कतै तपाईको बच्चाको आँखा अल्छि भएको त छैन् ?
तीन वर्षकै उमेरमा आँखाको समस्या लिएर आमासँग अस्पताल आएका एक बालकलाई मैले चस्मा लगाउन सल्लाह दिएँ । तर धेरै समयपछि ८ वर्षको उमेरमा फेरी उहाँ बच्चा लिएर आउनुभएको थियो । मैले जाँच गर्दा बच्चाको आँखाको ज्योति गुमिसकेको थियो । बच्चालाई आँखा अल्छि हुने रोग लागिसकेको थियो । जुन रोगको उपचारको सम्भावना लगभग शुन्य हुन्छ ।
मैले सोधें किन यस्तो भयो ? बच्चाको अविभावकले भावुक हुँदै भन्नुभयो, ‘मैले बच्चालाई चस्मा लगाउनै दिइन ।’
उहाँको बुझाई रहेछ सानो उमेरमा चस्मा लगाए पछि बच्चाको आँखामा झन् ठूलो समस्या आउँछ । उनको कुरा सुनेलगत्तै मैले सोचेँ बालबालिकाको आँखाको समस्या लिएर अस्पताल आउने बिरामी भन्दा अभिभावकर्लाइ परामर्शको बढी आवश्यक्ता हुने रहेछ ।
नेपाल जस्तो स्वास्थ्य चेतना कमी भएको देशमा बालबालिकामा देखिने प्रमुख स्वास्थ्य समस्याहरु मध्ये आँखाको रोग पनि प्रमुख हो । यस्ता स्वास्थ्य समस्याको समाधान भनेकै नियमित चस्मा लगाउनु हो ।
तर, अधिकांश अविभावकमा सानै उमेरमा चस्मा लगाउँदा झन् समस्या थपिने डर तथा त्रासको मनोविज्ञान हुन्छ । त्यसैले मैले उपचार गर्न आउने आँखाको बिरामीलाई परामर्श पनि दिने गरेकी छु ।
हामीले उनीहरुलाई के बुझाउन सक्नुपर्छ भने बालबालिकालाई आँखा सम्बन्धि केही समस्या नभएपनि बच्चा जन्मेको ६ महिनादेखि एक वर्षको उमेर भित्र आँखाको परीक्षण गर्नुपर्छ । त्यसपछि स्कुल जाने उमेर ४ देखी ५ वर्षको उमेरमा परीक्षण गराउनुपर्छ ।
बच्चाले आँखा सम्बन्धि कुनै समस्या सुनाएमा ढिलो नगरी परीक्षण गराउनुपर्छ ।
यदि बच्चा समय नपुगी ५–६ महिनामै जन्मिएमा वा नवजात शिशुलाई लामो समय अस्पतालमै राख्नु परेमा जन्मेको एक महिनाभित्रै आँखाको परीक्षण गर्नु अनिवार्य हुन्छ ।
आँखामा देखापर्ने समस्या
विशेषगरी बालबालिकामा देखिने आँखाको समस्याहरुमा दृष्टि दोष, आखाँ चिलाउने, छड्केपन, आँखा पाक्ने, सुख्खा आँखा र जन्मजात देखिने मोतिया विन्दु र आँखाको लोति झर्ने आदि हुन् । यि सबै आँखामा देखिने रोगको समयमै उपचार गरिएन भने बालबालिकाको आँखा अल्छि हुन सक्छ । जसलाई हामी अल्छि आखाँ भन्छौं । अहिले नेपालमा सबैभन्दा बढी बालबालिकामा देखिने आँखा सम्बन्धि रोगमा अल्छि आखाँ हो ।
के हो त अल्छि आँखा ?
अल्छि आँखाका विशेष लक्षण नहुने भएकाले झट्ट हेर्दा थाहा हुँदैन । अल्छि आँखाको दृष्टि कमजोर हुने हुनाले कमजोर आँखा नै त्यसको प्रमुख लक्षण हो । त्यसैले उपचारमा चस्मा लगाइन्छ तर चस्मा लगाएपनि आँखामा दृष्टि भने आउँदैन । साधाारण अप्रेसन गरेपनि दृष्टि फर्किन्छ भन्ने कुनै ग्यारेण्टि हुँदैन । र यस्तो समस्या भएको बालबालिका ७ देखि ८ वर्ष भन्दा माथिको उमेर भएपछि उपचारको सम्भावना कम हुँदै जान्छ । त्यसैले समयमै परीक्षण गर्नु राम्रो हो ।
अल्छि आँखा हुँदा आँखाको गेडी दुख्ने र चाँडै थाक्ने, एकछिन पढ्ने बित्तिकै मधुरो देख्ने, टाउको दुख्ने र आँसु बग्ने हुन्छ । पढ्ने बेला किताबलाई आँखा नजिकै लैजाने, आँखा चिम्सो पार्ने र कहिलेकाँही छड्के हेर्ने हुन्छ । नजिकै गएर टेलिभिजन हेर्ने बानी छ भने अल्छी आँखाको शंका गर्न सकिन्छ ।
कारणहरु के के हुन त ?
सानै उमेरमा दृष्टि दोष, आखाँ चिलाउने रोग, छड्केपन, आँखा पाक्ने, सुख्खा आँखा र जन्मजात देखिने मोतियाविन्दु र आँखाको लोति झर्ने आदि रोगको समयमै उपचार हुन नसक्नु यो रोगको मुख्य कारण हो । यसबाहेक भटामिन ए को कमी तथा कर्नियाको संक्रमण हुनु, पावर अनुसारको चस्मा प्रयोग नगर्नु, उमेर अनुसारको चस्माको पावर समायोजन गर्न नसक्नु
आँखाको चोटपटक तथा फुलो पर्नु नै अल्छि आँखा हुनुका प्रमुख कारण हुन् । यी बाहेक जन्मजात मोतियाविन्दुको शल्यक्रिया नहुनु र डाक्टरको सल्लाह अनुसार चस्मा नलगाउनु पनि आँखा अल्छि हुने मुख्य कारण हो ।
उपचार कसरी गर्ने त ?
सबै भन्दा पहिले सम्बन्धित विषेशज्ञद्वारा आँखाको बिस्तृत परीक्षण गर्नुपर्छ । आँखासम्बन्धी सम्पूर्ण जाँच गर्नुपर्ने भएकोले आँखा अस्पताल गएर परीक्षण गर्नुपर्ने हुन्छ । खासगरी दृष्टि परीक्षण, माक्रोस्कोपद्वारा आँखा जाँच, अर्थोटिक्स जाँच र कलर भिजन परीक्षण, चस्माको पावर जाँच गर्नुपर्र्ने हुन्छ ।
अल्छि आँखाको उपचार विशेष किसिमले गर्नुपर्ने हुन्छ । विभिन्न विधिबाट उपचार गर्नुपर्ने भएकोले एउटा उपचार पद्दति एक अर्काका परिपूरक हुन्छन् ।
चश्मा लगाएर गरिने उपचार
नियमित चस्मा लगाउनाले बालबालिकामा स्पष्ट देख्न सक्ने क्षमताको क्रमिक विकास हुँदै जान्छ । चस्माको नियमित प्रयोग तथा भिजन थेरापी गरी अल्छि आँखाको उपचार गर्न सकिन्छ । तिनीहरुलाई आँखाको प्रयोग गराएर अर्थात् पढ्ने, लेख्ने, कम्प्युटर चलाउने, गेम खेल्ने, चित्र कोर्ने, रंग भर्ने दृष्टिसँग सम्बन्धित क्रियाकलाप गराएर दृष्टिमा सुधार गर्न सकिन्छ ।
उमेर बढ्दै जाँदा चस्माको पावर पनि परिवर्तन गर्नुपर्ने हुनाले चिकित्सकको सल्लाह अनुसार अभिभावकहरुले नियमित रुपले अस्पतालमा जाँच गराउनु पर्छ
आँखामा पट्टी लगाएर गरीने उपचार
यो उपचार विधि अल्छि आँखाको उपचारको प्रभावकारी विधि हो । अल्छि मान्छेलाई बढी काममा जोतेजस्तै अल्छि आँखालाई बढी समय खुल्ला राखी काममा लगाएर अर्को सामान्य आँखालाई पट्टीले छोपेर आरम दिएर उपचार गरिन्छ । आँखामा पट्टी कसरी लगाउने हो भन्ने चाहिँ अभिभावकलाई राम्रो सिकाउनु पर्छ । एकपटकमा एउटा आँखामा मात्र पट्टी लगाउने गरिन्छ ।
नजिकको वस्तु राम्रोसँग देख्ने र टाढाको वस्तु नदेख्ने केटाकेटीमा यो उपचार बढी प्रभावकारी हुन्छ । नजिक र टाढाको वस्तु स्पष्ट नदेख्ने भएका केटाकेटीमा तुलनात्मक रुपले यो उपचार कम प्रभावकारी हुन्छ ।
साधारण अप्रेसन गरी गरीने उपचार
जन्मजात देखिने मोतियाविन्दु र कानको लोति झर्ने समस्या छ भने साधारण अप्रेसन गरी उपचार गरीन्छ ।
प्याचिङ थेरापी अर्थात अभ्यासबाट गरीने उपचार
आवश्यकता अनुसार आँखामा एक प्रकारको गोलो पट्टी लगाउने उपचार पद्धति समेत अनुसरण गरी दृष्टि क्षमतामा सुधार ल्याउन सकिन्छ । यस्तो पट्टि डाक्टरको सल्लाह अनुसार औषधि पसलबाट किनेर घरमै बसेर आफ्ना अविभावकले लगाइदिन सक्छन् ।
अन्त्यमा सबै अविभावकलाई आफ्नो बालबालिकालाई केहि नभएपनि जन्मेको ६ महिना देखि १ वर्ष भित्रमा र स्कुल जान थालेपछि अवश्य आँखाको परिक्षण गराउनुुुस । यदि बच्चा जन्मदा समय नपुगी चांडै जन्मेको छ भने वा जन्मनासाथ धेरै समय अस्पतालमा राखिएको छ भने एक महिना भित्र आँखाको परीक्षण गराउनुस । साथै पूर्ण रुपमा डाक्टरसँग राम्ररी बुझेर उपचार पद्धतिलाई पालना गर्नुहोस् ।
डा. अधिकारीसँग दिनेश लामिछानेले गरेको कुराकानीमा आधारित ।