बिरामीको विश्वास जित्दै पशुपति होमियोप्याथिक
काठमाडौं, ८ पुष । ललितपुर बंगलामुखीकी ४० वर्षीया लक्ष्मी राई वर्षौदेखि बाथ रोगबाट पीडित थिइन । बाथरोगबाट छुटकरा पाउन उनले निकै समय एलोप्याथिक औषधि सेवन गरिन । तर, रोग ठीक हुनुको साटो झन् बल्झिएको उनको अनुभव छ । एलोप्याथिक उपचारकै क्रममा उनले होमियोप्याथिक उपचार बारे पनि सुनेकी थिइन् । आधुनिक उपचार पद्धतिले ठीक नभएको रोग होमियोप्याथिकमा निको होला भन्ने उनलाई लागेन । र अन्तिममा मात्रै विकल्पका रुपमा होमियोप्याथिक उपचार गर्न ललितपुरस्थित पशुपति होमियोप्याथिक चिकित्सालयमा आएको उनले बताइन ।
ललितपुरकै एक अस्पतालमा महिनांैसम्म उपचार गर्दा पनि बाथरोग निको नभएपछि उनी होमियोप्याथिकमा पुगेको बताउँछिन् । लगातार तीन वर्षसम्म होमियोप्याथिक औषधि खाएपछि अहिले बाथरोगबाट पूर्ण मुक्ति पाएको बताइन । यद्यपि, औषधि खान भने नछोडेको उनको भनाइ छ । पशुपति होमियोप्याथिक चिकित्सालय हाताभित्रै भेटिएकी राईले यहाँको उपचारले पूर्ण निको पारेको बताइन । एलोप्याथिक अर्थात आधुनिक औषधि र उपचारमा लाखौं सकेकी राईले पशुपति होमियोप्याथिक चिकित्सालयको औषधि सेवन गर्न थालेको एक महिनाबाटै सकारात्मक नतिजा पाउन थालेको सुनाइन । उनी भन्छिन् ‘सुरुमा त विश्वास थिएन् । आधुनिक प्रविधियुक्त अस्पतालमा नभएको उपचार यहाँ कसरी सम्भव होला भन्ने लाग्थ्यो । तर, चमत्कार जस्तै भयो ।’
काठमाडौं धुम्बाराहीकी ३५ वर्षीय दयाराम दाहाल पनि श्वासप्रश्वास सम्बन्धी समस्याको उपचार गर्न पशुपति होमियोप्याथिक चिकित्सालयमा पुगेको भेटिए । युवा अवस्थामै श्वास फेर्न अप्ठयारो भएपछि उनी त्रसित बनेका थिए । उनले भने ‘भारतको विभिन्न अस्पतालमा उपचार गराउँदा दुई लाख सकियो । तर समस्याबाट छुट्करा पाउन सकिन । यहाँ उपचार राम्रो हुन्छ भन्ने सुनेर आएको हुँ ।’
राई र दाहाल जस्तै ललितपुर बालकुमारीकी ४२ वर्षीया रमिला शाक्य पनि पशुपति होमियोप्याथिकमा नियमित चेकजाँचको लागि आउँछिन । उनलाई केही वर्षअघि शरीर तथा टाउकोको छालामा एलर्जी भएको थियो । पशुपति होमियोप्याथिकमा नियमित उपचार गरेपछि अहिले ठीक भएको उनको भनाई छ । दोस्रो चरणको उपचार सुरु गरेकी शाक्यले निकै राहत महशुस गरेको र पूर्ण निको हुने विश्वास बढेको सुनाइन् ।
पशुपति होमियोप्याथिक चिकित्सालयका डाक्टर प्रेमनारायण श्रीवास्तले होमियोप्याथिकमा आकस्मिक बाहेक सबै प्रकारका समस्याको समाधान हुने बताए । बिरामीसँग पर्याप्त समय लिएर उसले बताउने लक्षणका आधारमा औषधि दिने भएकाले होमियोप्याधिक उपचारप्रति धेरैको विश्वास बढेको डा. श्रीवास्तवले बताए ।
उनका अनुसार खासगरी शरीरमा आएका मुसा, गिर्खा, अनावश्यक मासु पलाएको रक्तचाप, ग्यास्ट्रिक, मधुमेह, पिसाब सम्बन्धी समस्या, पिनास, मानसिक रोग, पेटका बिरामी बढी जस्तो आउने गरेका छन् । यसको अलावा रोगको लक्षणका आधारमा उपचार र औषधि पनि दिने गरिन्छ । चिकित्सालयका सिनियर अहेब बामदेव अर्यालले पशुपति होमियोप्याथिकमा गर्मी महिनामा दैनिक तीन सयदेखि चार सयसम्म र जाडो मौसममा साढे दुई सयदेखि तीन सयसम्म बिरामी आउने बताए । उनका अनुसार देशको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा यसको शाखा कार्यालय स्थापना गराउने योजना छ । पशुपति होमियोप्याथिक २०१० सालमा पशुपति क्षेत्रमा स्थापना भई २०४० सालदेखि ललितपुरको हरिहरभवनबाट सञ्चालन हुँदै आएको छ । यहाँबाट हुने सबै उपचार सेवा तथा औषधिलाई शुल्क तिर्नु पर्दैन ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>