डा. भोला रिजालले पुस्तकमार्फत दिए डाक्टरको परिभाषा



Download our app to get more features

काठमाडौं, ९ साउन । डाक्टर भोला रिजालद्वारा लिखित पुस्तक 'सेतो कोट 'हालै लोकापर्ण भएको छ । डा. रिजालले सो पुस्तकमा आफ्ना विचार र भोगाईलाई समेटेका छन् । १६ वटा अध्यायमा विभाजित उक्त 'सेतो कोट'मा डा. रिजालले चिकित्सक अथवा डाक्टरको परिभाषा दिएका छन् । तल, पुस्तकमा समावेश डाक्टर भन्ने अध्याय साभार गरिएको छ । 

डाक्टर । बडो प्यारो अंग्रेजी शब्द छ यो । यसलाई बुझाउने नेपाली शब्द हो-चिकित्सक । तर बोलीचालीमा नेपाली शब्द चिकित्सक थोरैले मात्र प्रयोग गर्छन । कतिले त चिकित्सक शब्द नै बुझ्दैनन् । नेपालीमै पनि 'डाक्टर' शब्दबाट जुन भाग व्यक्त हुन्छ, त्यो चिकित्सकबाट हुँदैन । 

हुन त आजकाल हाम्रो नेपाली शब्दकोश पाहुना शब्दले भरिँदै छ । हामी आफ्नो जिब्रोलाई जुन शब्द सजिलो लाग्छ, त्यसैलाई खुसुक्क नेपाली गोत्र दिइहाल्छौं । 'रेडियो', 'फोन', 'मोबाइल', 'टाइम' जस्ता शब्द हामी सोझै अंग्रेजी नै प्रयोग गर्छौं । अबका नयाँ पुस्तालाई ती शब्द नेपाली होइनन् भन्नेसम्म पनि लाग्नसक्छ । 

नेपालीमा धेरै प्रयोग हुने अंग्रेजी शब्दमध्ये सायद डाक्टर पनि एउटा हो । कोही न कोही बिरामी नपरेको परिवार हुन्न । रोगीबिनाको टोलछिमेक भेटिन्न । त्यसैले बिरामी र उसका आफन्तले त डाक्टरलाई सम्झिहाल्छन् । यो शब्द जति चर्चित छ । त्यति नै महत्वपूर्ण र संवेशनशील पनि । कतिले त डाक्टरलाई साक्षात भगवानकै एउटा रुपसमेत मान्छन् । 

शब्द आफैमा केही होइन, जबसम्म यसले अर्थबोध गराउन थाल्दैन । शब्दबाट अर्थ निकालेर फ्याँकिदिने हो भने ध्वनी मात्र बाँकी रहन्छ जुन प्राणबिनाको शरीर (शव) जस्तै हुन्छ । तर, जब हामी अर्थ अनुभूत गर्छौं अनि बल्ल शब्दको शक्ति थाहा हुन्छ । कुनै शब्द प्रेम, सम्मान, दया र करुणाको खानी बन्छ त कुनै रिस, राग र द्वेषको स्रोत भइदिन्छ । 'मन्दिर', 'गुम्बा', 'चर्च', 'मस्जिद', 'वधशाला' र 'वेश्यालय' सबै शब्द नै हुन् । तर कुनै शब्दप्रति हामी कत्रो आस्था राख्छौं भने कुनै शब्द नै हुन् । तर कुनै शब्दप्रति हामी सबै कत्रो आस्था राख्छौं भने कुनै शब्द सुन्नेबित्तिकै नाक खुम्च्याउँछौं । शब्दको चमत्कार नै यही हो । शब्द नै भगवान र शब्द नै भक्त हो । आशीर्वाद पनि शब्द श्राप पनि शब्द नै हो । शब्दको शक्ति यति धेरै हुन्छ कि, सारा विश्व ब्रम्हाण्ड नै यसमा समेटिन सक्छ । त्यसैले पूर्वीय परम्परामा शब्दलाई नै ब्रह्म अर्थात शब्दब्रह्म भनिएको हो । यति संसारमा शब्द ज्योति हुँदैनथियो भने यो सारा संसार अन्धकारमय हुने थियो ।
 
भाषा वा शब्दका अनेक उपयोगिता हुन्छन् । डाक्टर शब्द वा शब्दका अनेक उपयोगिता हुन्छन् । डाक्टर शब्द संसूचन र शिष्टता प्रदर्शनदेखि लिएर कढट वा भय निवारणसम्मका लागि अनेक उपयोगिता समेटिएको शब्द हो । प्रत्येक शब्दको अपार सामथ्य हुने भएकाले हामी प्रत्येक जुन पेसामा भए पनि आफूले अपनाएको पेसालाई जनाउने शब्दको अर्थ खोज्नु र बुझ्नु जरुरी छ । यसो गर्नाले सम्बन्धित पेसाको अझ राम्ररी दायित्वबोध हुन्छ । त्यसको गरिमाले हामीलाई आफूले अँगालेको कर्ममा आफै प्रतिबद्ध भएर लाग्न थप उर्जा प्रदान गर्छ । हौसला दिन्छ । जाँगर बढाउँछ । अनि निरन्तर लागिरहने बनाउँछ । र, सफल हुनमा सहयोग पुर्याउँछ । 
डाक्टर जीवनसँग जोडिएको पेसा हो । जीवन मरणको सवालसँग जोडिएकैले यो पेसा अति संवेदनशील र सम्मानित पनि भएको हो । सबै चिकित्सालाई साझा र समान रुपमा डाक्टर भन्ने गरिए पनि विशेषज्ञता र दक्षताका आधारमा उनीहरुको अलगअलग पहिचा हुन्छ । जस्तो कि, डेन्टिस्ट, फिजिसियन, सर्जन आदि । विधागत रुपमा अलगअलग दक्षता र पहिचान भएपनि पनि समग्रमा चिकित्सा विज्ञानको निश्चित डिग्री लिएका सबै व्यक्तिलाई डाक्टर भन्ने गरिएको छ । 

'डाक्टर' शब्दको उत्पत्ति ल्याटिन भाषबाट भएको हो । ल्याटिन क्रिया docere  बाट अहिले प्रचनलमा रहेको शब्द डाक्टर बनेको हो जसको अर्थ सिकाउनु (To teach) भन्ने हुन्छ । चर्चको सुरुवातसँगै त्यहाँका धर्म गुरुलाई विद्धान व्यक्ति वा जानको बुझेका भन्ने सम्मानसूचक अर्थबोध गराउन यो शब्दको प्रयोग हुनथाल्यो । त्यतिखेर यस शब्दको अर्थ लगभग अहिलेको शिक्षक शब्दको अर्थजस्तै थियो । 

१४ औं शताब्दिीतिर युरोपमा विश्वविद्यालयको स्थापना भएपछि निश्चित शैक्षिक तह पूरा गरेका विद्धानलाई मात्र डाक्टर भन्न थालियो । सन् १२२० मा इटालीमा संसारकै पहिलो मेडिकल स्कुल स्थापना भएसँगै चिकित्सा विज्ञानका जग बस्यो । समयको अन्तरालसँगै मेडिकल कलेजहरु बढ्दै गए । बिस्तारै मेडिकल कलेजबाट डिग्री लिएकाहरुलाई डाक्टर भनिन थालियो । अनि मेडिकल र गैरमेडिकल दुवैतर्फ यो शब्द प्रयोग हुँदै गयो । अहिले पनि डाक्टर शब्द चिकित्सकका अलावा विद्यावारिधी गरेका व्यक्तिलाई सम्बोधन गर्नसमेत प्रयोग गरिन्छ । 

यसरी जुन पेसालाई आज हामीले अँगालिरहेका छौं, त्यससलाई जनाउने डाक्टर शब्दमा शिक्षक, धर्मगुरु, र चिकित्सक शब्दले जनाउने अर्थहरु समिश्रित छ । यसको मतलब एउटा डाक्टर चिकित्सकका रुपमा त छँदैछ, त्यसबाहेक उसले अन्य भूमिकाहरु पनि निर्वाह गर्नुपर्छ । जस्तो कि, शिक्षकका रुपमा डाक्टरले बिरामी र उसका आफन्लाई रोग, उपचार र औषधि आदिका बारेमा राम्ररी सम्झाउन, बुझाउन र सिकाउन सक्नुपर्छ । रोग लागिसकेपछि उपचार गर्ने मात्र नभई सन्तुलित आहार विहार र स्वस्थ जीवनशैली सिकाउने दायित्व पनि डाक्टरकै हो । 

डाक्टरको भूमिका एक धर्मगुरुको जस्तो पनि हुनुपर्छ । उसले सँधै आफू सवस्थ रहने र अरुलाई पनि स्वस्थ देख्न चाहने पवित्र भावना राख्नुपर्छ । बढी रोगी आइदिए धेरै कमाइ हुन्थ्यो भन्ने सोचाई कदापी राख्नु  हुँदैन । हाम्रो मूल आदर्श हुनुपर्छ सबै सुखी रहून्, कोही रोगी नहोउन् । कसैले कुभलो नचिताओस् र कोही दुःखी नहोऊन् । वैदिक परम्पारले हामीलाई देखाएको बाटो पनि यही हो । 

सबै भवन्तु सुखिनः सर्वेसन्तु निरामयाः 
सर्वे भद्राणि पश्यन्तुः मा कश्चिददुःख भाग्दजन्ः । 

डाक्टरले आफ्नो पेशागत दक्षताका क्षेत्रमा त निश्चित विद्धता प्राप्त गरेको हुन्छ , नै त्यसबाहेक व्यक्ति, परिवार, समाज र राष्ट्रका बारेमा पनि उसित प्रस्ट अवधारणा हुनुपर्छ । ऊ समाजमा एउटा विद्धानका रुपमा समेत सुपरिचित हुनुपर्छ । उनीहरुले आफ्ना अनुभव लेखरचना वा कृतिहरुमार्फत दिइरहेका छन् । आफ्नो पेसाभन्दा परको ज्ञान कहिलेकाहीँ आफ्नो पेसामा थकान लाग्दा वा निराशा हुँदा आनन्द प्रदान गर्ने शीत चौतारीसरह बन्न सक्छन् । म बेलाबखत गीतहरु लेख्ने गर्छु । गाउँछु । संगीत भर्छु । गीत लेख्दा म आफ्नो पेसाका सारा थकान तुरुन्तै भुल्छु । जब पेसामा फर्कन्छु तब आनन्द लाग्छ । 

यसरी डाक्टर शब्दले वहन गर्ने यी सबै अर्थहरु बुझ्दै जीवनमा उतारेपछि मात्र कुनै व्यक्ति वास्तविक रुपमा डाक्टर कहलाउन योग्य हुन्छ । एउटा चिकित्सकलाई यदि यी सबै अर्थहरुको बोध हुने हो भने पक्कै पनि उसलाई आफ्नो पेसाको गरिमाप्रति अझ गर्व महशुस हुनेछ । उसको शिर अझ उँचो, मन झनै उत्साही, हृदय अपार करुणाले भरिनेछ । अनि अझै दृढताका साथ आफ्नो पोसागत धर्म निर्वाह गर्नमा दत्तचित्त रहनेछ । 

मैले जुन दिन यो शब्दको उत्पत्तिबारे थाहा पाएँ, मलाई लाग्यो डाक्टरको डिग्री लिएर र दिनहँ बिरामीको उपचार गरेर पनि म वास्तविक रुपमा डाक्टर भएकै रहेनछु  । यति गहन दायित्वलाई मैले त हल्का पारामा पो लिइरहेको रहेछु कि जस्तो लाग्यो । मैले यसको व्यापक अर्थहरु बुझेकै दिनदेखि यसलाई आफ्नो कर्ममा पनि उतार्ने प्रयास गर्न थालें । यो क्रम आजपनि निरन्तर छ । जुन दिनसम्म म चिकित्सा पेसामा रहन्छु त्यतिबेलासम्म म डाक्टर शब्दका यी सबै निहितार्थहरुलाई शिरोधार्य गरिरहनेछु । मेरा अग्रज, समवयी र मभन्दा पछि यो पेसामा लाग्नुभएका सबै चिकित्सकहरुबाट पनि म त्यस्तै अपेक्षा राख्दछु । 

म चाहन्छु -प्रत्येक डाक्टरको छवि उसको कर्ममा देखियोस् । डाक्टर शब्दको यो व्यापक अर्थ हरेक व्यक्ति, परिवार र समाजले मात्र नभई सिंगो राष्ट्रले बुझ्न सकोस् । प्रत्येक व्यक्तिले डाक्टरलाई भगवान देखुन्, प्रत्येक डाक्टरले बिरामीभित्रको भगवान देख्न सकून् । हाम्रो जीवन यस्तो जसले धेरैभन्दा धेरैलाई रोगहरुबाट मुक्ति दिलाई परम आनन्द प्रदान गर्न सकोस् । त्यसका लागी हामी ऋग्वेदले जस्तै प्रार्थना गरौं हे ईश्वर मलाई सँधै आन्द, सुख, हर्ष र प्रसन्नताको स्थितिमा रहने बनाइदिनु् । मेरो मनस्थिति कहिल्यै आनन्दभन्दा पृथक बन्न नपाओस् । 

Last modified on 2023-07-25 11:42:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts