आमाको दूध बच्चाको लागि यसकारण अमृत बराबर !
शिशुलाई सकेसम्म जतिसक्दो छिटो जन्मिएको आधा या एक घन्टाभित्र स्तनपान गराउनु पर्छ ।
शिशुलाई आमाको दूधबाहेक केही खुवाउनुहुँदैन । नवजात शिशुुका लागि आमाको दुध मात्रै खुवाउनुपर्ने हुन्छ । छ महिनादेखि दुई वर्षसम्म आमाको दुध र अन्य पौष्टिक खानेकुरा खुवाउन सकिन्छ । आमाको दुध जन्मेदेखि ६ महिनासम्मका शिशुको शारीरिक एवं मानसिक वृद्धि र विकासका लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरूले भरिपूर्ण हुन्छ ।
पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
आमाको दुध को फाइदा :
नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन ।आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जो बच्चाहरूको शरीरमामा फलाम तत्व दिन्छ आमाको दूध देखि आएका साधारण जीवाणु बच्चाहरूको शरीरमा उब्जने रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् । आमाको दूधमा रोगाणु नाशक तत्व हुन्छन् ।
आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रुपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ ।
स्तनपानबाट जीवनका पछिको चरणहरूमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ । बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता बिमार र संक्रमणबाट बचाउँछ ।
स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर (ओस्टेओपोरोसिस् ) हुने रोगबाट जोगाउँछ) ।आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ । स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ । कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ । स्तनपान गराउन खर्च लाग्दैन ।
स्तनपान गराउने तरिका :
नवजातं शिशुलाई जन्मनेबित्तिकै दूध खुवाउनुपर्छ । त्यसले पाठेघरको मुख खुम्चन्छ र रक्तस्राव रोकेर सामान्य स्थितिमा ल्याउन मद्दत गर्छ । दूध चुसाइले दूधको प्रवाहलाई बढाउँछ । सुत्केरी भएपछि पहिलो २ वा ३ दिनसम्म बिगौती दूध (कोलोस्ट्रम) आउँछ जुन बच्चाको लागि अति पौष्टिक हुन्छ । कोलोस्ट्रममा नवजात शिशुलाई चाहिने सबै प्रकारको पौष्टिक तत्व रहेको हुन्छ । यसले बच्चालाई रोगहरूबाट बचाउँछ र शिशुको पेट पनि सफा गर्छ ।
बच्चाको टाउको र शरीर सिधा राख्नको लागि बच्चाको मुख पूरै खुल्न दिनुपर्छ र बच्चाको तल्लो ओठले स्तनको मुन्टोलाई राम्ररी समात्न सक्नेगरी बच्चालाई नजिक राख्नुपर्छ । बच्चाको मुखले आमाको स्तन राम्ररी च्यापेको हुनुपर्छ ! मुन्टो मुखको भित्री भागसम्म पुग्नुपर्छ । नवजात शिशुको पछिल्लो भागलाई आमाको यो अर्को राम्रो तरिका हो । कुनै सिरानी वा हातले थाम्नुपर्छ । बाक्लो कपडामाथि बच्चालाई राख्नुपर्छ ।
स्तनपान गराउँदा समस्या पर्यो भने अन्य अनुभवी महिलाको सहयोग लिनुहोस् । उनले कतिपय स्वास्थ्यकर्मीले भन्दा राम्रो सल्लाह दिन सक्छिन् । जस्तै समस्या परे पनि दुधदानीको प्रयोग नगर्नुहोस् यसले बच्चालाई अर्के प्रकारको दुध चुस्ने बानी पार्छ । स्तनपान गराउने नै प्रयास गर्नुहोस् । कुनै बेला राम्रो विधि सिक्न आमालाई समय लाग्छ भने कुनै बेला राम्ररी दूध चुस्न सिक्न बच्चालाई समय लाग्छ ।
दुवै स्तन चुसाउनुपर्छ तर एउटा स्तनमा दुध सकिएपछि मात्र अर्को स्तनबाट खुवाउनुपर्छ । बच्चाले चुस्न थालेको केही मिनेटपछि आउने दूधमा बढि चिलो हुन्छ । एक पटकमा एउटा स्तनको दूधले बच्चा अघाउँछ भने अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्छ ।
बच्चा भोकाएपछि (राति, दिउँसो जुनसुकै बेला) स्तनपान गराउनुपर्छ । नवजात शिशुले खास गरेर पहिलो १ देखि ३ घण्टा बिराएर दूध खान खोज्छ । नानीले जति चुस्छ उति नै दूध बढी बन्दै जान्छ ।
बच्चालाई ढ्याउ गराउने गराउने :
बच्चालाई उचालेर पाखुरा वा छातीमा राखी ढाड मसारेर त्यो हावा फाली ढ्याउ गर्न मद्दत गर्नुपर्छ । काखमा बसेको वा सुतेको बेला पनि त्यसो गर्न सकिन्छ । बच्चालाई राखेर थमथमाउँदा असजिलो भएको वा सधैं रोइरहने बच्चालाई पनि आराम मिल्छ ।
बच्चा बिरामी हुँदा के गर्ने :
बच्चा बिरामी हुँदा स्तनपान रोक्नु हुँदैन । स्तनपान गराईराखेमा मात्र चाडै स्वास्थ हुन्छ ।
झाडापखाला बच्चाहरूका लागि खतरनाक हुन्छ । यस्तो बेलामा औषधिभन्दा पनि हेरचाह नै प्रभावकारी हुन्छ किनभने धेरैजसो बच्चाहरु पानी नपुगी जलवियोजनका कारणले हुन्छ ।
पखाला लागेको बेला छिटो–छिटो दूध खुवाउने र थप पानी पिलाउने ।
बच्चा कमजोर छ भने दूध खुवाइरहनुहोस् । बच्चाले दूध नचुसे हातैले निकालेर खुवाउने र तुरुन्त चिकित्सकलाई देखाउने ।
बच्चालाई वान्ता हुँदा थोरै– थोरै मात्रामा छिटो–छिटो खुवाउनुपर्छ । प्रत्येक ५ देखि १० मिनेटभित्रमा बच्चालाई चम्चाले थप पानी दिइरहनुपर्छ । मौका पर्नेबित्तिकै तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
बच्चालाई अस्पताल लगेपछि पनि स्तनपान गराइराख्नुपर्छ । यदि तपाईं अस्पतालमा बस्न नसक्ने आमाले भने आफ्नो दूध निचोरेर भाँडामा वा पुर्नरजलिय पदार्थ बोतलमा राखी खुवाउने व्यवस्था मिलाउनुपर्छ ।
छ महिना पछि बच्चालाई के खुवाउने ?
शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ । त्यसपछि लिटो, मुछेको आलु, अण्डा आदि ख्वाउन थाल्नुपर्छ । यस्ता खानेकुरा दिनको तीनपटक दिनुपर्छ। दुई वर्षसम्म अन्य खानेकुराका साथमा आमाको दूध खुवाउनुपर्छ । एक वर्षदेखि दुई वर्षसम्मका शिशुलाई पर्याप्त मात्रामा दाल, भात, जाउलो, हलुवा, चिनी र दूधसहितको रोटी, खिचडी, लिटो, आँप, केरा वा परिवारले खाने गरेको खाना ५ पटकसम्म खुवाउनुपर्छ । दुई वर्षमाथिका शिशुहरूलाई पारिवारिक खाना दिनको तीन पटक र अतिरिक्त खाना – खाजा, रोटी, चिउरा, मकै, भटमास, फलफूल, गेडागुडी, माछा– मासु दिनको दुईपटक खुवाउनुपर्छ ।
(डा. सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बाल रोग विशेषज्ञ हुन् ।)