सन्तुलित खाना नै मधुमेहको औषधि



Download our app to get more features

गाँस, बास र कपास मानिसका आधारभूत आवश्यकता हुन् । यी तीन कुरा प्राप्तिका लागि मानिस बिहानदेखि साँझसम्मै भौतारिरहेको हुन्छ । जब मानिसलाई कुनै रोग लाग्छ सबै काम छाडेर ऊ अस्पताल पुग्छ । सामान्यतया धेरै रोगको उपचारमा औषधिलाई बढी र खानपानलाई कम प्राथमिकतामा राख्ने गरिन्छ । धेरैलाई लाग्न सक्छ खाना पेट भर्न र भोक टार्नको लागि मात्रै हो । तर, त्यो गलत सोचाई हो । औषधिका पिता Hippocrates ले ‘खाना’ ले पनि औषधिको काम गर्ने बताएका छन् । हामीले दैनिक रुपमा खाने हरेक खानाले शरीरमा भिन्न भिन्न काम गरिरहेको हुन्छ । त्यसैले खानालाई भोक टार्ने र पेट भर्ने वस्तुको रुपमा मात्रै बुझ्नु हुँदैन । शरीरलाई तन्दुरुस्त राख्न सन्तुलित खाना (पाँच खाद्य समूहलाई) मिलाएर खानुपर्छ । खानामा अन्न समूह, दाल गेडगुडी समूह, फलफुल र तरकारी समूह, माछामासु, दुधदही समूह र तेल, घ्यू, समूहलाई जोड दिनुपर्छ ।  

मधुमेहका बिरामीले खाना र औषधिको व्यवस्थापन गर्नु निकै महत्वपूर्ण हुन्छ । मधुमेह भनेको प्याङ्गक्रियाज (आमाशय)को बेटा कोशिकाले इन्सुलिन उत्पादन कम गर्नु वा बेटा कोशिकाको नाश भएर इन्सुलिन उत्पादन नै गर्न नसक्नु हो । इन्सुलिनको मुख्य काम रगतमा भएको ग्लुकोज (जुन कार्बोहाइड्रेडयुक्त खानाबाट पाचन भई ग्लुकोजको रुपमा रगतमा रहेको हुन्छ) लाई शरीरमा शक्तिको रुपमा उपयोग गराउनु हो । यदि इन्सुलिनको उत्पादन कम भयो वा इन्सुलिन क्रियाशिल भई काम गरेन भने शरीरले ग्लुकोज पाउँदैन र शरीरका विभिन्न कार्यमा असर पार्छ । हामीले रगत जाँच गर्दा रगतमा ग्लुकोजको मात्रा हुनुपर्ने भन्दा बढी पाउँछौ । मधुमेहका बिरामीले खानामा किन पनि विशेष जोड दिनु पर्छ भने खानाबाट गएको कार्बोहाइड्रेडयुक्त तत्व ग्लुकोजको रुपमा परिणत भई रगतमा जम्मा हुने गर्छ । इन्सुलिनको उत्पादन अनुसार कार्बोहाइड्रेडयुक्त खानाको मात्रामा कमी गराइ रगतमा चिनीको मात्रा ठीक राख्नुपर्ने हुन्छ । खानाको साथसाथै व्यायाम, औषधि र इन्सुलिनलाई मधुमेहको नियन्त्रण गर्न साथसाथै लैजानु पर्ने हुन्छ । 

खानाको मात्रा नमिले ग्लुकोज अनियन्त्रित
मधुमेहका बिरामीले खाना र औषधि वा इन्सुलिनको मात्रा नमिलाए रगतमा भएको ग्लुकोजको मात्रा नियन्त्रण गर्न सक्दैन । खानाको मात्रा, समय र खाने औषधि वा इन्सुलिनसँग नमिले जुनसुकै बेला रगतमा ग्लुकोजको मात्रा घटबढ हुने गर्छ । खाना खाँदा मानिसको उचाई, तौल, काम, व्यायाम, खाने औषधि वा इन्सुलिन के छ त्यसलाई आधार मानेर मिलाउनु पर्छ । दिनभरीमा कति क्यालोरी शक्ति आवश्यक हुन्छ, आवश्यक क्यालोरी पाइने खाना के के हुन् र कसरी खानाको मात्रा मिलाउने भन्ने बारेमा डाइटिसियनसँग परामर्श लिनु राम्रो हुन्छ । आफंै मिलाएर खाँदा कुन कुन समय र कुन खाद्य समूहबाट कति खाने भन्ने जानकारी नभए खानामा कार्बोहाइड्रेडको मात्रा बढी हुनसक्छ । जसले रगतमा ग्लुकोजको मात्रा बढ्न सक्छ । मधुमेहका बिरामीले खानाको व्यवस्थापनको लागि निम्न कुरामा ध्यान दिनु पर्छ ।

१.कार्बोहाइड्रेडको मात्रामा कमी : कार्बोहाइड्रेडको मुख्य स्रोत चिनी वा चिनीजन्य पदार्थ र अन्न समूह हो । खानाको थालबाट कार्वोहाइड्रेड कम गर्न अन्नलाई घटाउने र सागपात, तरकारीको मात्रा बढाउनु पर्छ । सय ग्राम अन्न खाँदा ७०– ८० ग्राम कार्बोहाइड्रेड पाइन्छ भने सय ग्राम सागपात र अन्य तरकारी खाँदा ५–१० ग्राम मात्रै कार्बोहाइड्रेड पाइन्छ । यस्तै सय ग्राम गेडागुडी खाँदा ५०–६० ग्राम कार्बोहाइड्रेड पाइन्छ । 

२. प्रोटिनको मात्रा वृद्वि : खानामा कार्बोहाइड्रेडको मात्रा घटाउँदा शरीरमा आवश्यक शक्ति पूर्तिको लागि प्रोटिनजन्य स्रोतको छनोट गर्नुपर्छ । प्रोटिनको स्रोतमा दाल, गेडागुडी, माछामासु, अण्डा, दुध र दुधजन्य पदार्थ पर्छन् । दाल, गेडागुडी धेरै मात्रामा खाँदा कार्बोहाइड्रेडको मात्रा धेरै हुन्छ भने माछामासु, अण्डा, दुध  र दुधजन्य पदार्थमा चिल्लोको मात्रा बढी हुनसक्छ । त्यसकारण सन्तुलन मिलाएर कम चिल्लोयुक्त माछामासु, अण्डा, दुधजन्य परिकार प्रयोग गर्नु पर्छ । 

३. चिल्लोको मात्रामा कमी : अधिकांशको घरमा तारेको तरकारीलाई मिठो मान्ने चलन छ । तर तारेका खानेकुराले शरीरमा चिल्लोको मात्रा बढ्उँछ । यसकारण तरेको खाना खानु भन्दा थोरै तेल राखेर बफाएर खाना खानु उत्तम हुन्छ । तर कसैले चिल्लोले राम्रो गर्दैन भनेर उसिनेर पनि खाने गरेका छन् । मानव शरीरलाई दैनिक २०–२५ ग्राम (४–५ चिया चम्चा) तेल आवश्यक पनि पर्छ । यसकारण तेल नै नभएको खाना पनि स्वस्थकर मानिदैँन । बाँकी चिल्लो माछामासु, अण्डा, दुध र दहीबाट पनि प्राप्त हुन्छ ।
कतिपयले काजु, पेस्ता, ओखर र बदामको चिल्लो राम्रो भनेर दैनिक ५०–१०० ग्रामसम्म पनि खाने गरेका हुन्छन् । लगभग १० ग्राम काजु, पेस्ता, ओखर र बदाममा एक चिया चम्चा बराबर वा पाँच ग्राम चिल्लो पाइन्छ । यसकारण यस्ता खानेकुरा खाँदा तरकारीमा प्रयोग गर्ने चिल्लोको मात्रा कम गर्नु पर्छ । 

४. रेशायुक्त खानेकुराको मात्रा बढाउनु पर्छ : मधुमेहका बिरामीले रेशा भएका खानेकुरालाई दैनिक खानामा समावेश गर्न सके रगतमा चिनी र चिल्लोको मात्रा नियन्त्रण गर्न सजिलो हुन्छ । दैनिक खाने खानेकुरामा बोक्रासहितको अन्न, दाल, गेडागुडी, फलफुल र हरिया तरकारी र सागपात प्रयोग गर्न सके शरीरलाई चाहिने रेशाको मात्रा पूर्ति हुन्छ । 

५. खानामा फेरबदल गर्न जान्नु पर्छ : मधुमेहका बिरामीले यो खानु हँुदैन वा त्यो खानु हुँदैन भन्दा पनि कुन खानेकुरा खाँदा कुन खानेकुरा घटाउनु पर्छ भन्ने जान्नु पर्छ । उदाहरणको लागि आलु, तरुल, पिडालु खानु हुँदैन भनेरसँगै पकाएको अन्य तरकारी समेत नखाने गरेको पाईन्छ । तर त्यस्तो होइन, ७०–८० ग्राम आलुमा पाईने कार्बोहाइड्रेड र २५ ग्राम चामलमा पाईने कार्बोहाइड्रेड लगभग बराबर हुन्छ । त्यसकारण खानामा भातको मात्रा घटाएर आलु प्रयोग गर्न सकिन्छ । त्यस्तै १४० ग्राम स्याउमा पाईने कार्बोहाइड्रेड र ७० ग्राम केरामा पाईने कार्बोहाइड्रेड लगभग बराबर हुन्छ । कहिलेकाही फेरबदल गरेर खान सकिन्छ । 

६. खानाको समयमा निश्चितता : मधुमेहका बिरामीले खाना खाने, औषधि वा इन्सुलिन लिने समय तालिका एउटै बनाउनुपर्छ । आफुलाई मिल्ने समयमा खाना खाने नभई औषधि वा इन्सुलिनको समयलाई एउटा निश्चित समय बनाएर दिनहुँ खाना खानुपर्छ । 

७. खानाको मात्रामा विचार : मधुमेहका बिरामीले मुख्य खाना र खाजाको समय छुट्टाएर आफ्नो उचाई, तौल, काम र औषधि अनुसार खानाको मात्रा मिलाएर खाना खानुपर्छ । पाएको बेला धेरै खाने र नपाएको बेलामा भोकै बस्नु हुँदैन । डाक्टरले दिइको औषधि र डाइटिसियनले दिएको खाना तालिका अनुसार खाना खान सके मधुमेह नियन्त्रण गर्न सजिलो हुन्छ ।  

८. खाना सम्बन्धी भ्रम निराकरण : मधुमेह रोगीले सेतो खाना, जमीन मुनी फलेका कन्दमुल खान नहुने तर सुगर फ्रि चामल, बिस्कुट जति पनि खान हुने भ्रम छन् । ती भनाई गलत हुन । सय ग्राम चामलमा कार्बोहाइड्रेडको मात्रा ७८ ग्राम हुन्छ, सय ग्राम आलुमा कार्बोहाइड्रेडको मात्रा २२ ग्राम हुन्छ, सय ग्राम दुधमा कार्बोहाइड्रेडको मात्रा ४–६ ग्राम मात्रै हुन्छ । यस्तै सय ग्राम मुलामा कार्बोहाइड्रेड चार ग्राम हुन्छ भने सय ग्राम गाजरमा कार्बोहाइड्रेडको मात्रा १० ग्राम हुन्छ । त्यसकारण सेतो खानेकुरा र जमिनमुनी फलेका कन्दमुलहरु खान हुन्न भन्दा पनि कति कसरी खाने भनेर जान्नु पर्छ । त्यस्तै सुगर फ्रि भनिने चामल र बिस्कुटमा पनि सामान्य चामल र गहँुमा जति नै कार्बोहाइड्रेड हुन्छ । 

९. खाना खाने तरिकामा परिवर्तन : मधुमेहका बिरामीले अन्य स्वस्थ मानिसले भन्दा खाना खाने तरिका परिवर्तन गर्नुपर्छ । थालमा अन्नको सट्टा तरकारी र तरकारीको सट्टा अन्न राख्नु पर्छ । गिलासमा खाना सँगै पानी खाने बानी गर्नु हँुदैन । साथै खाना खाने बित्तिकै सुत्नु हँुदैन ।

१०. खाना बनाउने बानीमा सुधार : खानामा चिल्लो कम गर्न तारेर खाना बनाउनुको सट्टा बफाउने, उसिन्ने, उमाल्ने, पोल्ने, सेकाउने गर्नुपर्छ । 

 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2017-11-27 17:07:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts