विश्व क्यान्सर दिवस

प्राणघातक रहेन क्यान्सर



Download our app to get more features

काभ्रे भकुण्डेबेसीकी ५९ वर्षीया कान्छी परियारलाई छाती दुख्ने समस्या भएपछि उपचारका लागि ६ बैशाख ०७४ मा वीर अस्पतालमा भर्ना भइन् । वीर अस्पतालमा स्वास्थ्य परीक्षणपछि परियारलाई क्यान्सर लागेको थाहा भयो । उनको उपचारमा संलग्न वीर अस्पतालका क्यान्सर रोग विभाग प्रमुख डा. विवेक आचार्यका अनुसार फोक्सोको क्यान्सर हड्डीसम्म पुगेकाले परियारलाई छाती दुखाईको समस्या भएको हो । उनको अहिले केमोथेरापीमार्फत उपचार भइरहेको छ । 

वीर अस्पतालमा उपचाररत ५४ वर्षीय थोमनबहादुर थापा पनि आन्द्राको क्यान्सरबाट पीडित छन् । गोगंबु काठमाण्डौ घर भएका उनी २३ भदौदेखि वीर अस्पतालमा उपचार गरिरहेका छन् । परियार र थापा मात्रै होइन काठमाडौंका क्यान्सर रोग उपचार हुने अस्पतालमा क्यान्सर प्रभावितको संख्या बढ्दो छ । 

नेपाल अर्बुद रोग निवारण संघका अनुसार नेपालमा वर्षेनी ३० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । यी मध्ये १० हजार बिरामी मात्र उपचारका लागि अस्पताल जान्छन् । संघका अनुसार नेपालमा ४० देखि ५० हजार क्यान्सर रोगी छ । सन् २०२० सम्ममा क्यान्सरका बिरामी झनै बढेर त्यति बेला एक लाख जनसंख्या मध्ये ३८ दशमलव पाँच प्रतिशत पुरुष र ४१ दशमलव चार प्रतिशत महिलालाई क्यान्सर हुने अनुमान गरिएको छ । 

रोगीको संख्या बढ्दै
भक्तपुर मेमोरियल क्यान्सर अस्पतालमा मात्र वर्षेनी १४ हजार बिरामी क्यान्सर उपचारको लागि बहिरंग सेवा लिन भर्ना हुने गरेका छन् । अस्पतालमार्फत वर्षेनी ४५ हजार क्यान्सर रोगीले फलोअप उपचार गर्छन् । सन् २०१६ मा मात्र भक्तपुर क्यान्सर अस्पतालमार्फत कुल १४ सय पुरुष र १८ सय महिलाले क्यान्सर रोगको उपचार गरेका थिए । 

विपन्न नागरिक आर्थीक उपचार कोष अन्तर्गत आर्थिक वर्ष ०७३/०७४ मा मुलुकको प्रमुख वीर अस्पतालबाट ७७१ क्यान्सरका बिरामीको उपचार भयो । चालु आर्थिक वर्षमा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत २७० र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ८६४ जना बिरामीले विपन्न नागरिक अन्तर्गत क्यान्सर रोगको उपचार सेवा लिएका थिए । 

स्वास्थ्य मन्त्रालयमार्फत दिईने विपन्न नागरिक औषधि उपचार कोषमार्फत आव ०७०/०७१ देखि ०७२/०७३ सम्ममा देशभरका ९ हजार ३७० क्यान्सरका बिरामीले उपचार सेवा लिए । क्यान्सरका बिरामीको रेकर्ड राख्दै आएका सात वटा अस्पतालको क्यान्सर रजिष्ट्री अनुसार नेपालमा क्यान्सरका बिरामी प्रत्येक वर्ष बढीरहेका छन् । चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, धरानको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, पोखराको मणिपाल अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा क्यान्सर रोगको उपचार गर्ने बिरामीको संख्या बढ्दो छ । यी अस्पतालमार्फत सन् २००३ मा ३ हजार २५१ क्यान्सरका बिरामीको उपचार भएकोमा सन् २०१३ सम्म आईपुग्दा संख्या बढेर ४ हजार ७१८ पुगेको छ । 

यसकारण क्यान्सरको जोखिम उच्च
विश्व स्वास्थ्य संघठन (डब्लूएचओ)को सर्वे अनुसार नेपालमा हुने कुल मृत्यु मध्ये ६० प्रतिशत नसर्ने रोगका कारण हुन्छ । यीमध्ये ८ प्रतिशत मृत्युको कारण क्यान्सर रोगका कारण हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१५ मा मात्र क्यान्सर रोगका कारण विश्वमा ८८ लाख मानिसको मृत्यु भएको थियो । ३० देखि ५० प्रतिशत क्यान्सर रोग मानिसको जीवनशैलीका कारण लाग्ने गरेको छ । मध्यपान र धुम्रपान त्याग्ने र शारीरिक अभ्यास गर्नाले क्यान्सर रोक्न सकिने चिकित्सकहरू बताउँछन् । 

नेपालमा महिलामा दोस्रो क्यान्सरको रुपमा देखिएको स्तन क्यान्सर बंशानुगत, ढिलो विवाह गर्ने र ढिलो उमेरमा बच्चा पाउनेमा बढी देखिने गरेको छ । ३० वर्ष वा त्यसपछि मात्रै विवाह गर्नाले महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । विकशित देशमा जस्तंै स्तन क्यान्सरका बिरामीको संख्या सहरी क्षेत्रमा बढीरहेको वीर अस्पतालको क्यान्सर रोग विभाग प्रमुख डा. विवेक आचार्य बताउँछन् ।

सबै थरी क्यान्सरका बिरामी मध्ये विश्वव्यापी रुपमा फोक्सोको क्यान्सरका बिरामी तिव्र रुपले बढ्दैछन् । तर, नेपालका पुरुषमा मुख र घाँटीको क्यान्सर बढ्दो छ । त्यसपछि फोक्सोको क्यान्सर र तेस्रोमा पेटको क्यान्सरका बिरामी देखिएका छन् । फोक्सोको क्यान्सर बढ्नुमा धुम्रपान र वायु प्रदुषण प्रमुख कारक तत्व हो । 

मुख र घाँटीको क्यान्सरको कारण धुम्रपान, खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवन  हुने गरेको छ । कमजोर अर्थसामाजिक अवस्था, कम उमेरमा विवाह, धैरै सन्तान हुनु र सरसफाईमा ध्यान नदिनाले पाठेघरको मुखको क्यान्सर हुन्छ । धेरै यौन साथी भएका महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना उच्च रहन्छ । 

Last modified on 2018-02-04 10:19:45

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts