शरीरमा रगत धेरै भए पोलीसाइथिमिया 



Download our app to get more features

शरीरमा रगतको मात्रा सामान्य भन्दा बढी भयो भने मानिसले त्यसलाई वेवास्ता गरेको देखिन्छ । सामान्यतया पुरुषमा रगतको मात्रा १७–१८ र महिलामा १५–१६ gm/dl (ग्राम पर डेसिलिटर) हुन्छ । तर, यो रगत सिमा भन्दा बाहिर गयो भने शरीरको लागि हानिकारक हुनसक्छ । शरीरमा रगतको मात्रा बढी भयो भने पोलीसाइथिमिया नामक रोग लागेको बुझ्नु पर्छ । 

जसरी शरीरमा रगतको मात्रा ११ gm/dl भन्दा कम भयो भने त्यसलाई रक्तअल्पत्ता भनिन्छ त्यसरी नै शरीरमा रगतको मात्रा १८ gm/dl भन्दा बढी भयो भने त्यसलाई पोलिसाइथिमिया भनिन्छ ।

बोनम्यारोमा रगत बन्ने विधिमा गडबडी भयो अर्थात् रगतमा हेमोग्लोबिन बढ्यो भने पोलीसाइथिमिया लाग्न सक्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढ्नुलाई प्राइमरी पोलिसाइथिमिया भनिन्छ भने कुनै रोगसँग यसको सम्बन्ध भयो भने त्यसलाई सेकेन्डरी पोलिसाइथिमिया भनिन्छ । 

पोलीसाइथिमिया भयो भने भिस्कोसिटी बढ्छ । भिस्कोसिटी भनेको रगतको तरल अवस्थामा कमी ल्याउनु हो । अर्थात् जुन मात्रामा रगत तरल हुनुपर्ने हो त्यसमा कमी ल्याउँछ वा रगत बाक्लो बनाउँछ । जसले गर्दा रगत नलीहरूमा रगत जम्न थाल्छ । रगतको नलीमा रगत जम्दा हृदयघात हुने, मिर्गौलामा समस्या हुने जस्ता अन्य समस्या उत्पन्न हुन सक्छ ।

त्यतिमात्र नभई जिनमा पनि गडबडी भयो भने पोलीसाइथिमिया हुन सक्छ । मिर्गौला वा कलेजोको क्यान्सर, लामो समयसम्म चोट लागेको भए, लामो समयदेखि धुम्रपान गर्ने, लामो समयसम्म सुरुङमा बस्ने र अत्याधिक प्रदूषण भएको स्थानमा बस्नाले पोलीसाइथिमिया हुन सक्ने सम्भावना बढी हुन्छ ।

लक्षण

  • टाउको दुख्ने
  • टाउको भारी हुने 
  • नाकबाट रगत आउने
  • दाँतबाट रगत आउने
  • छाला रातो हुने 
  • हात र पैताला रातो हुने 
  • थकान महसुुस हुने 

यस्ता लक्षण देखियो भने तुरुन्त रक्तरोग विशेषज्ञ अर्थात् हेमाटोलोजिस्टसँग परामर्श गर्नुपर्छ । शुरूमा यसको उपचार गर्ने भनेको शरीरमा रगतको मात्रा पत्ता लगाउनु हो । त्यसपछि मात्र उपचारको विधि शुरू गरिन्छ ।

यसको उपचार भनेको फ्लोबोटोमी विधि र अर्को औषधि दिनु हो । फ्लेबोटोमी विधिमा शरीरमा रहेका रगत निकालेर फाल्ने काम गरिन्छ । एकातिरबाट रगत निकाल्ने र अर्कोतिर उत्तिकै मात्रामा स्लाइन दिनुपर्छ । शरीरलाई आवश्यक रगत पुगेपछि स्लाइन बन्द गर्नुपर्छ ।
यसैगरी औषधि खुवाएर पनि बिरामीको शरीरमा रगतको मात्रा कम गर्न सकिन्छ । हाइड्रोक्सी युरिया नामक औषधिले पनि यो रोगको उपचार गर्न सकिन्छ । तर, सामान्य समस्या भएको अवस्थामा मात्र औषधि सेवन गर्नुपर्छ ।

प्रस्तुति : स्नेहा कश्यप
 

Last modified on 2018-02-13 07:34:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts