नर्सिङ पेशा सुधारका लागि मैले नबोले कसले बोल्ने ?
प्रतिमा निरौला, नर्स
मनभित्र अनेकौ दुःख र पीडा भएर पनि शरीरमा सेतो पहिरन मुहारमा मुस्कान लिएर दिनरात अरुको सेवा गर्ने पेशा नै नर्स रहेछ ।
बाल्यकालमा मलाई दाजुभाई र बुबाले झुक्किएर खुट्टा लग्दा समेत ढोगिदिएको आज पनि सम्झना छ । उहाँहरू छोरीचेलीलाई बिष्णु भगवानको रुप ठान्नु हुन्थ्यो । छोरीचेलीलाई लत्याए खराब समय सुरु हुन्छ भन्ने सस्कारबाट आएकी छोरी हुँ म । तर, यही संस्कारबाट आएकी म आज नर्स पेशामा लागेर कयौंको खुट्टा छोएको छु बिरामीको घाउको मलम बनेर । कयौं बिरामीका दुःख कम गर्ने बाहना बनेकी छु । तरपनि मैले बाल्यकालमा जस्तो छोरीचेलीलाई गरिने त्यो माया र स्नेह पाइन । यसका बाबजुद पनि मेरो पेशाप्रति कुनै हिनताबोध छैन ।
दिनरात बिरामीको सेवामा लाग्दा मसँग कति अनिदा रातहरू छन् । कति पटक भुँई, बेन्च र कुर्सीको बिछ्यौना बनाएर सुतेको छु । फेरि पनि मुस्कानसहितको सेवामा मैले कहिल्यै सम्झौता गरिन । कति पटक समकालीन र सिनियरको हेपार्इं सहेको छु । कत्ति पटक बिरामी र उसका आफन्तको धम्की व्यहोरेको छु । त्यसबाट कहिल्यै चित्त दुखाइन ।
अधिकारका लागि हजारौं नर्स आज आन्दोलित भइरहदा मनमा हजारौं प्रश्न उठिरहेका छन् । पेशाप्रति इमान्दार भइरहदा पनि कहिलेसम्म यस्ता दुव्र्यवहार सहने ? नर्सिङ पेशाले उपल्लो दर्जा कहिले पाउने ? लगायतका प्रश्नले मेरो मनलाई पनि चुप लाग्न दिएन । आज नर्सहरूको बुलन्द आवाज चारैतर्फ उठेको बेला मेरा मनका भावहरू उकुसमुकुस भएर उर्लिरहेछन् ।
मैले यी भावनाहरू पोखिरहदा कता कता मनमा एक किसिमको डर र अलिक हिनताबोध भईरहेको छ । किनकी यो पेशा मैले चाहेरै गरेकी हँु । बच्चा बेलामा मैले नर्स बारे सुन्ने काहनी र अहिलेको यथार्थमा मेल नहँुदाको समिश्रण मेरो वास्तविकता हो । यस्तो नोबेल पेशामा पनि बेतिथी छ भन्न मन भारी भएर आएको छ । पूरै वार्डभरीको बिरामीको एक्लैले सेवा गर्दा पनि सक्दिन भनेर कहिल्यै झर्किन । केबल मेरो काम नै यही हो भनी रहँे । तर आज साँच्चीकै सबै सथीहरूको हितको लागि आवाज उठाउनु पर्ने महशुस हँुदा मैले नबोले कसले बोल्ने ? आज नबोले कैले बोल्ने ? यति भनिरहँदा म पेशादेखि हारेको भने पटकै होइन । न त कहिल्यै हार्नेछु । यो त पवित्र पेशा हो । अरुको सेवा गर्नु नै मेरो धर्म हो भनेर सदासर्बदा सम्झिरहन्छु । केबल यत्ति हो की हाम्रो हकहितको लागि उठेको आवाजको कदर गरियोस् ।
नर्सिङ एक आदर्श पेशा हो, सेवा हो र योगदान हो । यो पेशा अङ्गाल्ने मेहनती नर्सहरूप्रति हेरिने दृष्टिकोण सदैभ सकारात्मक हुनु जरुरी छ । पेशाले सम्मान पाउनु हाम्रो हक पनि हो । हरेक बिरामीलाई आफन्त सरह मानेर सेवामा तल्लिन हुने नर्सहरूको अधिकार सुनिश्चित हुनु आजको आवश्यकता पनि हो । जसले गर्दा यो पेसासँग नर्सहरूमा भएको बितृष्णा कम त हुने नै भयो साथै आउँदा दिनमा नर्स र नर्सिङ पेसाले सम्पूर्ण स्वास्थ्य क्षेत्रमै अझै योगदान पुर्याउनेमा दुई मत छैन ।
(निरौला कलेज अफ मेडिसिन, पूर्वाञ्चल विश्वविद्यालयमा बिएन नर्सिङ अध्ययनरत छिन् ।)
4 Comments
-
प्रगतिशील विचारकाे लागि धन्यवाद प्रतिमा तिमिलाई, अपहेलित भएर काम गर्नुपर्ने कुनै अनिवार्य छैन, मेराे पुर्ण रुपमा सहमत तथा सहयाेग रहनेछ नर्सिङ पेसालाई ।
-
jastai ramri nurse ustai Ramro bichar
-
Uttam soch ramri nurse ko
-
सहि विचार