विश्व मधुमेह दिवस

महिलालाई मधुमेहबारे सचेत बनाउनु आवश्यक



Download our app to get more features

काठमाडौँ, २८ कात्तिक । मधुमेहका कारण प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने बताइन्छ । 

अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १ सय ९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । 

प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूह अन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणमध्ये नवौँ कारण रहेको चिकित्सकको भनाइ छ । 

तिलगंगा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा.रबा थापा मधुमेहले शरीरका अन्य अंगमा असर पारेजस्तै आँखामा पनि असर पार्ने बताउछन् । 

उनले डायवेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था रहेको र मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको बताउछिन् । 

उनले भनिन्, “आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्छ, मधुमेहले आँखाको पर्दाका रक्तकोशिकाहरुमा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्छ, जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।” 

संसारमा कूल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यही डायवेटिक रेटिनोपेथीको कारणले हुने, आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको उनको अनुभव छ । 

त्यसैले, सम्पूर्ण मधुमेहबाट ग्रसित महिलाले मधुमेहको उचित व्यवस्थापन र स्वास्थ्य स्थितिमा सुधारका लागि सस्तो, सर्वसुलभ तथा स्वास्थ्य शिक्षामा समान पहुँच हुनुपर्नेमा जोड दिइएको छ । 

यस वर्ष ‘महिला र मधुमेह : स्वस्थ भविष्य हाम्रो अधिकार’ भन्ने नाराका साथ आज विश्व मधुमेह दिवस मनाइँदैछ । 

मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिरामीको आँखामा असर पर्ने देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । 

मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसक्ने चिकित्सक बताउँछन् । 

नेपालमा अहिले नौ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान छ । विश्व स्वास्थ्य संघका अनुसार विश्वमा प्रत्येक १० सेकेण्डमा एकजना व्यक्ति मधुमेहको बिरामी बन्ने गरेका छन् भने एकजनाभन्दा बढीको मधुमेहजन्य रोगको समस्याकै कारण मृत्यु हुने गरेको छ । 

विश्व मधुमेह महासंघका अनुसार सन् २०१५ मा विश्वभरमा ५० लाख मानिसको मधुमेह रोगका कारण मृत्यु भएको थियो । 

मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई मानिसको जीवनशैलीमा आएको परिवर्तन, जस्तै गुलियोप्रेमी हुनु, बढी नुनिलो चिज मन पराउनु, चिल्लोयुक्त खानपान, अत्यधिक कार्बोहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपन बढेको र त्यसैले मधुमेहले महामारीको रूप लिँदै गएको बताउछन् । 

उनले नेपाललगायत दक्षिण एशियाली मुलुकमा खानपानले प्राथमिकता पाउने गरेको र अस्वथकर खानपानका कारण मधुमेहले ठूलो रुप लिन थालेको बताइन् । 

उनले भनिन्, “मधुमेहको भयावह स्थिति छ । हामी मधुमेह हुने विश्वका दुई ठूला देश चीन र भारतको बीचमा बस्छौँ । त्यसले पनि हामीलाई रोगबाट बच्न चुनौती थपिदिएको छ ।” 

नेपालमा खासगरी सबैभन्दा बढी असर मोटोपना भएका र शारीरिक व्यायाम कम गर्नेहरूमा मधुमेह देखिएको छ । 

यसले आँखा मात्र होइन पछि गएर मानिसका महत्वपूर्ण अंगलाई काम नलाग्ने बनाउन सक्छ, जस्तैः हृदयरोग, मस्तिष्काघात, अन्धोपना र पक्षघात गराउने या मिर्गौलाले काम गर्न नसक्ने र मुटुमा समस्या ल्याउन सक्ने प्रवल सम्भावना हुन्छ । त्यसकारण व्यक्तिगत कुरामा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । 

डा भट्टराईका अनुसार ‘स्वस्थ खानेकुरा खाने र चिनीगुण भएका खानेकुरालाई नियन्त्रण गर्ने, हामीले प्रोटिनयुक्त, रेसादार खानेकुरा आवश्यकताअनुसार मात्र खाने गर्दा पनि धेरै कम हुन्छ ।” दैनिक ३० मिनेट व्यायाम गर्दा वयस्कलाई तौल नियन्त्रण गर्न मद्दत गर्छ । 

सरकारले बालबच्चालाई प्रभाव पार्न बनाइएका बजारिया खानामा नियन्त्रण गरी मधुमेहको जोखिम नियन्त्रण गर्न कार्यक्रम ल्याउन पनि आवश्यक छ । अव्यवस्थित, खानेकुरामा लेबल नलगाइएका वस्तु बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ । 

मुख सुख्खा हुने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्ने, घाउ निको हुन समय लाग्ने, हातगोडा झम्झमाउने, निदाउने वा गल्नेजस्ता लक्षण देखिएमा तुरुन्त जाँच गराउनु आवश्यक छ । 

मधुमेह रोगको रोकथामबारे जनचेतना जगाउने उद्देश्यका साथ सन् १९९१ मा विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह महासंघले नोभेम्बर १४ तारिखलाई विश्व मधुमेह दिवसका रुपमा मनाउँदै आएको छ । 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts