दश वर्षअघि नै थाहा पाउन सकिन्छ पाठेघरको मुखको क्यान्सर
(भिडियोसहित)
पाठेघर प्रजनन प्रणालीको महत्वपूर्ण अंग हो । यसर्थ पाठेघर महिलाको लागि मात्रै होइन सिंगो मानवजीवन विकासका हिसाबले पनि महत्वपूर्ण अंग हो । महिलाका विभिन्न अंगमध्येपाठेघरकोमुखको क्यान्सरको जोखिम उच्च रहने चिकित्सकहरूको भनाइ छ । पाठेघरको मुखमा किन क्यान्सरको जोखिम उच्च हुन्छ र यसबाट बच्ने उपाय बारेस्त्री क्यान्सर रोग विशेषज्ञ डा.अनु बज्राचार्यको सुझाब :-
महिलामा सबै भन्दा बढी देखिने क्यान्सर पाठेघरको मुखको क्यान्सर नै हो । पाठेघरको मुखको क्यान्सरकै कारण धेरै महिलाले ज्यान गुमाउँदै पनि आएका छन । पछिल्ला तथ्यांकहरू हेर्दा बर्सेनी दुई हजार भन्दा बढी महिला यस रोगबाट पीडित बनिरहेका छन् ।
के हो पाठेघरको मुखको क्यान्सर
पाठेघरको मुखको क्यान्सरलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ । महिलामा पाठेघरको, डिम्बासयको र पाठेघरको मुखको क्यान्सर अलग अलग हुन सक्छ ।महिलामा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर सबै भन्दा बढी हो ।
मुख्य कारण
पाठेघरको मुखको क्यान्सर हुने मुल कारण भनेकै ह्युमन प्यापुलुमा भाईरस(एचपीबी) भाइरसको संक्रमण हो । एचपीबी भाइरसभित्र पनिएक सय भन्दा बढी उप भाइरसहुन्छन् । यी मध्ये १५/१६ वटा भाइरसलाई बढी जटिल भाइरसका रुपमा लिइन्छ । यी मध्ये १६ र १८ नम्बरको भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ । यो भाइरस यौन सम्पर्कबाट सर्ने गर्दछ ।
- धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु ।
- धेरै धुम्रपान, मध्यपान गर्ने ।
- रोगप्रतिरोधात्मक क्षमता कम भएका ।
- धेरै बच्चा जन्माउँदा ।
- सानो उमेरमै यौन सम्पर्क राख्दा वा बच्चा जन्माउँदा ।
यौन सम्पर्क नगर्ने महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम कम
पाठेघरको मुखको क्यान्सर बढी जसो यौन सम्पर्कबाट नै लाग्ने गर्छ । महिलामा पाठेघरको मुखको क्यान्सर हुनुमा पुरुषको भूमिका गहन हुन्छ । यौन सम्पर्कका बेला पाठेघरको मुखमा चोट लाग्ने सम्भावना पनि रहन्छ । यसले पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना हुन्छ । यौन सम्पर्क नगरेका महिलामा यो क्यान्सरको सम्भावना न्यून हुन्छ ।
लक्षणहरू
- महिनावरी अनियमीत हुनु ।
- यौन सम्पर्क राखिसकेपछि रगत देखिनु ।
- फोहोर गनाउने पानी बग्नु ।
- योनी चिलाउनु ।
- महिनावारी सुकिसकेकाहरूमा पुनः रगत वा गनाउने पानी बग्नु ।
- महिनावारीका बेला रगत बढीबग्नु ।
- तल्लो पेट दुख्नु, आलस्य हुनु ।
- क्यान्सर क्रोनिक अबस्थामा पुगिसकेको भए दिसा, पिसाबमा समस्या देखिनु,हड्डी दुख्नु ।
बच्ने उपाय
पाठेघरको मुखको क्यान्सर एक मात्र यस्तो क्यान्सर हो, जुन हुनु भन्दा १० वर्ष पहिले नै थाहा पाउन सकिन्छ । गर्भासयको स्राब परीक्षण गरी क्यान्सर हुन लागे नलागेको एकीन गर्न सकिन्छ । साथै यो क्यान्सरबाट बच्न निम्न साबधानी अपनाउनु पर्छ ः
- विवाहिता महिलाले वर्षको एक पटक प्याप परीक्षण गराउने ।
- धेरै व्यक्तिसँग यौन सम्पर्क नराख्ने ।
- सानो उमेरमै विवाह नगर्ने तथा सानै उमेरमा बच्चा नजन्माउने ।
- धुम्रपान तथा मध्यपान नगर्ने ।
- महिनावारी अनियमित भए वा महिनावारी सुकिसकेका महिलामा पुनः रगत देखिए तुरुन्त परीक्षण गराउने ।
- स्वस्थ र सन्तुलित खाना खाने ।
पाठेघरको क्यान्सर भएको सुरुवाती चरणमै थाहा पाए उपचार पद्धति पनि निकै सहज हुन्छ । यसलाई पूर्ण निको पार्न सकिन्छ । तर,क्रोनीक अवस्थामा पुग्यो भने पूर्ण निको पार्न सकिदैन् ।
उपचार प्रक्रिया
सल्यक्रिया : सल्यक्रिया गरि पाठेघर निकाल्ने ।
रेडियोथेरापी : क्यान्सर भएको कोषलाई मार्न विकिरणप्रयोग गर्ने ।
किमोथेरापी : औषधिको प्रयोगद्वारा क्यान्सर भएको कोषहरू नष्ट गर्ने ।
प्यालिएटिभ केयर : रोगीको दुखाई वा अन्य अप्ठयारो कम गर्ने विशेष उपचार विधि ।
भिडियो हेर्नुहोस्: