतिशतसम्मले वृद्धि गर्न लागेको हो ।स्वास्थ्य मन्त्रालयद्धारा गठित उपसमितिले सुगममा ५० र दुर्गममा काम गर्नेको हकमा २ सय ५० प्रतिशत सम्म पारिश्रमीक वृद्धि गर्न सिफारीस गरेको छ । चिकित्सकहरुले गरेको ११ दिन लामो आन्दोलनबाट प्राप्त उपलब्धि स्वरुप चिकित्सकहरुले यसलाई तत्काल लागू गर्न पनि स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् ।
चिकित्सकका हक हितका विषयमा निर्णय लिन भन्दै २०७४ असोज ८ गते सरकारले स्वास्थ्य सचिव पुष्पा चौधरीको संयोजकत्वमा मुल समिति गठन गरेको थियो । सो समितिले बिभिन्न विषयमा निर्णय लिन चार उपसमिति गठन गरेको थियो । चार उपसमिति मध्ये चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक निर्धारणका बिषयमा स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठको नेतृत्वमा गठित उप समितिले चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक निर्धारण गरेको हो ।
उप समिति सदस्य डा. प्रकाश बुढाथोकीका अनुसार विभिन्न शीर्षकमा गरि ५० देखि २५० प्रतिशत सम्म पारिश्रमीक वृद्धि गर्न भनिएको छ ।
दुर्गममा सेवा दिनेलाई बढी प्रोत्साहन
समितिले दुर्गममा गएर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको हकमा सत प्रतिशत पारिश्रमिक थप गर्न प्रस्ताव गरेका छन् । स्वास्थ्यकर्मीहरु दुर्गम भन्दा सुगम बढी केन्द्रित हुने गरेका छन् बुढाथोकीले भने, दुर्गमममा बसेर स्वास्थ्य सेवा दिनेलाई आकर्षित गर्नका लागि पनि सत प्रतिशत पारिश्रमीकको व्यवस्था गरिएको हो ।’ चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमीक निर्धारण समितिले सिफारीस गरेको प्रस्ताव पास भएको खण्डमा दुर्गममा काम गर्ने चौथो दर्जामा कार्यरत स्वास्थ्यकर्मीको प्रति महिनाको तलव ७७ हजार ५ सय ९५ पुग्ने छ । हाल चौथो दर्जाका स्वास्थ्यकर्मीले २२ हजार १ सय ७० रुपैयाँ तलव बुझ्दै आएका छन् ।
यस्तो छ सिफारीस विषय
नेपाल चिकित्सक संघका सह कोषाध्यक्ष समेत रहेका डा. बुढाथोकीले भने, चौथो तह देखि १२ औं तहसम्मका स्वास्थ्य कर्मीहरुलाई आधारभूत तलवमा प्राविधिक भत्ता २५ प्रतिशत, विशेष जोखिम भत्ता २५ प्रतिशत, दुर्गम क्षेत्र आकर्षण भत्ता सत प्रतिशत बृद्धि गर्न सिफारीस गरेको छ ।’ तलवी अध्ययन विदा सरकाले दिनुपर्ने छ । हाल बेतलवी अध्ययन विदा दिदै आएको छ उनले भने । समितिले रात्रिकालीन डिउटी गर्ने ४ देखि ६ तहसम्मका कर्मचारीलाई ७ सय, ७ औं र ८ औं तहका कर्मीचारीलाई १ हजार र माथिका स्वास्थ्यकर्मीलाई १५ सय प्रतिरात दिनु पर्ने प्रस्ताव गरेका छन् । बार्षिक १५ दिन अनिवार्य तलवी बिदा र शिक्षण कार्यमा संलग्न भएका स्वास्थ्यकर्मीलाई प्रति क्लास भत्ताको व्यवस्था गर्न पनि सिफारीस गरिएको छ ।
सरकारी सेवामा आवद्ध स्वास्थ्यकर्मी
देशमा जम्मा ३१ हजार ६ सय २७ स्वास्थ्यकर्मी सरकारी सेवामा आवद्ध छन् । डा. बुढाथोकीका अनुसार छैठौं दर्जा सम्मका ८० प्रतिशत स्वास्थ्यकर्मी दुर्गममा रहेका छन् । ९ र १० औं तहका २० प्रतिशत मात्रै दुर्गममा छन् । बाँकी ११ र १२ औं तहका स्वास्थ्य कर्मी दुर्गममा खटाईएको छैन । सुगममा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मी लाई ५० प्रतिशत पारिश्रमीक बृद्धि र दुर्गममा गए २५० प्रतिशत बृद्धि गर्न सिफारीस गरिएको हो ।
यस्तो छ प्रस्तावित तलव स्केल :
Very good choice
Good job