पाठेघर खस्ने बिरामीका लागि स्वास्थ्य शिविर



Download our app to get more features

रोल्पा, २० माघ । रोल्पामा पाठेघर खस्ने बिरामीको संख्या अत्यधिक रहेको भन्दै गाउँपालिकाले समेत चासो दिन थालेको छ । यसै क्रममा जिल्लाको माडी गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने तथा तल्लो पेटको समस्या भएका महिलाका लागि शिविर सञ्चालन गरेको छ । 

शिविरमा २७९ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गराएकामध्ये १२ जनामा पाठेघर सम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि जिल्ला बाहिर पठाउन सल्लाह दिएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए । 

स्वास्थ्य परीक्षण, औषधि तथा ल्याब सेवा समेत निःशुल्क प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

महिला रोग विशेषज्ञ डा अनुका शर्माद्वारा परीक्षण गरिएको सो शिविरमा माडी गाउँपालिकाका अतिरिक्त छिमेकी गाउँपालिका तथा सल्यान जिल्लाका बिरामीले समेत सेवा लिएका थिए । 

गाउँपालिकाभित्र पाठेघर तथा तल्लो पेटको समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि उनीहरुले रोग लुकाएर बसिरहेको भन्ने जानकारी पाउना साथ गाउँपालिकाले सो शिविर सञ्चालन गरेको थियो । शिविरमा गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बताइएको छ । 

कम उमेरमा विवाह गर्नु, गर्भवती भएको बेला भारी बोक्नु, सुत्केरी स्याहार नपाउनु जस्ता कारणले जिल्लामा पाठेघर तथा तल्लो पेट सम्बन्धी समस्या भएका महिला अत्यधिक रहेका छन् । 

हरेक स्थानीय सरकारले यस्ता शिविर सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवामा पहँुच पु¥याउन जरुरी रहेको स्थानीयबासिन्दाको धारणा रहेको छ ।

 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts