२८ अस्पताललाई फार्मेसी संचालन गर्न साढे चार करोड
काठमाडौं, २१ माघ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा फार्मेसी संचालनका लागि साढे चार करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले आफ्नै फार्मेसी चलाउन गरेको निर्णय अनुसार यस वर्ष प्रतिष्ठान, केन्द्रिय अस्पताल, क्षेत्रिय अस्पताल, अञ्चल अस्पतालहरुमा विनियोजित रकम मध्ये फार्मेसी संचालन गर्न अनुदान स्वरुप रु. चार करोड ३५ लाख रुपैया विनियोजन भएको हो ।
बिरामीहरु निजी फार्मेसीले औषधिमा ठगिने गरेको भन्दै सरकारी अस्पतालले आफ्नै फार्मेसी संचालन गर्नु पर्ने बाध्यकारी व्यवस्था लागू गरेको थियो । स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेका अनुसार अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ वमोजिम सवै सरकारी अस्पतालले आफ्नै फार्मेसी सेवा संचालन गर्नुपर्ने भएकाले अनुदान रकम दिन लागिएको बताए ।
मन्त्रालयले गत वर्ष फार्मेसी संचालनका लागि अनुदान पाएका अस्पतालहरुलाई यस वर्ष पनि दिने निर्णय गरेको छ । गत वर्ष २३ वटा स्वास्थ्य संस्थालाई फार्मेसी संचालनका लागि अनुदान रकम दिएको मन्त्रालयले यस आर्थिक बर्षमा २८ वटालाई दिने निर्णय गरेको हो ।
सरकारी फार्मेसीमा आवश्यक औषधि पाईदैन
बिरामीलाई सहुलियत हुने भन्दै सरकारी अस्पतालमा खोलेका फार्मेसीमा सामान्य औषधि पनि नपाए पछि विरामीहरु निरास हुने गरेका छन् । स्वास्थ्य मन्त्रालयले आफ्नै फार्मेसी संचालनमा ल्याई विरामीलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने वताउदै आएपनि सिटामोल सम्म निजी फार्मेसीमा गएर किन्नु पर्ने बाध्यता रहेको टेकु अस्पतालमा उपचार गराउन पुगेका राजन भण्डारीले बताए ।
सरकारले सस्तोमा औषधि उपलब्ध गराउने भनेर आफ्नै अस्पतालको फार्मेसी खोलेको छ तर, सामान्य औषधि समेत हामीले बाहिर फार्मेसीमा महंगो मुल्य तिरेर किन्नु परेको छ भण्डारीले भने ।
यता वीर अस्पतालमा उपचारका लागि पुगेका सिता सुवेदीले पनि आफुले अस्पतालको फार्मेसीमा ओैषधि नपाएको गुनासो गरिन । चिकित्सकहरुले प्रेस्कीप्सनमा लेखि दिएका ९० प्रतिशत औषधि बाहिर फार्मेसीमा किन्नु परेको उनले बताईन ।
यता सरकारले भने धमाधम सरकारी फार्मेसी संचालन गर्न भन्दै करोडौं रुपैयाँ वितरण गर्दै आएको छ ।
यि हुन फार्मेसी संचालनका लागि रकम पाउने अस्पताल
♦ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल ४० लाख
♦ कान्ति बाल अस्पताल १५ लाख
♦ परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल १५ लाख
♦ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल १५ लाख
♦ मानसिक अस्पताल १५ लाख
♦ मानव अंग प्रत्यारोपण केन्द्र १५ लाख
♦ राष्ट्रिय ट्रमा सेन्टर १५ लाख
♦ वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ४० लाख
♦ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ३० लाख
♦ राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिान १५ लाख
♦ पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिान १५ लाख
♦ जि.पी. कोइराला स्वास प्रश्वास केन्द्र २० लाख
♦ सुशिल कोईराला क्यान्सर अस्पताल २० लाख
♦ मध्य पश्चिमाञ्चल क्षेत्रिय अस्पताल १५ लाख
♦ नारायणी उप क्षेत्रिय अस्पताल १५ लाख
♦ डडेल्धुरा उप क्षेत्रिय अस्पताल १५ लाख
♦ भरतपुर अस्पताल १० लाख
♦ भक्तपुर अस्पताल १० लाख
♦ मेची अञ्चल अस्पताल १० लाख
♦ कोशी अञ्चल अस्पताल १० लाख
♦ गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल १० लाख
♦ जनकपुर अञ्चल अस्पताल १० लाख
♦ लुम्बिनी अञ्चल अस्पताल १० लाख
♦ राप्ती अञ्चल अस्पताल १० लाख
♦ धौवलागिरी अञ्चल अस्पताल १० लाख
♦ भेरी अञ्चल अस्पताल १० लाख
♦ सेती अञ्चल अस्पताल १० लाख
♦ महाकाली अञ्चल अस्पताल १० लाख
जम्मा चार करोड ३५ लाख
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>